सागर भण्डारी, गुल्मी: बागलुङ पश्चिम क्षेत्रकै ऐतिहासिक विद्यालय भानु माध्यमिक विद्यालय बडिगाड गाउँपालिका-५, बागलुङले आफ्नो स्थापनाको ६० औँ बर्षगाँठको अवसरमा आयोजना गरेको हिरक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ।
महोत्सवको बिहिवार प्रमुख अतिथि बागलुङ क्षेत्र नं २ का सांसद एवम् पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । समापन समारोहलार्ई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् गण्डकी प्रदेश उपसभामुख बिना कुमारी थापाले विद्यालयको गुणस्तर अभिवृध्दिका लागि शिक्षक विध्यार्थी अभिभावक सबैको साथ महत्वपूणर् रहेको बताउनुभयो । उहाँले विध्यालयको स्तरवृद्दिका लागि आफु सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा हीरक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक केशव खरेलले स्थापना काल देखि हालसम्म विद्यालयलाई यो स्थानसम्म ल्याईपुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुहुने अगुवा एवम् महानुभावहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको ईतिहास र वर्तमानको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन बमोजिम विद्यालयमा हाल ६३२ जना विद्यार्थी र ३० जना शिक्षक तथा कर्मचारी रहेका छन् । उहाँले आर्थिक वर्ष २०७८/०७९ को प्रगती प्रतिवेदन सहित भावी योजना समेत प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक सांसद दिलमाया पौवी, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।
हीरक महोत्सवको अवसर पारेर विद्यालयले विभिन्न चन्दादाता, जग्गादाता, पूर्व विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरेको छ। विद्यालयमा प्राविधिक धार तर्फको अध्यापन सुरु गर्ने, विद्यालय बस सञ्चालन गर्ने र आवासीय विद्यालय सहित निशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन गर्ने उद्देश्य राखेर हीरक महोत्सवको अवसरमा विद्यालयले विभिन्न शैक्षिक एवम् सामाजिक व्यक्तिहरुसगं सहयोग सकंलन अभियान सञ्चालन गरेको थियो।
उक्त अभियान मार्फत सहयोग गर्ने चन्दादातालाई बाजागाजा, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न नृत्य तथा गीत समेत प्रस्तुत गरेका थिए भने विद्यालयमा लामो समयसम्म अध्यापन गराई हाल विभिन्न ठाउँमा रहनुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रम विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराई र वडाध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको सञ्चालनमा सम्पन्न भएको थियो।
विद्यालयले हीरक महोत्सवको अवसरमा आयोजना गरेका कार्यक्रमहरु यही माघ २२ गतेदेखि सुरु गरेको थियो । २२ गतेदेखि २४ गतेसम्म विद्यालयका आन्तरिक कार्यक्रम र २४ र २५ गते अन्तर विद्यालय स्तरीय कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यस्तै २६,२७ र २८ गते विद्यालयले औपचारिक कार्यक्रम गरेको थियो।
विद्यालयको वृहतर विकास र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा अहिलेसम्म विभिन्न व्यक्तिबाट झण्डै २ करोड २० लाख रुपैयाँ सहयोग सकंलन भएको छ । सहयोग सकंलन अभियान विद्यालयको हीरक स्मारिका प्रकाशन नहुञ्जेल जारी रहने भएकाले सम्पूर्ण महानुभावहरुलाई सहयोगका लागि विद्यालयले आग्रह समेत गरेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










