गुल्मी: अरु सबैलाई दशै आएको छ तर गुल्मी तम्घासको एक सुकुम्बासी परिवारलाई भने दशै ‘दशा’ जस्तै बनेको छ। रेसुङ्गा नगरपालिका-८, चिदिचौरको एउटा झुपडीमा बस्ने सुमित्रा पाण्डेको परिवारलाई आर्थिक अभावका कारण दशैँ दशा जस्तै बनेको हो।
‘जिन्दगी जस्तोनि चल्छ, मंहङ्गो नि चल्छ सस्तोनि चल्छ’। यस्तै भाव मनमा आयो फूलपातीको दिन गुल्मीको सदरमुकाम तम्घास बजारमा किनमेलसँगै पाण्डे परिवारको झुपडीको कारुणीक दृश्य नियाल्दा।
किनमेल गर्ने मध्येका कोही भन्दै थिए सधै खाईरने चामलको भात दशैमा पनि के खाईरहने हो भनेर राम्रो चामल किन्न आको हो । कसैले हिजै ढालियो त कसैले भोली पाठो ढलाउने हो, भन्दै थिए । उनिहरुको त्यो महँगो दशै कुरा सुनेपछि जिल्ला प्रशासनको छतबाट सधै देखिने झुपडीको दशै कस्तो छ त भनेर बुझ्न मन लाग्यो त्यस तर्फ लागियो । जुन झुपडीको कथा धेरै पटक देखायौं, सुनायौं । तर देख्दीने सुन्दिने निकायले नसुनेपछि कसको के लाग्यो र?
झण्डै ४० वर्ष भयो रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ज्ञानेश्वर पाण्डे सुकुम्वासी भएर तम्घास बजारतिर मजदुरी गर्दै बसेको । सक्ने बेलासम्म डेरा गरेर बसे । अहिले बुढेसकालमा सार्वाजानिक जमिनमा अस्थाई टहरा बनाएर बसेका छन् । यस अवधिमा धेरै पटक चुनावहरु भए । आम मानिसहरुमा परिवर्तन पनि आयो तर त्यो व्रामहण परिवारलाई न परिर्वनले छोयो न त चुनावताका नेताहरुले दिएका आश्वासननै पूरा भयो ।
वृद्ध रामचन्द्र घाम ताप्न चौर तिर पुगेका थिए । छोरा रामचन्द्रको मानसिक अवस्था खासै ठिक नभएका कारण काम नगरी बरालिँदै हिड्छन । त्यो झुपडीमा विहान बेलुकाको चुलोभारा ६५ वर्षीया आमा सुमिज्ञा पाण्डेको हो । कसैकोमा कपडा धोई दिने भाँडा माझि दिने गरेर जीविका धानेकी पाण्डेको वास्तविक जीवनमा त केको दशैं आउनु र ? तर धर्म कर्म र दशैं पुजापाठले भने छोएको थियो । शिर निहुराएर भित्र पस्न मिल्ने सानो झुपडी । प्लाष्टिकको छाना, स–साना बाँसकोे टेको लगाएको झुपडीमा सानो खाल्डो पारेर अगेनो बनाईएको । त्यसैको डिलमा लिपपोत गरेर पुजापाठ गर्ने तयारी गर्दै थिइन् उनी । पानी थाप्ने प्लास्टिकका बोतल र सिल्टीका भाँडा वर्तनहरु यत्रतत्र छरिएका थिए । राखन धरान प्लाष्टिका झोलाहरु थिए । ‘नुनको पोको, अलिकति चामल, थोरै दाल र अलिकति चिनी छ बाबु, आज त एक जनाले अलिकती दुध पनि दिएका छन बाबु ।’ भनेर सुनाउँदै थिइन् उनी ।
उहनका श्रीमान थानेश्वर प्रहरीको जागिरमा थिए । तर कुलतमा पसेर जागिर गयो । घर आएपछि ऋण लाग्यो । २०४२ सालमा नै भाडगाउँबाट सुकुम्वासी भएर तम्घासतिर आएर बस्न थालेको त्यो परिवारलाई अहिलेसम्म कसैले केहि नगरेको तर चुनावमा भोट भने दिँदै आएको उनको गुनासो छ ।
हामी त्यहाँ पुग्दा खुशीले गदगद भइन् । किनकी हामीले कोरोना माहमारीको बेलामा बजारमा मानोचामल उठाएर उनलाई राशनको ब्यवस्था गरेका थियौं । अहिले दशैमा उनलाई आश लागेर होला निकै खुशी प्रकट गनरिन् । विहानै घरबाट हिँड्दा चिया पीउन बोकेको जति पैसा थियो, त्यो दिँदा उनले भगवान पुकार्दै आर्शिवाद दिइन् । उनको माईत घर मुसिकोट अमराई हो । उति बेला माईती खानदानी थिए । धुमधामसँग दशैं मनाएको स्मरण गर्छिन उनी ।
यो उमेरमा बिहानै बेलुका काममा खट्नु छ । अब झन जाडो आयो शरिरमा न्यानो कपडा छैन। पातलो कपडामा जाडोमा कठ्याङ्रग्रीँदै हिडेको देखिन्छ उनलाई । पोषिलो खान नभएर होला ज्यु दुब्लाएर पातलो छ । बिरामी भएर उनी थला पर्दा त्यो घरमा छाक बस्छ । चिदिचौर खेल मैदानको मञ्च तलको एउटा कोठा सुत्नलाई दिईएको छ । तर तीन जना भएका कारण अधिकांश समय आलोपालो बाहिर पेटीमा सुतेको देखिन्छ । त्यस्ता परिवारका लागि सरकार कहाँ छ ? भनेर आफैसँग प्रश्न गर्न मन लाग्छ।
*यो परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने पत्रकार प्रेम सुनारलाई मोबाइल नम्बर ९८५७०६१५३० मा सम्पर्क गरेर सहयोग गर्नुहोला। सहयोग दाताहरुको नाम आगामी रिपोर्टमा प्रसारण गर्नेछौँ। -सम्पादक
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |