जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदी तथा प्रतिवादीहरूलाई प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ। कोही महिनौँपछि समातिँदै छन्, कोही वर्ष दिनपछि प्रहरीको नियन्त्रणमा पुग्दै छन्।
हालै जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार झुम्का कारागारबाट फरार भएका गाँजा मुद्दाका प्रतिवादी मनोज परियार पक्राउ परेका छन्। प्रहरीले उनलाई खोजतलासका क्रममा बराहक्षेत्र नगरपालिका–२ चतराबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीको यो काम आफ्नो ठाउँमा छ। कानुनले खोजेका व्यक्तिलाई कानुनी प्रक्रियामा ल्याउनु राज्यको दायित्व हो।तर यहीँनेर एउटा अर्को प्रश्न पनि उठ्छ।
कारागारको पर्खाल नाघेर भागेका मानिसलाई खोज्न राज्यको संयन्त्र परिचालित हुन्छ। प्रहरी परिचालित हुन्छ। सूचना संकलन हुन्छ। खोजी अभियान चल्छ। अन्ततः कतै न कतैबाट उनीहरू पक्राउ पर्छन्।
तर आन्दोलन, आगजनी, तोडफोड, सार्वजनिक सम्पत्तिको क्षति र राजनीतिक नेतृत्वको जिम्मेवारीसँग जोडिएका प्रश्नहरूमा पनि राज्यको यही खोजी, यही सक्रियता र यही जवाफदेहिता देखिन्छ त?
कसैले जेलको ढोका नाघेर बाहिर निस्किएको छ भने उसलाई कानुनी प्रक्रियामा फर्काउनु पर्छ। तर भाग्ने मध्यका कसैले राजनीतिको ढोका समातेर नेतृत्वको कुर्सीतिर यात्रा गरिरहेको छ भने उसलाई पनि नागरिकका प्रश्नको जवाफ दिनुपर्दैन?
राजनीतिक नेतृत्वमा पुग्नु अपराध होइन। आन्दोलनमा सहभागी हुनु पनि आफैँमा अपराध होइन। तर सार्वजनिक जिम्मेवारी लिने व्यक्तिले आफ्नो विगतका काम, निर्णय र विवादबारे नागरिकलाई जवाफ दिनुपर्ने दायित्वबाट उन्मुक्ति पाउँदैन।
अचम्म त के छ भने, हाम्रो समाजमा कहिलेकाहीँ जेलको ढोका नाघेर भाग्ने मानिसलाई प्रहरीले खोज्छ, तर सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिलाई नागरिकले प्रश्न गर्दा उल्टै प्रश्नकर्तामाथि नै प्रश्न उठाइन्छ।
कानुनको नजरमा सबै बराबर हुनुपर्ने हो। तर नागरिकको मनमा प्रश्न छ— कानुनको बाटो सबैका लागि एउटै हो कि कसैका लागि कारागारको ढोका र कसैका लागि सत्ताको ढोका मात्रै खुला हुन्छ?
राज्यले फरार प्रतिवादी खोजोस्, पक्राउ गरोस् र अदालतमा उपस्थित गराओस्। त्यसमा कसैको विमति हुनुहुँदैन। तर राजनीतिक जिम्मेवारी, सार्वजनिक सम्पत्तिको क्षति र आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन पनि उत्तिकै आवश्यक छ।
अन्ततः देश चलाउने कुर्सीमा पुग्नु र देशका नागरिकप्रति जवाफदेही हुनु दुई फरक कुरा होइनन्।जेलबाट भागेको मानिसलाई खोज्ने प्रहरी र जनताका प्रश्नबाट भाग्ने नेतृत्वलाई प्रश्न गर्ने नागरिक— दुवै लोकतन्त्रका लागि आवश्यक छन्। किनकि लोकतन्त्रमा कुर्सी ठूलो होइन, जवाफदेहिता ठूलो हो।
……
चिन्तक : प्रेम सुनार
……
पोस्ट मिति : २५ कात्तिक २०८३, बुधबार
समय : ०९: ३५ बजे
…..
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका कैदी तथा प्रतिवादीहरूलाई प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ। कोही महिनौँपछि समातिँदै छन्, कोही वर्ष दिनपछि प्रहरीको नियन्त्रणमा पुग्दै छन्।


