गुल्मी: आज भन्दा १५ बर्ष अघिदेखि गुल्मी सहित पश्चिम नेपालका दर्जनौँ रेडियोहरुमा प्रसारण हुँदै आएको रेडियो कार्यक्रम ओझेलका खबर मिडिया प्रा.लि.का रुपमा कम्पनी रजिस्ट्रार कार्यालय र सूचना तथा प्रसारण विभागमा दर्ता भए लगत्तै त्यसको सबलीकरण र दिगोपनका लागि अन्तर्राष्ट्रिय सहयोग निकायले साथ दिने भएको छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग र द एसिया फाउन्डेसनको साझेदारीमा युएएसआईडीको पाल्पा विकास केन्द्र मार्फत ओझेलका खबर मिडिया प्रा.लि. को सबलीकरण र दिगोपनका लागि साथ दिने भएको हो।
युएसएआईडीको नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत पाल्पाको बोली डटकम र गुल्मीको ओझेलका खबर मिडिया प्रा.लि.को अनलाइन मिडियाको सबलीकरण र नागारिक सहकार्य कार्यक्रम/परियोजना सम्झौता भई शुक्रबार देखि पाल्पाको तानसेनमा यि दुई मिडियाका सञ्चालक, सम्पादक र स्टाफहरुलाई मिडिया म्यानेजमेन्ट सम्बन्धी कार्यशाला तालिम सुरु भएको छ।
यो कार्यक्रम मुख्यगरी पाल्पा र गुल्मीको अनलाईन मिडिया दिगोपन बनाउन आवश्यक ज्ञान, सिप र प्रविधिमा सहयोग गर्ने र समाजमा पछाडी परेका महिला युवा र सिमान्तकृत समुदायका मुख्य समस्यालाई मिडिया मार्फत जन समक्षलाई नीति निर्माता मार्फत सम्बोधन गराउन सहयोग पुर्याउन केन्द्रीत रहने यस परियोजना सञ्चालन गर्ने संस्था पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण गहतराजले जानकारी दिए।
यस परियोजनाको उद्देश्य बारे परियोजना संयोजक कृष्ण प्रसाद पोख्रेलले भने, ‘यि दुई मिडियालाई दिगोपना दिलाई महिला, युवा र विपन्न तथा सिमान्तकृत समुदायको पक्षमा आवाज उठाएर राज्यको ध्यानाकृष्ट गर्न सकियोस भन्ने मुख्य उद्देश्य हो।
३ दिन सम्म चल्ने तालिमको मुख्य प्रशिक्षकद्वय तिलक पाठक र मिनाक्षी न्यौपाने रहेका छन्। तालिमको सहजीकरण पाल्पा विकास केन्द्रका कोषाध्यक्ष वसन्ती ढकाल, केन्द्रकै मिडिया अफिसर कला दाहाल, कार्यक्रम संयोजक किरण कौशल लगायतले संयोजन गरिरहेका छन।
लगत्तै केहि दिन पछि यि दुई मिडियाका संचारकर्मीहरुलाई पत्रकारिता संबन्धी क्षमता विकास तालिम सञ्चालन हुनेछ। पहिलो चरणमा १४ महिने परियोजना अवधिमा मिडिया ओझेलका खबर र पाल्पा बोली खबर डटकमको सबलीकरण र दिगोपनका लागि विविध कार्यक्रमहरु सञ्चालन हुने पाल्पा जनविका केन्द्रका अध्यक्ष कृष्ण गहतराजले बताए। ओझेलका खबरलाई गुल्मी सहित पश्चिम नेपालका दर्शक तथा श्रोताले २०६५ साल देखि सुन्दै, हेर्दै मन पराउदै आएका छन। मिडिया प्रालि बने लगत्तै यसको प्रधान कार्यालय तम्घास मिलनचोकमा र शाखा कार्यालय मुसिकोट नगरपालिकामा छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |