सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ वामी र वडा नं ३ जोड्ने बडिगाड खोलामा पक्की पुल निर्माणको काम तेश्रो पटक पुन: सुरु भएको छ। निर्माणको क्रममा २/२ पटक भत्किएको उक्त पुल पुन: निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन्।
“पहिलो पटक पुल भत्किँदा त हामी सबै निराश भयौँ, दोश्रो पटक पनि भत्किएपछि पुरै आशा मरेको थियो अब त कहिले बन्दैन होला भन्ने मनमा लागेको थियो स्थानीय प्रेम शाक्यले भने-अहिले फेरी निर्माण सुरु हुन लाग्दा पुल बन्छकी भन्ने आशा जागेको छ।”
मुसिकोट नगरपालिका वडा नं ३ का दुर्गा खत्रीले दुई पटक नै पुल भत्किएको आफ्नै आँखाले देखे। पक्की पुल तरेर हिड्ने सपना २/२ पटक चक्नाचुर भएपनि यसपाली भने निर्माण सुरु भएपछि उनको त्यो सपना फेरी जागेको छ । अब त पुल बन्छकी भन्ने आशा जागेपनि कताकता फेरी पनि पुरानै अवस्था हुने होकी भन्ने उनको मनमा शकां उब्जन्छ।
मुसिकोट नगरपालिकाको वडा नं २, ३ र ४ का स्थानीय प्रत्यक्ष लाभान्वित हुने उक्त पुल निर्माणको क्रममा पहिलो पटक २०७६ साल बैशाख १ गते र दोश्रो पटक त्यसको १ वर्षपछि २०७७ साल वैशाख ३ गते निर्माणकै क्रममा भत्किएको थियो।
५५ मिटर लामो बडिगाढ खोलामाथि बन्दै गरेको उक्त पुल निर्माणका लागि जलप नेपाल कम्पनीले निर्माणको काम सुरु गरेको हो। स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण हुँदैछ।
दुई दुई पटक पनि निर्माणकै क्रममा पुल भत्किएपछि अहिले जलप निर्माण कम्पनीले पुल निर्माणको काम थालेको छ । यसपटक भने पहिलेको भन्दो केही डिजाईन परिवर्तन गरि पुल निर्माण गर्न लागिएको छ । यस पटक बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो।
निर्माण व्यवसायी मोतिलाल सापकोटाले असार मसान्तसम्म निर्माणको काम सम्पन्न हुने बताए। उनले स्वीस सरकारबाटै नक्सा स्वीकृत भएर आउनुपर्ने भएकाले केही ढिला भएपनि निर्माणको काम सुरु भएकाले अब असार मसान्तसम्म निर्माणको काम सकिने बताए। ट्रष्ट बडर प्रविधि मार्फत बन्दै गरेको पुल पुरानै फाउण्डेसनमा निर्माण हुनेछ।
पुरानो डिजाईन भन्दा केही नयाँ प्रविधिको डिजाईनबाट पुल निर्माण हुन लागेकाले यस पटक भने पहिले जस्तो भत्किने डर नरहेको सापकोटाको भनाई छ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले यसपटक पुल निर्माण हुने कुरामा आफु विस्वस्त रहेको बताए । मुसिकोट नगरपालिकाका लाखौँ नागरिकहरुको भविष्यसगं जोडिएको पुल निर्माणका क्रममा दुई पटक सम्म भत्किँदा आफुहरु पनि निराश भएको उनले बताए।
उक्त पुल निर्माण भएमा मुसिकोट नगरपालिकाका ३ र ४ वटा मात्रै नभएर नगरपालिकाका ९ वटै वडाका नागरिकलाई सदरमुकाम तम्घास पुग्न र छिमेकी बागलुङ जिल्लाका नागरिकलाई समेत सहज हुनेछ । मुसिकोट केन्द्र वामीदेखि सदरमुकाम पुग्न अहिले रहेको ३४ किलोमिटर यात्रा १० किलोमिटर घट्ने छ।
त्यस्तै वडा नम्बर १ देखि ४ सम्मका नागरिकलाई नगरपालिका केन्द्रसम्म आउन समेत सहज हुने वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले बताए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |