टोपलाल अर्याल, गुल्मी: जिल्ला प्रहरी कार्यालय गुल्मीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदनका अनुसार एक सय ३२ जना महिला तथा बालबालिका हराएका छन्। त्यसमा ३६ जना बालिका र १० बालक छन्।
महिला ८५ र जेष्ठ नागरिक महिलाको संख्या एक रहेको छ। महिला ८५ जनामा ११ जना अझै फेला परेका छैनन्। खोजतलासको क्रममा हराएका सवै बालबालिका फेला परेर परिवारलाई बुझाएको प्रहरीले जनाएको छ।
हराउने बालकहरु बा-आमासंग झगडा गरेर शहरका होटल र निर्माण स्थलहरुमा जाने गरेको पाइएको छ भने बालिकाहरु समाजिक संजालको चिनजानको आधारमा प्रलोभनमा फसेर भाग्ने गरेका छन्। प्रहरी कार्यालयबाट उपलब्ध विवरणका आधारमा बालिकाहरु आफ्नै छिमेकी, जिल्लाकै विभिन्न स्थान र स्वदेश तथा भारतीय नागरिकको समेत जालमा पर्ने गरेको पाइएको छ।
घटना नं. १: पैसाको कारण जोगिए दुई बालिका
गुल्मीको मालिका गाउँपालिकाका १४ र १५ बर्षीया बालिका २१ साउनबाट सम्पर्क विहिन भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय गुल्मीमा हुलियासहितको उजुरी दिए। उनीहरुका तस्विर संजालभर भए। खोज्दा परिवार र प्रहरीले निकै सास्ती खेपे। ती मध्ये एउटीको गाउँकै १७ बर्षीय युवकसंग फेसबुक चिनजान थियो।
भेटघाट र बिहे गर्ने योजनाका साथ बालिका र युवकको तम्घासमा भेटघाट हुन्छ। उनीहरु बाहिर जाने मनशायमा पुग्छन्। तर, युवक र बालिकासंग साथमा पैसा हुँदैन। बजारकै एक होटलमा बास माग्न पुग्छन्, पैसा नभएका कारण चाउमिन र चाउचाउ खाएर बस्छन्। संजालभर आफुहरुको तस्विर भएको पत्तो पाएपछि युवक अर्जुनडाँडा पुगे। खोजतलासकै क्रममा युवक र बालिका २२ साउनको बेलुका १० बजे उपल्लो तम्घासमा फेला पर्छन्। २३ साउनमा प्रहरीले अभिभावक बोलाएर आवश्यक सम्झाइबुझाई गरेर बालिकालाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
घटना नं. २: घरबाट क्याम्पस हिडेर युवासंग टाप
रेसुंगा नगरपालिकाकी १७ बर्षीया बालिका १८ जेठमा रेसुंगा बहुमुखी क्याम्पस पढ्न घरबाट निस्कनछन्। तर, अबेरसम्म घर नफर्किएपछि बालिकाको दिदिले हुलियासहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिन्छ। उनको पनि एक युवकसंग फेसबुक चिनजान थियो । सोहि युवासंग तम्घासमा भेट भएर बुटवल हिँड्छन्। सोहि क्रममा प्रहरीले सिसिटिभी फुटेज र मोबाइल लोकेसनको आधारमा गौँडाकोटमा फेला पारेपछि परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले बताए।
घटना नं. ३: गाडी भाडा समेत पठाएर भारत झिकाउँदै
रेसुंगा नगरपालिकाकै १६ बर्षीया बालिकाको भारतमा रहेको एक युवकसंग फेसबुकमा चिनजान भएको हुन्छ। युवकले बालिकालाई ललाईफकाई भारत बोलाउन पैसा समेत पठाइदियो। बालिकाले पैसा निकालेपछि केहि नभनी २ साउनमा घर छोड्छिन्। परिवारले हुलियासहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा हुलियासहित उजुरी दिन्छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्रेष्ठका अनुसार बालिका भारत जाने क्रममा भारतीय नाकामा शान्ति पुर्नस्थापना गृहले बालिकालाई फेला पारेपछि प्रहरीले बालिकालाई परिवारको जिम्मा लगाएको छ।
घटना नं. ४: ५० वर्षिय भारतीयको जालमा १४ बर्षीया बालिका
चन्द्रकोट गाउँपालिकाकी १४ बर्षीया बालिका ३ बैशाखमा परिवारको सम्पर्क बाहिर रहिन्। परिवारले ५ बैशाखमा प्रहरीचौकी मजुवामा हुलियासहित उजुरी दिए। प्रहरीले खोज्दै जाँदा मजुवा बजारमा पाउरोटी उद्योगमा काम गर्ने ५० बर्षीया भारतीय नागरिकले बालिकालाई फकाईफुलाई भारत लैजाँदै गरेको खुल्यो। तत्काल कपिलवस्तुको तौलिहवाबाट बालिकाको उद्धार गरेर अभिभावको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
अवस्था विकराल बन्दै: एसपी प्रधान
जिल्लामा बालिकाहरु घर छोडेर हिड्ने समस्या विकराल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले बालिका हराएका निवेदनहरु धेरै आउन थालेकाले प्रत्येक पालिकाहरुमा सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए। अभिभावकले आफ्नो बालबालिकाको सधैँ निगरानी गर्ने र समाजिक संजालको प्रयोगका विषयमा पनि सचेत रहन आग्रह गरे।
सामाजिक सञ्जालको चिनजान र क्षणिक प्रलोभनका कारण घर छोड्ने बालिकाहरुको संख्या बढ्दै गएकाले ठुलो घटना हुने तर्फ सचेत रहन अभिभावहरुलाई अनुरोध गरे। ‘छोराछोरीको चालचलन ख्यान नगर्दा पछि पछुताउनुपर्छ। क्षणिकको बिहे, शहर, पैसा र भारत जाने प्रलोभनका कारण भाग्दा ज्यान जान सक्छ,’ उनले भने, ‘स्थानीय तहको समन्वयमा सचेतना जगाउनु आवश्यक छ।’
उनले होटलहरुमा आउने मान्छेको निगरानी बढाउन व्यावसायीहरुलाई आग्रह गरे। प्रधानले उपराधमा संलग्नहरु पनि होटलमा बास बस्ने र बालबालिकाहरु पनि आउने भएकाले पैसाको लोभभन्दा संभावित शंका र सूचनाहरु लिने प्रहरी वा परिवारलाई खबर गर्ने तथा व्यवसायी आफैले पनि बुझेर मात्रै बास बसाल्न आग्रह गरे।
सुरुमा चिनजान, पछि ब्ल्याकमेल
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत आर्थिक बर्षमा एक सय ३२ जना महिला तथा बालबालिका हराएका छन्। त्यसमा ३६ जना बालिका र १० बालक छन्। महिला ८५ र जेष्ठ नागरिक महिलाको संख्या एक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेयले प्रहरी, परिवार र आफन्तहरु मार्फत हराएका महिला तथा बालिकाहरु फेला पर्ने गरेको बताए।
कसैलाई भाग्दै गर्दा यात्राकै क्रममा फेला पार्ने र केहि होटल तथा बसपार्कहरुमा फेला पर्ने गरेको पाण्डेयले जानकारी दिए । उनले परिवारले फेला परेको सूचना प्रहरीमा नदिने, अन्तरजातीय बिहे भएको अवस्थामा पनि कसैलाई नभन्ने र केहिको मृत्यु पनि हुने भएकाले थोरै संख्यामा फेला नपर्नेहरु पनि रहेको बताए।
पाण्डेले स्वार्थ समुह वा व्यक्तीले संजाल मार्फत बालिका तथा महिलाहरुलाई साथी बनाउने, व्यालेन्स पठाउने, भेट्न लगाउने, अडियो/भिडियो मनोरञ्जन गराउने, गोप्य अंग देखाउन लगाउने र पछि सोहि अडियो वा भिडियो र चिनजानलाई ब्ल्याकमेल गरेर अपराध समेत हुने गरेकाले सवै सचेत रहनुपर्ने बताए।