अर्घाखाँची: अर्घाखाँचीको प्रसिद्ध शक्तिपीठ सुपा देउराली मन्दिरको व्यवस्थापनमा देखिएको खिचातानी र अन्योलता चिर्न स्थानीय सरकारले कस्तो कदम चाल्दैछ? यसै विषयमा सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसीसँग पत्रकार अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंश :
विगत केही समय अगाडि देखि सुपा देउराली मन्दिरको विषयलाई लिएर अहिले निकै चर्चा र विवाद भइरहेको छ, खास कुरा के हो?
– सुपा देउराली हाम्रो आस्थाको केन्द्र हो । केही समयदेखि यसको गरिमामा आँच पु¥याउने गरी अनावश्यक प्रचार र टीका–टिप्पणी भइरहेका छन् । वि.सं. २०८१ फागुन १६ गते हामीले सर्वसम्मत रूपमा मन्दिर व्यवस्थापन समिति बनाएका थियौँ । तर, जिल्ला प्रशासनमा मुद्दा परेपछि २०८२ भदौ २० गते त्यो समिति भंग गरियो। अहिले मन्दिर समिति विहीन छ। यही मौका छोपेर सन्धिखर्क नगरपालिकाले जुन किसिमको ठाडो हस्तक्षेप र एकलौटी निर्णयहरू गरिरहेको छ, त्यसले विवाद निम्त्याएको हो।
नगरपालिकाले त मन्दिरको व्यवस्थापन सुधार गर्न खोजेको भनिरहेको छ नि, तपाईँ किन यसलाई हस्तक्षेप भन्नुहुन्छ?
– सुधारका नाममा सरोकारवालालाई निषेध गर्नु हस्तक्षेप हो । मन्दिर सन्धिखर्क–७ र शीतगंगा–२ को सिमानामा पर्छ । तर, नगरपालिकाले यी दुवै वडाका जनप्रतिनिधिलाई खबरै नगरी अन्तरक्रिया गर्ने र एकलौटी निर्णय लाद्ने काम गरिरहेको छ । म आफैँ काम विशेषले काठमाडौँ भएको बेला पारेर मंसिर २६ गते प्रशासनमा छलफल गरियो । मंसिर २९ गते मन्दिरका कर्मचारीलाई जुन किसिमको “टपरी” जस्तो धम्कीपूर्ण पत्र काटियो, त्यो अत्यन्तै आपत्तिजनक छ । यो ‘हुकुमी शैली’ ले धार्मिक संस्था चल्दैन।
मन्दिरको आर्थिक पारदर्शितामाथि सर्बसाधारण र सराेकारवालाले पनि प्रश्न उठेका छन्। भेटीको हिसाब–किताब पारदर्शी छैन भन्ने आरोप छ नि?
– यो सरासर गलत प्रचार हो । मन्दिरको भेटी व्यवस्थापनलाई पारदर्शी बनाउन हामीले २०८१ सालदेखि नै सीसीटीभी जडान गरेका छौँ । प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा रकम गनिन्छ र बैंकमा दाखिला गरिन्छ । सबै आम्दानी ‘लग बुक’ मा राखिएको छ । यदि कसैलाई शंका छ भने जिम्मेवार निकायले अध्ययन गरोस् । दोषी देखिए कारबाही भोग्न हामी तयार छौँ । तर, प्रमाणविहीन आरोप लगाएर मन्दिरको बदनाम गर्न पाइँदैन ।
तपाईँमाथि “राजनीति गरेको” र “कार्यकर्ता पाल्न खोजेको” भन्ने आरोप पनि छ नि?
म चुनौती दिन्छु— कार्यकर्ता पोसेको एउटा मात्र ठोस प्रमाण कसैले देखाओस्। हामीले मन्दिरको परम्परा, संस्कृति र रीतिरिवाज जोगाउन खोजेका हौँ । लामो समयदेखि मन्दिरमा निस्वार्थ योगदान दिएका व्यक्तिहरूलाई अहिले धम्की दिने र मानसिक दबाब दिने काम भइरहेको छ । मन्दिरमा भागबन्डा खोज्ने हामी होइनौँ, बरु नगरपालिकाले यसलाई कब्जा गर्न खोजिरहेको छ।
अबको निकास के त? समस्या कसरी समाधान हुन्छ?
पहिलो कुरा, नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, शासक बन्न खोज्नु हुँदैन। सन्धिखर्क र शीतगंगा दुवै नगरपालिका र सम्बन्धित वडाहरूबीच साझा समझदारी र समन्वय हुनुपर्छ। स्थानीयलाई भाड्ने र मन्दिरको परम्परामाथि प्रतिबन्ध लगाउने काम बन्द गरिनुपर्छ। हामी मन्दिरको विकास र संरक्षणका लागि जस्तोसुकै चुनौती सामना गर्न तयार छौँ। विधान विपरीतको हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य छैन।
अन्त्यमा, आम भक्तजन र स्थानीय बासिन्दालाई के भन्न चाहनुहुन्छ?
सुपा देउरालीको महिमालाई बचाई राख्नु हामी सबैको कर्तव्य हो । भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्नुस्। हामी धार्मिक स्थलको संरक्षण र आर्थिक पारदर्शिताका लागि सधैँ प्रतिबद्ध छौँ र यसको ऐतिहासिक पहिचानमा आघात पुग्न दिने छैनौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










