गुल्मी: बुधबार छल्दिखोलामा ईस्मा गाउँपालिका-५ को अमरपुर र धुर्कोट गाउँपालिका-५ को वस्तु जोड्ने नवनिर्मित झोलुङ्गे पुल तर्दै घाँसको भारी बोक्दै आएका दुई महिलाहरूले अहिले सम्म नदेखेको विचित्र लामो पुल भएको बताए। ‘लामो पनि विचित्रको छ। तल खोला कहाँ हो कहाँ! कति डरलाग्दो अग्लो छ। सुरु-सुरुमा पुल तर्न डर लाग्थ्यो, अहिले त बानी पर्यो, काम नपर्दा पनि वारिपारि गरिरहन रहर लाग्छ।’, उनीहरु भन्दै थिए।
उनिहरुले पुल नबन्नु अघि सम्म पारी वस्तुतिरको खेतबारीबाट आउँदा झण्डै एक घण्टा समय लाग्ने र अहिले पाँच मिनेट मै वारपार गर्न सकिने सुनाए। पारी अर्थात धुर्कोट गाउँपालिका-५ को वस्तु गाउँ। वारी उक्त पुल निर्माण भए पछि दाउरा घाँस गर्न जातेआते गर्ने महिलाहरुलाई मात्रै होईन, विशेष गरि पारी इस्माबाट पारी वस्तुको हिमालय माविमा पढ्न आउने आउने विद्यार्थीहरुलाई झण्डै डेढ घन्टाको बाटो आधा छोट्टिएको छ।
त्यस्तै वस्तुमा रहेको पर्यटकीय स्थल विचित्र गुफाको यात्राका लागि निकै सहज बनेको छ। तम्घास सिमलटारी मदन भण्डारी राजमार्ग सङ्ग जोडिएको उक्त पुलको निर्माण भए पछि विचित्र गुफामा आन्तरिक पर्यटक बढ्ने, कृषक र विद्यार्थीहरु आवातजावतमा निकै सुविधा भएको भन्दै उक्त पुलको योजना पार्ने गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य गोकर्ण विष्ट प्रति वडाध्यक्ष केशवराज भण्डारीले आभार प्रकट गरे।
नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका विष्ट मन्त्री हुँदा त्यो सहित आफ्नो निर्वाचन क्षेत्रमा २७ वडा एक देखि अर्को डाडा जोड्ने निकै लामा झोलुङ्गे पुलका योजनाहरु पारेका थिए।
इस्मा-धुर्कोट जोड्ने उक्त पुल ३७० मिटर लामो रहेको छ। यो पुलको नेता विष्टले बुधबार एक समारोहका बीच उद्घाटन गरेका छ्न। पुलको उद्घाटन गर्दै विष्टले पहाडमा गाउँ-गाउँ पनि भुगोलका कारण टाढा हुने भएकाले झोलुङ्गे पुलमो महत्व अझै बढेको बताए।
क्षेत्र नं २ मा २०७४ सालमा २७ झोलुङ्गे पुलका योजना समावेश गरेकाले अधिकांश निर्माण सम्पन्न भएको भन्दै विष्टले सन्तोष व्यक्त गरे।
उनले सडक, खानेपानी, पुल, सिँचाई लगायतका पुर्वाधारमा थुप्रै बजेट विनियोजन गरेकाले क्रमिक रुपमा समृद्धिको यात्रा सुरु भएको बताए।
स्थानीय समाजसेवी बोमलाल भण्डारीका अनुसार मदन भण्डारी राजमार्गबाट ५ मिनेटमा पुल तरेपछि १० मिनेटमा बिचित्र गुफा पुग्न सकिने भएको छ। पुल नहुँदा खोला तर्ने बाध्यतामा रहेका स्थानीय र हिमालय मावि पुग्ने विद्यार्थीहरुलाई समेत राहत महसुस भएको भण्डारीले बताए।
लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेहरुको घुइँचो लाग्ने गरेकोले ति पुलहरुको दुवै मुखमा स-साना होटल पसल समेत चल्ने जनप्रतिनिधिहरु बताउछन्।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले तिनै तहका सरकारको समन्वयमा विकासका धेरै काम अगाडी बढिरहेको बताए। उनले विष्टको निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढि पर्यटक भित्रिने थलो विचित्र गुफा रहेको बताउदै बाह्य पर्यटकको समेत घुइँचो हुने विचित्र गुफामा झोलुङ्गे पुल बने पछि अझै सडकको आवश्यकता रहेको बताए। पोख्रेलका अनुसार सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत झोलुङ्गे पुल एक करोड ८४ लाखको लागतमा निलगिरी निर्माण सेवा प्रालिले निर्माण गरेको हो। पुलको ७९९ जना मान्छे अटाउने भारवहन क्षमता रहेको छ।
धुर्कोट गाउँपालिका-५, वस्तुको यो गुफा पत्ता लागेका तीन दशक बढि भए। तर, संरक्षण र उचित विकास समयमै हुन सकेन। शान्ति प्रक्रिया पछि गुफा संरक्षणका केहि काम भएका छन।
सदरमुकाम तम्घासबाट ४५ मिनेटमा विचित्र गुफा पुगिन्छ। मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडकखण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ। अझै पनि गुफाका पुग्ने सडक राम्रो बन्न सकेको छैन भने व्यवस्थित पार्किङ्ग स्थल छैन।
अहिलेसम्म गुफाको खास अनुसन्धान पनि भएको छैन। प्राकृतिक रुपमा बनेको धार्मिक कला आकृति सहितको गुफा नेपालकै ठुलो हुन सक्ने स्थानीयवासी दावी गर्छन। गुफाका धेरै विशेषता लुकेरै बसेका छन्। अहिलेसम्म दुई तलासम्म पुग्ने र अवलोकन गरिएका छन्। तर, अध्ययन गर्न सके गुफाका अरु तलाहरु पनि अझै आर्कषक हुन सक्ने धुर्कोट गाउँपालिका-५ का वडाध्यक्ष केशव भण्डारीले बताउनुभयो। गुफा भित्र फेला परेका संरचनाहरुलाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्गजाने बाटो, लगायतका नामाकरण गरेका छन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |