गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-४, कोटकोटेरी आगलागीले ध्वस्त भएको वैशाख ८ गते वर्षदिन पुग्यो, तर अग्नीपीडित सुन्दरलाल विकको घर आधा मात्रै बनेको छ ।
वर्षात सुरु भएकाले सुन्दरलालको मन पनि आधा भएको छ । किनकी वर्षदिनमा आधा बनेको घर पनि वर्षातले भत्कने जोखिम छ । गत वर्ष आगलागीले विकको किराना र फेन्सी पसलसहितको घरगोठ सबै जलेर नष्ट भयो । काम गरेर खाइरहेको मेसिन र पशुचौपाय समेत रहेनन् ।
नेता र सरकारको आश्वासनले वर्षात अगाडिनै राम्रो ओत पाउने आशा सुन्दरलालसहित अन्य अग्नीपीतिको थियो । निर्माण व्यावसायीले पैसाको कारण देखाउँदै आधा घर बनाएर छोडेका छन् ।
‘‘खुल्ला आशामुनि भएकाले ठुलो पानी परे भत्किने जोखिम बढ्यो,’’ विकले भन्नुभयो, ‘‘छिमेकीकोमा आए बसिरहेको घर पनि छोड्नुपर्ने बाध्यता छ ।’’ स्थानीय सरकारले दिने एक लाखबाट केहि काम पनि भएको छ, पछि केन्द्रीय र प्रदेशको बजेट आएन् । जसले पीडित परिवार झन् पीडामा परेका छन् ।
इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले पालिकाको तर्फबाट पाउने रकम सबै परिवारले पाए पनि संघ र प्रदेशको रकम माग गर्दै गाउँपालिकामा अग्नीपीडित आएको बताउनुभयो ।
धेरै पटक पालिकाको तर्फबाट जनप्रतिनिधिहरुले संघ र प्रदेशको समेत ध्यानाकर्षण गराए पनि रकम नआएको परियारले बताउनुभयो । एकैदिन आगलागी भएको इस्मा गाउँपालिकाकै वडा नं २ हस्तिचौरका अग्नीपीडितहरुको घर निर्माण भएका छन् । तर निर्माण व्यावसायीले घर निर्माण गरेर बुझाए पनि सरकारले पैसा नदिएकाले मानसिक तनाब खेप्न परेको अग्नीपीडित बताउँछन् । इस्मा गाउँपालिका–२ का अग्नीपीडितहरुका घरहरु पनि निर्माण गरिएको छ । तर किस्ता नआउँदा निर्माण व्यावसायी र पीडित परिवार चपेटामा छन् । आफुले घर निर्माण गरेको २०/२२ लाख रकम पाउनुपर्ने नआएपछि बाँकी परिवारको घरमा छाना राख्न नसकिएको निर्माण व्यावसायी केशव घर्तिले बताउनुभयो ।
स्थानीय सरकारले पहिलो किस्ताको रकम दिए पनि संघ र प्रदेशबाट रकम नआएपछि आफुहरु चल्ने अवस्थानै नरहेको घर्तिले बताउनुभयो । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिबाट पनि पटक–पटक ताकेता गर्ने र केन्द्र तथा प्रदेशमा ध्यानाकर्षण गराउँदा पनि रकम भुक्तानी नभएकाले आफुहरु पीडितको अगाडि अनुहार देखाउन सक्ने अवस्थामा नरहेको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले बताउनुभयो ।
इस्मा मात्रै २०८१ वैशाख ८ गतेको आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए । वैशाखमा इस्मासहित जिल्लाभर छ दर्जन बढि घरगोठ जलेका थिए । अग्नीपीडित परिवारले आवास निर्माणका लागि पाँच लाख पाउने व्यवस्था छ । त्यसमध्ये स्थानीय पालिकाले एक लाख र चार लाख प्रदेश तथा संघ सरकारले उपलब्ध गराउनुपर्ने हो । प्रदेशले केही रकम पठाएकाले संघ सरकारसँग साढे १२ करोड रकम माग गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनुभयो। –गोरखापत्र अनलाइन
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |