Place for ads

Awareness

रेडक्रसका पदाधिकारीबाटै कोभिड खोपको दुरुपयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पोखरा: कोरोना भाइरसबाट सबैभन्दा बढी जेष्ठ नागरिक प्रभावित छन्। यसो त, कोरोनाका कारण मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक नै छन्।

नेपाल सरकाले विभिन्न चरणमा गरी जेष्ठ नागरिकका लागि कोभिड खोप वितरण गरेको छ। सरकारले हालै मात्रै ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगायो। जेठ २७ गते पोखराका विभिन्न ४७ स्थानबाट खोप लगाइयो। पोखरा महानगरले महानगरभित्रका ६ हजार २९२ जना जेष्ठ नागरिकलाई खोप लगाएको जनाएको छ। तर, खोप पाउने भाग्यमानीहरु सबै जेष्ठ नागरिक भने होइनन्।

Get Vaccinated

खोप लगाउने क्रममा सामाजिक संस्था रेडक्रस देखि वडा पदाधिकारीसम्मले आफ्नो मान्छे हाले। यतिमात्र होइन, रेडक्रसका पदाधिकारीले त केही स्थानमा बखेडा नै गरेको पोखरा महानगर स्वास्थ्य महाशाखाका एक स्वास्थ्य अधिकारीले जानकारी दिए। उनले खोप लगाउँदा स्वास्थ्यकर्मी नै असुरक्षित समेत भएको जिकिर गरे। ‘खोप लगाउन गएका स्वास्थ्यकर्मीमाथि नै जाइलाग्न खोजे। रेडक्रसका केही पदाधिकारीले त बखेडा नै खडा गरे’, उनले भने,‘हामीले यो कुरा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीमा समेत जानकारी गराएका थियौँ। उहाँहरुले के गर्नु भयो थाहा भएन।’

यस्तै केही वडाले त वडामा आएको खोप भन्दै लक्षित वर्ग भन्दा बाहिरका विभिन्न व्यक्तिलाई खोप लगाएको उनले जानकारी दिए। पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले दिएको तथ्यांक अनुसार महानगरमा ३ हजार १४९ महिला तथा ३ हजार १४३ पुरुष गरी जम्मा ६ हजार २९२ जेष्ठ नागरिकले खोप लगाएका छन्। तर, उक्त तथ्यांकमा जेष्ठ नागरिकभन्दा बाहिरका व्यक्तिको समेत नाम रहेको स्रोतले बतायो। ‘सबै नागरिकले खोप लगाउन पाउनुपर्छ तर, सरकारले लक्षित समूह तोकेर खोप पठाएको हो। हामीले सुरक्षित साथ खोप लगाउन सकेनौं,’ ती स्वास्थ्यकर्मीले गुनासो पोखे। उनका अनुसार नेता तथा वडा पदाधिकारी एवं रेडक्रस पदाधिकारीका कारण वडा नं. २, ५, ६ र १७ मा निकै समस्या आयो।

‘लक्षित समूहलाई लगाइसकेपछि बाँकी रहेको खोप फिर्ता ल्याउन सकिएन। कतै खोप अपुग हुन पुगेको थियो तर बाँकी रहेको खोप हामीले ल्याउन सकेनौं,’ उनले भने। उनका अनुसार वडामा गएको खोप वडामै सक्नुपर्छ भन्ने भावनाले स्वास्थ्यकर्मीलाई नै असर पुग्ने गरी लगाउन बाध्य बनाइयो। ‘हामी सुरक्षित नभएको कुरा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गरायौँ, उहाँहरुले सुरक्षा व्यवस्था मिलाएपछि मात्र लगाउन थाल्यौँ’,उनले भने। नागरिकहरुले कोभिडको लागि खोप अत्यावश्यक रहेको कुरा बुझ्नु खुसीको कुरा रहेपनि जिम्मेवार व्यक्तिबाट नै नियम मिच्नु दुःखद् भएको उनको भनाइ थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले वडाहरुमा लक्षित समूहभन्दा बाहिर खोप गएको स्वीकारे। उनले जिल्लामा ८ हजार खोप वितरण भएपनि केहि व्यक्तिका कारण लक्षित समूह बाहेककाले समेत खोप लगाएको बताए। उनले रेडक्रसका व्यक्तिले धाँधली गरेको गुनासो मौखिम मात्रै भएको सुनाए। ‘रेडक्रस जस्तो सामाजिक संस्थाले पनि धाधँली गर्छ भन्ने होइन । केही व्यक्तिले गरेको हुनसक्छ यसको मौखिक जानकारी मात्र आएको हो त्यस्तो केही छैन,’ उनले भने।

Awareness by SKF

लक्षित भन्दा बाहिर कसैलाई लगाएका छैनौँ: वडाध्यक्ष

वडा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले लक्षित समूहभन्दा बाहिरका एकजनालाई पनि खोप नलगाएको दावी गरे। जिल्ला जनस्वास्थ्य तथा महानगर स्वास्थ्य महाशाखाले लक्षित समूहभन्दा बाहिर खोप गएको बताइरहँदा उनले भने त्यस्तो नभएको जिकिर गरिरहे। ‘हामीले लक्षित समूहभन्दा बाहिर एकजनालाई पनि खोप लगाएका छैनौँ’,उनले भने, हामीकहाँ रेडक्रसका जिल्ला अध्यक्षसहित धेरै पदाधिकारी थिए। सबैको रोहवरमै खोप लगाएका हौँ।

ढोरपाटन न्यूजबाट साभार

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया