सिरहा: सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन्।
विष्णुपुर गाउँपालिका-१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन्।
घटनापछि शिक्षक यादव फरार भएका छन्। घटना लगत्तै किशोरीले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन्। उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन्।
विद्यालय संचालक यादवका अनुसार आरोपित शिक्षक राति नै फरार भएका हुन्। उनले भने, ‘बालिका राति नै घर जान चाहेकी थिइन्, मैले राति नजाउ भनेर राखेँ। बिहान अभिभावक आएपछि उनीहरुकै जिम्मा लगाएको हो।’
स्कूलका सञ्चालक यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तको भनाइ छ।
बलात्कार आरोपित शिक्षक यादव सिरहा नगरपालिका-१७, पटेर्वाका हुन्। उनले विज्ञान विषय पढाउँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा थप बुझ्ने काम भइरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डले पीडित आएको र उनका अभिभावकहरु आउने क्रममा रहेकाले घटनाबारे सोधपुछ गर्ने कार्य भइरहेको बताउनुभयाे। रातोपाटीबाट यो खबर साभार गरिएको हो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |