रेसुङ्गा: तीन दिनदेखि तम्घासका चोकहरुमा ‘यो सम्झिने मन छ, आँखा छोपी नरोउ भनि भन्नु पर्या छ, यतिचोखो यतिमिठो’ स्वर सम्राट नारायण गोपालका गीतहरु गुञ्जिरहेका छन्। प्रेमध्वज प्रधानको ‘पर लैजाउ फुलहरु छोपिदेउ तारा जुन’ लगायतका दर्जनौ गीतहरु दृष्टिविहीन युबिसी अर्थात ४२ वर्षीय उद्धव विश्वकर्माले दुरुस्त गाउनुहुन्छ। तर कसैले सुन्दैनन्, कसैले देख्दैनन्।
अहिले गुल्मी महोत्सव चलिरहेकाले खचाखच दर्शक छन् । दुर्गेश थापा हेलिकोप्टरमा गीत गाउन महोत्सवमा आए । यता सडकमा विश्वकर्माका दर्शक छैनन् । सुगम संगीतका गीतहरु गाउने विश्वकर्माले नारायण गोपाल, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, गोपाल योञ्जन, रामकृष्ण ढकाल र दिपक लिम्बुसहित दर्जनौ सर्जकका गीतहरु गाउनुहुन्छ । उहाँले भन्नुभयो, “दर्शक ठुला कलाकारको दौडमा छन् । म राम्रो गाउँदा पनि ठुलो बन्न सकिन् ।” जन्मजात पूर्ण दृष्टिविहीन विश्वकर्माको घर बटेश्वर गाउँपालिका–२ धनुषा हो ।
आफुले नेपाल नेत्रहिन संघ सुकेधारा काठमाडौँबाट पूर्ण छात्रवृतिमा पाँच वर्ष संगीत सिकेर स्वर परीक्षा पास गरेको विश्वकर्मा बताउनुहुन्छ । उहाँले सात वर्षदेखि सडक–सडकहरुमा गीतहरु गाउँदै आउनुभएको छ । सडक संगीतकै क्रममा देशका ४५ बढि जिल्लामा शहरहरुमा गीत गाउन पुगेको विश्वकर्माको दावी छ । उहाँले चित्र कार्कीको सङघर्ष र बोनी राईको सौगात एल्बममा स्वर दिनुभएको छ । त्यो बेला क्यासेटको जमना थियो । सोँचे अनुसारको बजार नपाएपछि अर्को गीत गाउने अवसर आएन ।
तत्कालिन समयमा ट्रयाक्क समेत नहुने भएकाले आफ्नै गीत गाउँदै हिँड्न नपाउँदा निकै पछुतो लागेको विश्वकर्मा बताउनुहुन्छ । उहाँले सहयोगी दाताहरु भेटिए त्यो गीतको पुनः रेकर्ड गर्ने चाहाना जिवित राखेको बताउनुभयो । उहाँले लगभग ६० गीतको स्वर र संगीत कठस्त पार्नु भएको छ । बिहान ९ बजे सडकमा निस्केपछि खाना खाने समय बाहेक साँझ अवेरसम्म गीत गाउनुहुन्छ । सवै गीतका शब्द संगीतमा दुरुस्त बग्नु सानो कुरा नभएको विश्वकर्मा बताउनुहुन्छ । दृष्टिविहीनलाई गीत गाउँदै हिडन् सहज छैन । सवैको हेर्ने दृष्टिकोण एकैनासको छैन ।
उहाँले सम्मान र हेला दुवै भोग्दै–भोग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै ठाउँमा सम्मानले तानातान पनि हुन्छ । कतै माग्नेको रुपमा हेर्ने र बास नदिएर फर्किएका कैयन दुःखहरु पनि छन् ।” सर्लाही छोडेपछि गाउँमा बास पाउन मुस्किल परेको विश्वकर्माले बताउनुभयो । पछिल्लो समय दृष्टिविहीन कलाकारहरु धेरै समुह बनेर हिड्न थालेपछी मोह हराउँदै गएको विश्कर्माले बताउनुभयो । “वनै खायो डढेलोले” गीत गाउँदा प्रभावित भएर एकै जनाले पाँच हजार रुपियाँसम्म दिएको विश्वकर्मा बताउनुहुन्छ ।
उहाँका अनुसार धेरै ठाउँमा भक्तराज र नारायण गोपालकै गीतहरु खोज्ने गर्छन् । उद्धवले आधुनिक गजल गीत गाउने मात्रै नभएर तवला, बाँसुरी, किबोर्ड, हार्माेनियम, मादल, गितार, कङो लगायत दर्जनौ बाद्यबादनका साधन बजाउनुहुन्छ ।
उद्धव जन्मजात दृष्टिविहीन हुनुहुन्छ । आमाले आफ्नो उपचारमा शरिरका गहनापात सकेपछि सम्भव नभएपछि दृष्टिबिहिननै भएर बाँच्न परेको विश्वकर्मा सुनाउनुहुन्छ । उहाँहरु दुई भाइ हो । परिवारका सात जनामा दिदि, दाई र भाईको विभिन्न कारणले मृत्यु भएको थियो । सानैमा बितेकाले वुबा मखन विश्वकर्मा पनि उद्धवको सम्झनामा हुनुहुन्न । आमा ७५ वर्षीया मिठी बिश्वकर्मा अझै घरमा हुनुहुन्छ ।
जीवन कमाउने र ज्यान पाल्नेमै सिमित भएको उद्धव बताउनुहुन्छ । घरमै बसेर अरुले दिएको खान नपरेपनि कैयन सपना मरेर गएको विश्वकर्मा बताउनुहुन्छ । आफुले काठमाडौँमै संस्था खोलेर अनाथ बालबालिकालाई पढाउने सपना देखेपनि विभिन्न परिस्थीतिले नसकिएको बताउनुभयो ।
गायनमा सानैबाट लगाब भए पनि विस्तारै बाध्यताले गीत संगीतमा धकेल्दै गएको विश्वकर्मा बताउनुहुन्छ । अहिलेका गीत सुन्न लायक नभएको उहाँको तर्क छ। क्षणिक रमाउने दर्शक र भाइरल मोहका कलाकारले गीत संगीतमा न्याय गर्न नसक्ने उद्धव बताउनुहुन्छ। -गोरखापत्र अनलाइन
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









