रेसुङ्गा (गुल्मी): गुल्मीको गुल्मीदरबार-२, जुभुङ्गका उमेश क्षेत्री दसैं बिदामा काठमाडौँबाट घर आउनुभएको थियो। उहाँले बर्सेनि दसैँतिहारमा छोराछोरीको पनि बिदा हुनेभएकाले घुम्ने र आफन्त भेट्ने गर्नुहुन्छ। लामो समयपछि रेसुङ्गा गर्जुरा घुम्न आउनुभएका क्षेत्रीलाई रेसुङ्गाको कालोपत्रे सडक, पर्यटकीय संरचनाको विकास देखेर निकै खुसी लाग्यो।
गाउँ छाडेर लामो समयदेखि काठमाडौँ बस्दै आउनुभएका क्षेत्रीले लगभग १० वर्षमा रेसुङ्गा घुम्ने समय मिलेको बताउनुभयो। रेसुङ्गा गर्जुरा पार्क, गौशाला, पोखरी, सानो रेसुङ्गा, सीताराम मन्दिर र यज्ञशाला रेसुङ्गाका गन्तव्य हुन्। सडक कालोपत्रे भएपछि तम्घासबाट केही समयमै रेसुङ्गा पुग्ने भएकाले धेरैले घुम्न, वनभोज खान तथा धार्मिक अनुरागीहरूले यज्ञशाला दर्शन गर्न आउने गरेका छन्।
मालिका गाउँपालिका-१ का सरोज थापाको परिवार पहिलो पटक रेसुङ्गा आएको छ । धेरै पटक साउने मेलामा रेसुङ्गा आउने चाहाना बनाए पनि वर्षाका कारण अनुकुल नहुँदा अहिले सबै परिवार घुम्न निस्किएको थापाले बताउनुभयो । उहाँले खुलेको आकाशका कारण रेसुङ्गा धार्मिकस्थलको दर्शनसहित उत्तरका मनमोहन हिमशृङखला देख्न पाएको बताउनुभयो।
पछिल्लो समय रेसुङ्गा क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाई बन्न थालेको छ । साउनभर रेसुङ्गामा साउने मेला लाग्छ । नयाँ वर्ष, दसैं तिहार र विभिन्न समयमा हुने यज्ञ तथा एकादशी बाहेक पनि बिदामा धेरैले रेसुङ्गा घुम्ने योजना बनाउने गरेका छन् । तम्घासबाट गाडी चढेपछि १५ मिनेटमा रेसुङ्गा गर्जुरा पार्कमा पुगिन्छ । अहिले गर्जुरा पार्क मनोरञ्जनका लागि उपयुक्त स्थान बनेको छ । खेल्ने, फोटा खिच्ने र बस्ने आनन्दको ठाउँ भएकाले रेसुङ्गा गर्जुरा पार्कमा धेरैले समय बिताउँछन् । रेसुङ्गा गर्जुरा पार्क रेसुङ्गा नगरपालिकाले सञ्चालन गरिरहेको छ ।
पार्कको काउन्टरमा कार्यरत नविन कुँवरका अनुसार दसैँ सुरु भएदेखी दैनिक १५० बढी रेसुङ्गा गर्जुरा पार्क पुग्ने गरेका छन् । गत नयाँ वर्षको एकै दिन एक हजार ७०० बढीले टिकट खरिद गरेका थिए। अहिले दसैको भोलिपल्ट १७ गते ४०० बढिले एकैदिन टिकट लिएको कुँवरले जानकारी दिनुभयो । गत बर्ष १० हजार विद्यार्थीसहित ३४ हजार व्यक्तिले रेसुङ्गा गर्जुरा क्षेत्रको भ्रमण गरेका थिए । पार्कमा बालबालिकालाई २५ रुपियाँ र ठुलालाई ५० रुपियाँ शुल्क लाग्ने गरेको छ ।
पार्क पाँच करोड ५९ लाख ५३ हजारको लागतमा धुलिखेल–अर्जुन–न्यू लिजा जेभीले निर्माण गरेको पार्क डेढ वर्षदेखि सञ्चालनमा रहेको छ । रेसुङ्गा गर्जुरा पार्क तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्क क्षेत्रभित्र भ्युटावर, पाँच वटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्लेजोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी छन् । त्यस्तै भीर पिङ्ग र दुरबिन लगायतका पर्यटकीय संरचनाको कारण निकै रमाइलो हुनेगरेको इस्मा गाउँपालिका–१ का महेन्द्र कुँवरले बताउनुभयो ।
रेसुङ्गा धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले आफैमा महत्त्वपूर्ण छ । पछिल्ला वर्षमा बनेका आधुनिक संरचनाले रेसुङ्गाको सौन्दर्यतामा झनै आर्कषण थपेको छ । गर्जुरा पार्क र कालोपत्रे सडकले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।
रेसुङ्गा क्षेत्रमा पर्यटक घुम्ने, खानपीन र बाससहित मनोरञ्जन गर्ने थुपै विकल्पहरू निर्माण भएका छन् । गर्जुरा पार्क, कालोपत्रे सडक, सानो रेसुङ्गामा निर्माण भएको आकर्षण मन्दिर, पोखरीदेखि यज्ञशाला हुँदै भ्युटावरसम्म निर्माण भएका आधुनिक र आकर्षक सिँढी निर्माण भएपछि रेसुङ्गा पुग्नेहरूको सङ्ख्या दोब्बर हुँदैगएको यज्ञशाला मन्दिरमा लामो समयदेखि पूजा गर्दै आउनुभएका पण्डित कृष्ण पन्थीले बताउनुभयो ।
त्यस्तै रेसुङ्गा नगरपालिकाले गर्जुरा क्षेत्रमा खनाल एन्फ्रा प्रालिले एक करोड २५ लाख रुपियाँको लागतमा जीपलाइन र स्काई साइक्लिङको काम सुरु गरेको छ । करोड २५ लाख रुपियाँको लागतमा निर्माण हुने जिपलाइन ४२५ र स्काई साइक्लिङ १८० मिटर लामो हुने नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो।
धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गालाई पर्यटकीय दृष्टिकोणले थप विकास गर्न जीपलाइन र स्काई साइक्लिङ निर्माणको काम अघि बढेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले गर्जुरा पार्क, रेसुङ्गामा निर्माण भएका संरचना, पक्की सडक तथा ‘जाउँ हिड रेसुङ्गा’ अभियानले पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढेको दाबी गर्नुभयो । रुरुक्षेत्र गाउँपालिकाले स्याङजाको कालीगण्डकी गाउँपालिकासँग साझेदारीमा रिडीको देवदक्तपार्कबाट स्याङजाको हनुमानबाटिका जोड्ने गरेर जिपलाइन निर्माणका लागि डिपिआर तयार गरिएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |












