Salime Malika Krishi Farm

Awareness Campaign

आमाबाबुको रित्तो घर अनि विदेशिएका छोराछोरीको मौन पिडा!



गोविन्द कंडेल
२ महिना अगाडि


Awareness

Place for ads

हाम्रो नेपाली समाज समयक्रमसँगै आज एउटा गहिरो परिवर्तनको मोडमा उभिएको छ। झट्ट हेर्दा सबै सामान्य, सबै गाउँ, शहर उस्तैउस्तै तर भित्र कतै अदृश्य रूपमा धेरै कुरा फेरिइरहेका छन्। हिजोआज घर–आँगनका हाँसोका आवाजहरू कम हुँदै गएका छन्, रित्तिएका चौतारा, आगनमा लट्ठी टेक्दै उभिने बा, नजिकै कुँडोमा आगो बाल्दै मिठो मुस्कान दिने आमा यी सबै दृश्यहरू समयसँगै मौन कथामा परिणत हुँदै गएका छन्।

युवाहरू दिनरात नभनी विदेशिने लहर अझै रोकिएको छैन। हरेक घरमा एकजना विदेशमा छ भन्ने सुन्दा सामान्य लाग्छ, तर त्यसका पछाडि कति कथा, कति बिछोड, कति अधुरा पलहरू लुकेका हुन्छन् ! आमाबाबुको घर प्राय सुनसान देखिन्छ अनी बुढाबुढीका आँखामा छोराछोरी फर्कने आशा झल्किन्छ, तर आवाजले त्यही आशा लुकाएर “ठिकै छ, छोराछोरी व्यस्त छन्” मात्र भन्छन्।

विदेशमा रहेका छोराछोरीलाई पनि सजिलो पक्कै छैन। आफ्नो देश, आफ्नो परिवार, आफ्नो गाउँ–ठाउँ सम्झेर कुनबेला भक्कानो छुट्छ भन्न सकिँदैन तर “के छ, सबै ठिकै छ” भन्ने एउटा वाक्यले यहाँका प्राय नेपाली युवाहरू आफ्नो मनको ज्वारभाटा रोक्छन्।

सिंचाई
Forest
Ad.

वेरोजगारी, अवसरको अभाव, महँगी, र सुन्दर भविष्यको सपना यी सबै कारणले युवा पुस्तालाई घर छोड्न बाध्य बनाएको छ। सामाजिक सञ्जालका चम्किला तस्बिरहरूले त बाहिरको जीवन सजिलो देखाउँछन्, तर वास्तविकता चिसो कोठाले थिच्ने तातो यादहरूले भरिएको हुन्छ।

अर्कोतिर परिवारिक विखण्डन पनि बढ्दै छ। सानो कुरा झैँ देखिने समझदारी र सहमतिका अभावले परिवारभित्र दूरी बढेको छ। हिजो जहाँ परिवारले भात–दाल एउटै थालमा खाएर रमाइलो गर्थ्यो, आज त्यही परिवार स्क्रिनले जोडिएको त छ तर मन अझै जोडिन सकेको छैन।

नेपालबाट छुट्टिएर बसे पनि, नेपालीपन भने मनको सबैभन्दा सूक्ष्म ठाउँमा गाँसिएको छ। परदेशमा बसेको नेपालीले जब कुनै चिउरा, गुन्द्रुक,फापर, कोदोको फोटो देख्छ, गाउँको झन्डै बिर्सिसकेको माटो सम्झिन्छ। आमाले बोलाएको “बाबु, कहिले आउने?” भन्ने आवाज अनायासै मनभर घुमिरहन्छ। त्यही भावनाले विदेश बस्ने युवाको नेपालसँगको नाता गहिरो रहन्छ।

आजको समाजका यी समसामयिक विषयहरु विदेशिने लहर, परिवारिक दूरी, बेरोजगारी, आर्थिक असन्तुलन, सामाजिक सञ्जालको प्रभाव यी केवल तथ्य मात्र होइनन्, यो समयको मनोविज्ञान पनि हो। यी विषय बुझ्नु भनेको नेपाललाई बुझ्नु, आफ्नो परिवारको मन बुझ्नु, र आफुभित्रको नेपालीपनलाई सम्झिनु अनी बुझ्नु हो।

Awareness by SKF

कुनैदिन हामी सबै फेरि एउटै छातामुनि भेला हुन सकौंला तर अहिले भने यो दूरी, यो मौन पीडा, र यो ‘रित्तोपन’ नै हाम्रो साझा कथा बनेको छ।

१. अवसर कि बाध्यता?: आजभोली प्रायः सबै नेपाली परिवारसँग विदेशिने कथा जोडिएको छ। वैदेशिक रोजगारीले आर्थिक उन्नति र सीप दिन्छ, तर गाउँ सुनसान, खेत खाली र बुढाबुढी एक्लो बन्नुजस्ता असर पनि उस्तै गम्भीर छन्। धेरै युवा आफ्नै इच्छाभन्दा पनि परिस्थितिले धकेलेर विदेश जानुपरेको महसुस गर्छन्। यही प्रश्न अझै खुला छ, यो यात्रा अवसर थियो, कि बाध्यता?

२. शिक्षा वेरोजगार उत्पादन गर्ने कारखाना: नेपालमा शिक्षाले कागज धेरै दिन्छ, तर वास्तविक सीप कम। नयाँ कलेज त बढिरहेका छन्, तर रोजगार बजारले माग्ने सीप विद्यार्थीले पाउन सकिरहेका छैनन्। यो दूरी कम नहुँदासम्म विदेश जाने चाहना घट्ने छैन। शिक्षा सुधारको चर्चा धेरै छ, तर कामचाहिँ अझै सुरु भएको जस्तो देखिँदैन।

३. परिवारिक विखण्डन: परिवार एउटै छ तर देश–देशमा टुटिएकोजस्तो बन्दै गएको छ। विदेशमा बाबुआमा, नेपालमा बच्चा वा बुढाबुढी ! यो अब सामान्यजस्तै भइदिएको छ। आर्थिक लाभले धेरै कुरा सम्हाल्छ, तर सम्बन्धमा टाढापनले मनमा बनाउने चोट भने कमैले देख्छन्। यो मुद्दा जती बोल्न सजिलो छ महशुस गर्न भने त्यसको भन्दा धेरै गुणा जटिल छ।

४. सामाजिक सञ्जालको प्रभाव: अवसर र अव्यवस्था

Facebook, TikTok, YouTube जस्ता सामजिक सञ्जालहरुले नेपाली समाजलाई दिनदिनै बदलिरहेको छ। कसैको प्रतिभा विश्वसम्म पुग्छ, कसैको व्यापार चल्छ। तर अर्कोतिर फेक समाचार, हप्की–गाली, बदनाम गर्ने संस्कारले समाजलाई विभाजित पनि बनाइरहेको छ। सही प्रयोगले शक्ति दिन्छ, गलत प्रयोगले बिगार्छ, बिचको सन्तुलन भने अझै खोजिँदैछ।

५. आर्थिक दबाब र महंगी: सामान्य परिवारको संघर्ष

औसत नेपालीको आम्दानी स्थिर छ तर खर्च भने बढ्दै छ । कृषिमा गिरावट, उत्पादन कमजोर, आयातमा निर्भरता, यी सबैले आर्थिक संरचना कमजोर पारिरहेका छन्। यिनै कारणले धेरै युवाहरु देशभित्र भविष्य देख्दैनन, अनि उनीहरूको पाइलो विदेशतिर मोडिन्छ।

६. स्वास्थ्य र मानसिक समस्या: दीर्घरोगको वृद्धि, क्यान्सरको डर, मानसिक तनाव, यी सबै नेपाली समाजमा बढिरहेका समस्या हुन्। परिवारबाट टाढाको जीवन, आर्थिक दबाब, र सामाजिक अपेक्षाले धेरैलाई एक्लो बनाइरहेको छ। रोगभन्दा पनि समस्याबारे बोल्न नचाहने संस्कारले अवस्था अझै कठिन बनाएको छ।

७. परम्परा र आधुनिकताको भेट: नेपाल पुरानो परम्परा र नयाँ आधुनिक सोचको बीचमा उभिएको छ। पुराना मूल्यहरू अझै जरा गाडेर रहेका छन्, तर नयाँ पुस्ता परिवर्तनतिर तीव्र रूपमा बढिरहेको छ। विदेशी प्रभाव, आगन्तुक रीतिरिवाज र खुला सोचले संस्कृतिलाई पुनःरङ्गाइरहेका छन्। टक्कर होइन, सहअस्तित्व आवश्यक छ, न पुरानो छोड्न मिल्छ, न नयाँबाट टाढा बस्न।

बदलिँदो समाजमा हाम्रो भूमिका : नेपाली समाज आज परिवर्तनको नयाँ मोडमा उभिएको छ।

देखिने समस्याहरु मात्र होइनन् यी परिवर्तित समय संगै आएका गहिरा तरंग हुन्। हाम्रो परम्परा, बाँच्ने शैली,सोंच सबैमा परिवर्तनको स्पन्दन छ।

विदेशिएका युवाहरूको रित्तोपन, घर–परिवारको दूरी,

अनि देशमै बसिरहेका आमाबाबुको मौन पीडा, यी कथा दोहोरिन्छन्। तर यिनै कथाभित्र आशाको उज्यालो पनि छ ।

सीप लिएर फर्किने युवा, विदेशमा कमाइका कठिन अनुभव, देशभित्र फैलिंदै गएको सामाजिक चेतना,

र नयाँ पुस्ताको खुला सोच।

समाज बदलिँदै छ, यसलाई सही दिशामा लैजाने जिम्मेवारी हाम्रै काँधमा छ।

ससाना योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ किनकि परिवर्तन प्राय साना कदमहरुबाट नै सुरु हुन्छ।

– गोविन्द कँडेल 
मुसिकोट नगरपालिका-७, गुल्मी 
हाल: लिस्वन, पोर्चुगल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो