Salime Malika Krishi Farm

Awareness Campaign

पाण्डवखानीमा ऐतिहासिक सती घाँटुको विधिवत् विसर्जन



लालु प्रसाद गैरे
३ मिनेट अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ जिल्लाको गलकोट नगरपालिका १० अन्तर्गत पर्ने पाण्डवखानीमा परम्परागत तथा ऐतिहासिक महत्व बोकेको सती घाँटुको विधिवत् विसर्जन सम्पन्न भएको छ। मगर समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको सती घाँटु हेर्न यस वर्ष पनि विभिन्न स्थानबाट दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ढुंगाले छाइएका मौलिक घर, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले परिचित पाण्डवखानीमा हरेक वर्ष वैशाखे पूर्णिमाको अवसरमा सती घाँटु विशेष रूपमा सञ्चालन गरिने गरिन्छ। नेपालकै कठिन तथा गुरुमुखी नृत्य-अनुष्ठानका रूपमा परिचित यो परम्परा स्थानीय समुदायको सांस्कृतिक गौरवको विषय बनेको छ।

स्थानीयका अनुसार वि.सं. १८५० सालदेखि सुरु भएको मानिने सती घाँटु तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवन कथामा आधारित गीतिनाटक हो। युद्धमा राजाको मृत्यु भएपछि रानीहरूले भोग्ने पीडा, समर्पण र त्यागलाई गीत तथा नृत्यमार्फत भावनात्मक शैलीमा प्रस्तुत गरिन्छ।

सिंचाई
Forest
Ad.

घाँटु नाचका युवा संयोजक गिरी प्रसाद थापाले माघ महिनाबाट ‘फुक्ने’ प्रक्रिया सुरु भए पनि मुख्य नृत्य वैशाख कृष्ण औँसीदेखि सञ्चालन हुने जानकारी दिनुभयो। जेठ महिनाको अन्तिम सातासम्म चल्ने यो परम्परा त्यसपछि पुनः अर्को वर्षसम्म स्थगित रहने चलन रहेको उहाँले बताउनुभयो।

नृत्यका क्रममा घाँटुसेरीहरू गीतको लयमा अचेत हुने, ढल्ने तथा पुनः गीत र मन्त्रमार्फत उठाइने दृश्यलाई स्थानीयहरूले धार्मिक आस्था र अदृश्य शक्तिसँग जोडेर हेर्ने गरेका छन्। ‘अइरा’ र ‘सती’ गरी विभिन्न खण्डमा प्रस्तुत गरिने घाँटुले दर्शकलाई भावुक बनाउने गर्दछ।

वडा अध्यक्ष भक्तबहादुर काउचाले स्थानीय तहले संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै सती घाँटुको निरन्तरताका लागि विशेष पहल गरिरहेको बताउनुभयो। आधुनिकताको प्रभाव बढ्दै गए पनि पाण्डवखानीले आफ्नो मौलिक संस्कृति संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गरिरहेको उहाँको भनाइ छ।

यस वर्ष मलमासका कारण केही तिथिमा परिवर्तन भए पनि सती घाँटुको मूल मर्म, श्रद्धा र सांस्कृतिक महत्व भने अक्षुण्ण रहेको स्थानीयहरूले बताएका छन्। विधिवत् विसर्जनसँगै यस वर्षको सती घाँटु कार्यक्रम सम्पन्न भएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो