Salime Malika Krishi Farm

Awareness Campaign

ओझेलका खबरको १८ वर्षे यात्रा: अभावका ती रातदेखि डिजिटल युगसम्म



प्रेम सुनार
२३ घण्टा अगाडि


Awareness

Place for ads

पत्रकारिताको ‘कखरा’ र काठमाडौँको अनुभव
मैले पत्रकारिताको कखरा काठमाडौँस्थित दलित सेवा संघबाट सिकेको हुँ, जहाँ विशेष गरी लेखन पत्रकारिताको आधार तयार भयो। २०५२ सालपछि रेडियो नेपालको ‘दलित जनजागरण’ कार्यक्रममा स्वर्गीय मिना स्वर्णकार र शारदा विश्वकर्मासँगै मेरा समाचारहरू पनि गुन्जिन थाले। पछि ‘श्रम साप्ताहिक’को डेस्कमा बसेर काम गर्ने अवसर मिल्यो। मेरो खोज पत्रकारिताको यात्रालाई डोर्‍याउने र प्रोत्साहित गर्ने मुख्य श्रेय प्रधानसम्पादक रमेश पण्डित ‘तुफान’ ज्यूलाई जान्छ, उहाँ नै मेरो पत्रकारिताको जग बसाल्ने गुरु हुनुहुन्छ।

गुल्मी फिर्ती र एउटा नयाँ मोड
२०६४ सालमा जब म गृहजिल्ला गुल्मी फर्किएँ, तब मेरो एउटा खोजमूलक सामग्रीले तत्कालीन कान्तिपुर दैनिकका गुल्मी संवाददाता (हाल उप-सम्पादक) घनश्याम गौतमको नजर तान्यो। उहाँसँगको सल्लाह र रेडियो रेसुङ्गाका समाचार प्रमुख भरत पाण्डेसँगको सामीप्यले मेरो पाइला गुल्मीमै रोकियो। काठमाडौँ फर्किने सोचमा रहेको मलाई स्रोताको अपार मायाले ‘तँ नजा, तेरो भविष्य यतै छ’ भन्यो। रेडियोमा मेरा रिपोर्टहरू घन्किन थालेपछि मेरो आवाजलाई सबैले मन पराइदिनुभयो। त्यही उत्साह र मायाको जगमा दोस्रो वर्षदेखि जन्मियो- ‘ओझेलका खबर’।

विगतका ती रेडियोका दिन
एउटा समय थियो, गाउँमा रेडियो नै सूचनाको मुख्य स्रोत थियो। अहिलेको जस्तो सामाजिक सञ्जाल थिएनन् र सबैको घरमा रेडियो पनि हुँदैनथ्यो। ‘ओझेलका खबर’ प्रसारण हुने साँझ कहाँ बसेर सुन्ने भन्ने निर्णय दिउँसै मेलापात र पँधेरामा हुन्थ्यो। फलानोको घरमा सुन्ने सल्लाह भएपछि साँझ दलानभरि गुन्द्री ओछ्याइन्थ्यो, कहिले त आँगनमै बसेर पनि सुनिन्थ्यो। त्यो सामूहिक सुनाइ र रेडियोप्रतिको त्यो अगाध स्नेह आज पनि मानसपटलमा ताजा छ।

सिंचाई
Forest
Ad.

न डरायौं, न विचलित भयौं
हामीले जब ‘ओझेलका खबर’ सुरु गर्यौं, समाजका थिचिएका र दबिएका आवाजलाई प्राथमिकता दियौं। अन्याय, अत्याचार र शोषणका विरुद्ध हामीले शब्दहरूलाई कहिल्यै कमजोर हुन दिएनौं। खोजमूलक पत्रकारिताको यो बाटोमा धेरै धम्कीहरू आए, तर हामी विचलित भएनौं। २०६४ सालदेखिको यो निरन्तर यात्रा आज पनि जारी छ। खुसीको कुरा, आजको मितिसम्म कसैको मानहानी गरेको वा असत्य कुरा उठाएको भनेर हामीले कानुनी झमेला बेहोर्नु परेको छैन। हाम्रा लागि आएका सामान्य गुनासाहरूले हामीलाई झन् जिम्मेवार बन्न सिकाएका छन्।

पाँच सयको डेरा र नोकियाको प्रविधि
सुरुवाती पाँच वर्षको त्यो कठिन संघर्ष सम्झिँदा आज पनि मुटु भारी हुन्छ। तम्घासमा पाँच सय रुपैयाँको डेरा, बिहान चाउचाउ खाए साँझ पनि त्यसैले टार्नुपर्ने बाध्यता। एकातिर सुट-बुटमा सजिएका, गाडी र ल्यापटप बोक्ने वरिष्ठ पत्रकारहरू हुनुहुन्थ्यो, अर्कोतिर मसँग एउटा सानो ‘नोकिया’ फोन थियो। अडियो रेकर्ड गर्न पाउनु नै हाम्रा लागि ठूलो प्रविधि जस्तो लाग्थ्यो। कति पटक त नेटवर्क नटिपेर घर अगाडिको रूखमा चढेर समाचार टिपाउने र टिप्ने काम गरियो।

रेडियो कार्यक्रमबाट ‘मिडिया हाउस’ सम्म
समय बदलियो, प्रविधि बदलियो। युट्युब र फेसबुकलाई मिडिया नै नठान्ने सोचबाट हामी पनि विस्तारै बाहिर आयौं। हिजो रेडियोको एउटा कार्यक्रमका रूपमा रहेको ‘ओझेलका खबर’ आज नेपाल सरकारको सूचना विभाग, प्रेस काउन्सिल र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई एउटा पूर्ण डिजिटल मिडिया बनेको छ। अहिले पूर्व-पश्चिमबाट फोन आउँछ, दर्शकहरू भन्नुहुन्छ, “ओझेलका खबरमा बेग्लै स्वाद छ।” यो मायाले हामीलाई अझै धारिलो र परिष्कृत बन्न प्रेरित गरेको छ।

Awareness by SKF

सहयात्रीहरूको निस्वार्थ साथ
श्रोत र साधनको अभाव अझै छ, तर थुप्रै साथीहरूले पारिश्रमिक भन्दा बढी माया दिएर यो संस्थालाई बचाउनुभएको छ। डिजिटल मिडियाको क्षेत्रमा शालिक खत्री भाइको योगदान अतुलनीय छ, जसले यसलाई डिजिटल युगमा पुर्‍याउनुभयो। कामको सिलसिलामा कहिलेकाहीँ कसैको मन दुखाएको भए म क्षमा चाहन्छु। भौतिक रूपमा हामी जहाँ भए पनि, काठमाडौँसम्म पुगेका सबै सहकर्मी साथीहरूलाई ‘ओझेलका खबर’ सँगै रहन आग्रह गर्दछु।

कार्यकारी सम्पादक सालिक खत्री

सम्झनामा साथीहरू
आज वैशाख २८ गते, ‘ओझेलका खबर’को विशेष दिन। २०६५ सालको यही दिन, ठ्याक्कै आजकै जस्तो सोमबार साँझ ८ बजे रेडियो रेसुङ्गाबाट यो यात्रा औपचारिक रूपमा सुरु भएको थियो। यस अवसरमा एम खत्री, अनिता खत्री, स्वर्गीय सूर्य पन्थी (२०७८ को स्वर्गद्वारी जिप दुर्घटनाका घाइते), रेडियो गुल्मीका महेश बोहोरा लगायत सबै सहकर्मी र शुभचिन्तकहरूमा शब्द-सम्मान व्यक्त गर्दछु। ओझेलका खबरलाई सन्जु काउछा जिको gulminews .Com गोकर्ण ज्ञवाली जिको ज्ञवा क्षेत्रले अनलाईन मार्फत संसारभर पुराउन ठूलो भुमिका खेलेको थियो उहाँहरु प्रति पनि कृतज्ञता जाहेर गर्दछु ।

यो यात्रा एक्लै सम्भव थिएन। विगतको जस्तै साथ र सहयोग आगामी दिनमा पनि प्रगाढ बनिरहोस्। आउनुहोस्, यो यात्रा सँगै जारी राखौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →