गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिको भर्चुअल बैठक यहि भदौ १४ गते आसन्न चौथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेलाका सम्बन्धमा विभिन्न प्रस्तावहरु माथि बृहत छलफल गरी महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा प्रा. डा. जीवलाल सापकोटा, राम बहादुर केसी, हेमनाथ खराल, रामचन्द्र सापकोटा र बोधशाली गौतमको उपस्थिति रहेको थियो।
बैठकको पहिलो निर्णयका रुपमा वामी-विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिले हरेक द्वैवार्षिक रुपमा मुसिकोट नगरपालिकाको सदरमुकाम वामीमा सम्पन्न गर्दै आएको वामीमेला तथा नौमती साँस्कृतिक महोत्सवको चौथो संस्करण चौथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला-२०८१ प्रभावकारी रुपमा सम्पन्न गर्न यसपटक कार्यक्रमको आरम्भमा विद्वान गुरुद्वारा स्वस्ति वाचन र पहिलो चरणमा शंखवादन प्रतियोगिता राख्ने सहमति भएको छ। बैठकले सो प्रतियोगितामा प्रथम विजेतालाई रु.३,५००/-, द्वितीय विजेतालाई रु.२,५००/- र तृतीय विजेतालाई रु. १,५००/- नगद राशिले पुरस्कृत गर्ने निर्णय गरेको छ।
शंखध्वनी वादन प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य वामी-विश्व सम्पर्क मञ्च मुल समितिका सचिव रामचन्द्र सापकोटाले गर्नुहुने जानकारी पनि गराइएको थियो।
दोस्रो निर्णयका रुपमा नौमती बाजा वादन प्रतियोगिताको पुरस्कार राशि तय गरिएको छ। नौमती बाजा वादन प्रतियोगिता तर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः नगद रु. ५५,५५५/-, रु. ४४,४४४/- र रु. ३३,३३३/- प्रदान गरिने निर्णय गरिएको छ। साथै उत्कृष्ट सहनाई वादकलाई रु. ७,७७७/- नगद पुरस्कारले पुरष्कृत गर्ने निर्णय पनि गरियो।
बैठकमा नौमती बाजा वादन प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य वामी-विश्व सम्पर्क मञ्च, अमेरिका शाखाले वामी-विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष प्रा.डा. ईश्वरी प्रसाद मार्फत गर्ने जानकारी गराइएको थियो।
नौमती नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु. १०,१११/-, रु. ७,७७७/- र रु. ५,५५५/- नगद पुरस्कारले पुरष्कृत गर्ने निर्णय पनि गरिएको छ। यस प्रतियोगिताका नृत्यकार/नृत्यांगना सहभागी नौमती बाजा समूहले नै लिएर आउने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी मौलिक संस्कृति संरक्षण यस संस्थाको प्रमुख उद्देश्य भएकोले सो महोत्सवमा स्थानीय लोपोन्मुख मौलिक संस्कृतिका विभिन्न झाँकीहरुको सहभागिताका लागि प्रयास गर्ने निर्णय पनि बैठकले गरेको थियो।
बैठकको चौथो निर्णय महोत्सवको दोस्रो दिन स्थानीय नृत्यकार/नृत्याङ्गनाहरुको हौसलाको लागि रेकर्ड नृत्य प्रतियोगिताको आयोजना गर्ने रहेको छ। रेकर्ड नृत्य प्रतियोगिता तर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु. १०,१११/-, रु. ७,७७७/- र रु. ५,५५५/- प्रदान गरिने र गुल्मीका उत्कृष्ट महिला नौमती बाजा वादन समूहलाई निम्त्याएर प्रस्तुतिको अवसर प्रदान गर्ने र सम्मान गर्ने निर्णय पनि गरियो।
बैठकका अन्य निर्णयहरुमा संस्थालाई चुस्त दुरुस्त राख्न तथा पुनर्ताजगी गर्नका लागि कार्यसमितिमा रिक्त रहेका केही पदपुर्ति तथा केहि फेरबदल गर्नुपर्ने देखिएकोले पदाधिकारी तथा सदस्यहरु थप्नका लागि सांस्कृतिक आजीवन संरक्षकहरु र सांस्कृतिक छलफल समूहका महानुभावहरूलाई डाकेर यथाशिघ्र भर्चुअल माध्यमबाट अधिवेशन गर्ने निर्णय गरियो।
चौथो नौमती साँस्कृतिक महोत्सवका नौमती बाजा वादन तर्फका, नौमती बाजा नृत्य तर्फका, झाँकी तर्फका, तथा रेकर्ड नृत्य तर्फका विभिन्न पुरस्कार सौजन्यका लागि वामीका विभिन्न संघ संस्थाहरुलाई, वामी-विश्व सम्पर्क मञ्चका विभिन्न शाखाहरुलाई तथा तमाम वामेली सांस्कृतिक मनहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको संस्थाका महासचिव हेमनाथ खरालले बताउनुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |