गुल्मी: विद्युत सर्ट भएर आगलागी हुँदा गोठसहित सात सय कुखुरा जलेर नष्ट भएपछि मालिका गाउँपालिका-६, अर्जेका कमल अर्याल विक्षिप्त हुनुहुन्छ। परदेश छोडेर गाउँमै व्यवसायीक बन्ने सपना उहाँको मध्ये रातमा लागेको आगलागीले तुहियो।
कमल घरगोठको काम सकेर मस्त निद्रामा हुनुहुन्थ्यो । एक्कासी गोठमा आगो दुन्कियो । उठेर सबैतिर हारगुहार नगर्नुभएको होइन । तर आँखै अगाडि उहाँको समृद्धिको आशा डुब्यो ।
गोठसहित सात सय कुखुरा, मकै, कोदोसहित दानाहरु जलेर नष्ट भयो । सुरुमा परिवारनै बस्ने गरेकाले गोठको माथि अरु आवश्यक सामग्री पनि राखिएको थियो । तर सबै जलेर सकिए ।
कमलले गाउँमा अर्थोपार्जनको आधार नदेखेपछि मलेसियामा छ वर्ष काम गर्नुभयो । परदेशको चाहाना पूरा भएपछि गाउँ फर्किएर कृषि कर्म गर्न थाल्नु भएको थियो । तरकारी, भैँसी, बाख्रासहित गाउँमै काम थाल्नुभएका कमलले यो वर्षनै सङ्ख्या बढाएर सात सय कुखुरा पाल्नुभयो । उहाँले अहिले स्थानीय र लेर्यस गरेर सात सय कुखुरा थिएँ, तर आगलागीले व्यवसायीक बन्ने पहिलो प्रयासमै ठक्कर लागेको बताउनुभयो ।
‘‘परदेश छोडेर गाउँमै केहि गरौं भन्ने थियो । मध्ये रातमा सपना जल्यो,’’ उहाँले भन्नुभयो, ‘‘अब कुनै उपाय रहेन् ।’’ गोठसहित अण्डा पार्ने लेयर्स कुखुरा, दाना र धान मकै जलेर नष्ट भएकाले १५ लाखभन्दा बढिको क्षति भएको पीडित कमलको दाबी छ । आगो राति स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |