२९ माघ, बागलुङ । बागलुङमा आज भएको स्कुल भ्यान दुर्घटनामा घाइते भएका २६ जनामध्ये ५ जना गम्भीर घाइते विद्यार्थीहरूलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित ‘न्यू एभरेष्ट एकेडेमी’ स्कुलका विद्यार्थी बोकेको भ्यान मध्यपहाडी लोकमार्गदेखि रात्माटा जाँदै गर्दा बागलुङ नगरपालिका–३ स्थित ‘नेपाल भाषा मंका खल’ को भवन नजिकै दुर्घटना भएको थियो। ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना हुँदा उक्त सङ्ख्यामा विद्यार्थी घाइते भएका थिए।
बागलुङका जिल्ला प्रहरी प्रमुख एसपी तिलक भारतीले घाइतेमध्ये पाँच जनालाई पोखरा पठाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार सुरुमा घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचारका लागि पठाइएको थियो।
लोकमार्गबाट अन्दाजी ५० मिटर तल शिवधारचोक जाने सडकमा भ्यान खसेको थियो। घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







