प्युठान: प्युठानमा शनिबार मृत अवस्थामा फेला परेका दम्पतीको हत्या गरेको अभियोगमा प्रहरीले मृतकका भतिजा नाता पर्ने एक जना युवकलाई आईतबार पक्राउ गरेको छ।
शनिबार प्युठानको माण्डवी गाउँपालिका-२, रातामाटे स्थित घरमै मृत फेला परेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियारको भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीले हत्या गरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी दिपेश बस्यालले त्यस घटनाको सुरुमा सुचना दिने पंकज नेपालीले नै उनिहरुको घनले हानेर हत्या गरेको खुलेको र निजलाई पक्राउ गरिएको जानकारी दिए।
शुक्रबार राती करिब साढे १० बजेको समयमा मदिरा सेवन गरी ति दम्पत्तीको घरको माथिल्लो तलाको झ्यालबाट पसेर भुँई तलामा सुतेका उनिहरुलाई सोही घरमै रहेको घनले पालैपालो प्रहार गरेर हत्या गरेको निजले स्वीकार गरेको डिएसपी बस्यालले बताए।
अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल देखि दक्षिण करिब ५० मिटरदुरीमा हत्यामा प्रयोग भएको घन फेला पारेको थियो। सुरुमा सुचनाकर्ता पंकजले सोधपुछका क्रममा फरक फरक बयान दिएको डिएसपी बस्यालको भनाई छ।
शुक्रबार राती कतिबेला सुतेको भन्ने लगायतका सवालमा प्रश्न प्रतिप्रश्न गर्दै जाँदा फरक-फरक समय बताउने गरेको र आईतबार दिउँसो १२ बजे पछि पंकज माथि नै अनुसन्धानको सुई तेर्साइएको प्युठान प्रहरीले सञ्चार माध्यमलाई बताएको छ।
मृतक र हत्या अभियोगीको घर करिब ५० मिटर दुरीमा रहेको र प्रायः सधैँ गाली गर्ने गरेको, आफुलाई नराम्रो व्यक्ति ठान्ने गरेको रिसमा आफुले हत्या योजना बनाएर घरमा पसेको निजले बयान दिएको त्यहाँको प्रहरीले जनाएको छ। सुचना प्राप्त गर्न साथ डिएसपी बस्यालको नेतृत्वमा प्रहरी आईतबार घटनास्थलमा पुगेको थियो। आईतबार १२ बजे अघि सम्म विभिन्न कोणबाट अनुसन्धान भईरहेको डिएसपी बस्यालको भनाई थियो।
केहि व्यक्तिहरु निगरानीमा राख्दै अनुसन्धान गर्दै जाँदा घन भेटिएको थियो। मृतक रामबहादुर मिस्त्री काम गर्ने भएकोले घन घरमा राख्ने गर्दथे। पालैपालो घनले हिर्काएर हत्या गरे पछि उनले काकीको पटुकीमा रहेको २२० रुपैयाँ निकालेर राखेको त्यस मध्ये २०० खर्च गरेको र २० रुपैयाँ खल्तीमै रहेको बयान दिएको प्रहरीले जनाएको छ।
मृतक दम्पतीका चार छोराहरु भारतमा रहेको र छोरीहरुको विवाह भएकोले श्रीमान श्रीमती मात्रै घरमा बस्ने गरेको डिएसपी बस्यालले बताए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |