गुल्मी, माघ २७: श्री हिमाल मावि, इस्मा गाउँपालिका-१ हस्तिचौर गुल्मीको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष समारोहको आज भव्यताका साथ समापन गरिएको छ।
समारोहको उद्घाटन प्रमुख अतिथि इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले विधिवत् रूपमा गर्नुभएको थियो।
यस अवसरमा २०७३ सालमा हिमाल माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवका सहयोगदाताहरूको शिलालेख अनावरण गरिएको छ। उक्त शिलालेखको अनावरण कार्यक्रमका प्रमुख अतिथि कुँवरले गर्नुभएको हो।
महोत्सवबाट एक करोड ५१ लाख संकलन भएको र त्यसबाट प्राविधिक शिक्षा सञ्चालन गरिएको शिलालेख निर्माण समितिका संयोजक बैकुण्ठ बहादुर कुँवरले जानकारी दिनुभयो। अनावरण लगत्तै सहभागीहरू बाजागाजाको तालमा नाचेर खुसीयाली मनाएका थिए।
समारोहलाई प्रमुख अतिथि कुँवर, विशेष अतिथिहरू क्रमशः इस्मा-१ का वडाध्यक्ष शेरबहादुर कुँवर, विभिन्न वडाका वडाध्यक्षहरू, रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा त्यस विद्यालयका अक्षयकोष दाता हरिबहादुर खत्री, पूर्व वि.व्य.स. अध्यक्ष द्रोणबहादुर खत्री, निवर्तमान प्रधानाध्यापक जगतबहादुर खत्री लगायतले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्यमार्फत मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै प्रसिद्ध उजुङ्ग नौमती बाजाले समेत कार्यक्रममा भव्य मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, शिक्षक, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
तीन दिनदेखि मनाइएको वार्षिकोत्सवका अवसरमा सञ्चालित पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने घरेलु टिम हिमाल मावि र द्वितीय हुने रामराज्य माविका खेलाडी, अन्य प्रतियोगिताका उत्कृष्ट प्रतियोगी तथा चन्दादाता, अक्षयकोष दाता र विभिन्न योगदान पुर्याउनुहुने महानुभावहरूलाई सम्मान गरिएको थियो।
त्यस्तै विभिन्न अक्षयकोष दाताले विद्यार्थी अक्षयकोष र जेहेन्दार छात्रवृत्ति वितरण गरेका थिए। सबैभन्दा ठूलो राशिको अक्षयकोष दाता हरिबहादुर खत्रीले स्वर्गीय पिता दुर्गाबहादुर खत्री र जीवित माता धनकुमारी खत्रीको स्मृतिमा दुई लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ।
समारोहमा विद्यालयका लेखापाल प्रेमबहादुर खत्रीले आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्षको यही माघ महिनासम्मको आयव्यय प्रस्तुत गर्नुभएको थियो भने प्रधानाध्यापक मनबहादुर खत्रीले प्रधानाध्यापकको प्रतिवेदन पेस गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुराबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राजेश पोख्रेलको स्वागत मन्तव्य र अर्का शिक्षक मणिराज दवाडीको सञ्चालन रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |











