बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको आज देखि जिल्ला अदालत रुपन्देहीमा थुनचेक बहस सुरु भएको छ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने चिठ्ठा परे पछि थुनछेक बहस सुरु भएको हो। बुधबार अदालत खुल्लेबित्तिकै रवि रूपन्देही अदालत हाजिर भएका थिए। लामिछाने विरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो।
लामिछानेको तर्फबाट बहस गर्न कानून व्यवसायी नारायणदत्त कंडेल भैरहवामा आइसकेको र रुपन्देहीमा रहेका कानून व्यवसायी गोविन्दप्रसाद मरासिनीलगायतले बहस गर्ने रास्वपा नेता गणेश पौडेलले जानकारी दिए।
उहाँका अनुसार बुधबार सरकारी बयान लिने र सरकारी वकिलले नै बहस गर्ने भएकाले धेरै कानून व्यवसायी नजुटाइएको हो । त्यसपछि रवि लामिछानेको तर्फबाट र सहकारी पीडितको तर्फबाट बहस हुनेछ। बहस सुनिसकेपछि न्यायाधीश योगीले नै थुनछेक आदेश दिनुहुने छ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीको तर्फबाट जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेल र जिल्ला सहन्यायधिवक्ता गोकर्ण घिमिरेले बहस गर्न हुनेछ भने रवि लामिछानेको तर्फबाट सुशिल पन्त, नारायण कंडेल, गोविन्द मरासिनी लगाएतले बहस गर्ने तयारी छ।
लामिछानेको बयान र बहस सकिएपछि त्यस लगत्तै थुनछेक बहस सुरु हुनेछ । हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ।
यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन्।
रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा हुनु भएको थियो। कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा थुनामुक्त भए पनि रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पनि रकम अपचलन गरेको विरुद्ध उजुरी परे पछि पुनः तानिएका हुन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |