गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकाका किसान पछिल्लो समय जंगली जनावरको आतंकसँग जुधिरहेका छन्। विशेषगरी बाँदर, बदेल, राते दुम्सीजस्ता जनावरले मकै बालीमा क्षति पुर्याउन थालेपछि किसानको दैनिकी खेतमै बित्न थालेको छ।
धुर्कोट–४, जैसिथोक रौताडीका कृषक पिताम्बर पोखरेल बिहान सबेरै उठेर खेततिर लाग्नुहुन्छ र रातिसम्म त्यहीँ हुनुहुन्छ। उहाँ भन्नुहुन्छ , “भर्खर आँकुरा हाल्दै गरेका मकै, पाक्नै लागेका घोगा—सबै बाँदरले लुट्छ। अब खेती गर्नु भनेको बाँदरसँग लडाइँ गर्नुजस्तै भएको छ।
सिङ्गो वडामा अहिले अधिकांश किसान मकै जोगाउने चिन्तामा छन् । खेतबारीमा झोलुङ्गे टाँसेर, काँचो सायरन बनाइ आवाज निकालेर, बाँसको किलाले धम्क्याएर मकै जोगाउने प्रयास गरिरहेका छन्। तर जनावरको बिगबिगी यति बढेको छ कि खेती जोगाउनै मुस्किल भएको छ।
धुर्कोट–४ का कृषक केशव पोखरेल पनि चिन्तित हुनुहुन्नहुन्छ । “अब त हामी खेती गर्नै सक्दैनौँ जस्तो छ। जुन बेला पनि बाँदर झुण्ड लिएर आउँछ। सरकारले बाँदर नियन्त्रणको नीति ल्यायो भने मात्रै केही सहज होला,” उहाँ भन्नुहुन्छ।
अर्का कृषक उदयनन्द पोखरेलका अनुसार, गाउँमा अहिले बृद्धबृद्धा र साना बालबालिकामात्र छन्। “स्यार्ने बेला खेतमा जानै गाह्रो छ, जनावरको डरले,” उहाँ भन्नु हुन्छ।
रेनबहादुर कुमाल भन्ने कृषक त खेतमै बस्न छाड्नुभएको छ। “बिहानदेखि बेलुकासम्म बाँदरले छोड्दैन, अब खेती गर्नै मन लाग्दैन,” उहाँको भनाइ छ।
धुर्कोट मात्रै होइन, गुल्मीका अन्य वडाहरू, साथै अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान, बागलुङलगायत पहाडी जिल्लाहरूमा पनि यस्तै अवस्था छ। कतिपय किसानहरूले बाँदर समाउने वा हप्काउने प्रयास गरे पनि कानुनी डरले अगाडि बढ्न सकेका छैनन्।
कृषकहरूको एउटै माग छ—सरकारले बाँदर नियन्त्रणका लागि स्पष्ट र व्यावहारिक नीति ल्याओस्। खेती गर्न तयार किसान छन्, तर बाली जोगाउने उपाय छैन। यदि अब पनि सम्बद्ध निकाय गम्भीर भएन भने हरियो मकैसँगै किसानको आशा पनि लुटिने खतरा बढ्दै गएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |