गुल्मी: आज दिउँसो पाल्पाबाट मलामी बोकेको जिप गुल्मीको रिडी-खर्ज्याङ सडक खण्डमा दुर्घटना हुँदा ९ जना घाइते मध्ये एक जनाको मृत्यु भएको छ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, रिडी-खर्ज्याङ सडक खण्डको खोल्टेपानीमा पाल्पा जोगीथुमबाट रिडीघाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुले उपलब्ध गराएको विवरण अनुसार, दुर्घटनामा पाल्पाको रिब्दीकोट गाउँपालिका-१ निवासी २६ वर्षीय टीकाराम कुमालको मृत्यु भएको छ।
उनको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सारुले बताउनुभयो। अन्य घाइतेहरूमा पाल्पा जोगीथुमका ३० वर्षीय सुरज कुमाल, ३२ वर्षीय अर्जुन कुमाल, ४२ वर्षीय माधव कुमाल, ५५ वर्षीय याम बहादुर कुमाल, ५५ वर्षीय कृष्ण बहादुर कुमाल, ६१ वर्षीय धोज बहादुर कुमाल, ३३ वर्षीय सोम बहादुर कुमाल र ४५ वर्षीय खडक बहादुर कुमाल रहेका छन्।
उक्त जिप रुरु गाउँपालिका-१, सातमुरे निवासी ४१ वर्षीय माधव ज्ञवालीले चलाएको बताइएको छ। घाइतेहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ। गाडी सडकदेखि करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय रिडीका इन्चार्ज प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमाण्डमा ट्राफिक सहित ९ जनाको टोलीले उद्धार गरेको थियो।
गुल्मीमा तीन दिन यता लगातार सवारी दुर्घटना भइरहेका छन्। पहिलो दिन एक जना युवकको मृत्यु भएको थियो भने हिजो दोस्रो दिन ८ जना घाइते भएका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







