गुल्मी: आईतबार बिहान मोटरबाटो खन्ने क्रममा जेसिबी डोजरले ढुङ्गा पल्टाउदा इस्मा गाउँपालिकाका एक बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आईतवार बिहान करिब ९.२० बजेको समयमा इस्मा गाउँपालिका-२ को छल्दीबाट हस्तिचौर जाने भित्री मिटरबाटो खन्ने क्रममा माथिबाट जेसिबीले ढुङ्गा खसाल्दा सोही वडा छल्दीटारका ज्ञान बहादुर कुमालकी ८ बर्षिया छोरी विष्णु कुमालको ज्यान गएको हो।
स्कुल जान हिँडेकी बालिकाको माथिबाट खसेको ढुङ्गाले थिचेर गम्भिर घाईते भएपछि उपचारका लागि गुल्मी अस्पताल ल्याईएकोमा दिउँसो ११.२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको गुल्मी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार जेसिबी चालक मकवानपुरको ईन्द्रचौर गाउँपालिका-४, सिस्नेरीका ३६ बर्षिय राजेश रेग्मी हुन। उनि अहिले प्रहरी नियन्त्रणमा छन।
स्थानीयका अनुसार जेसिबी चालकको चरम लापरवाहीका कारण बालिकाको ज्यान जान पुगेको हो । माथि जेसिबी चलाई रहदा सावधानीको कुनै संकेत नगरिनु, तल बाटोमा मान्छे राखेर बटुवालाई रोक्न वा सावधानी अपनाउन नलगाईनु जस्ता लापरवाही भएको छ।
गम्भीर घाइते बालिकालाई तत्काल उपचार गर्न पठाउनुको साटो केहि बेर जेसिबी चालक भागेको स्थानियले बताए। गरिब कुमाल परिवार भनेर हेपिएको स्थानीयको भनाई छ।
उक्त सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनका प्रमुख हरिकुमार श्रेष्ठले भने लापरवाहीबाट भन्दा पनि दुर्घटना हुन पुगेको प्रतिक्रिया दिए। उनका अनुसार आज बिहान निकै अग्लो डाँडो कटान थियो। स्थानीयले बिहान करिब दुई घण्टा तल बाटोमा माटो ढुङ्गा खसाल्न अवरोध गरेका थिए। त्यस पछि डिल मै माटो राख्ने र त्यहाँबाट डोजरले अन्यत्रै ओसार्ने सहमति पछि जेसिबी चलाउन सुरु भएको थियो।
श्रेष्ठ भन्छन्, ‘डिलमा थुपारिएको त्यहि बाटाको बिचमा रहेको ढुङ्गा खस्दा बालिकाको ज्यान गएको मैले जानकारी पाएको छु।’
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |