Awareness

गुल्मीका गणेशको संघर्ष र सफलताको कथा: २६ बर्षमै सेनाको क्याप्टेनदेखि सगरमाथा आरोहणसम्म

सफलताको कथा

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-४ का २६ बर्षीय गणेश कार्की नेपाली सेनामा प्रवेश गरेका सात बर्ष भए। कार्की ०७२ सालमा सहायक सेनानी पदबाट नेपाली सेवामा प्रवेश गरेका थिए। उनी अहिले नेपाली सेनाको सह सेनानी पदमा कार्यरत छन्।

मध्यम वर्गीय परिवारमा हुर्किएका कार्की सरल स्वभावका छन्। उनले बाल्यकालबाटै मेहनत गर्थे। अनुशानलाई सधै ख्याल गर्थे। जसले नेपाली सेनाको सह सेनानीसंगै कलिलो उमेरमै सगरमाथा शिखरसम्म पुरायो। उनले नेपाली सेनाको पहल तथा नेतृत्वमा संचालित ‘सफा हिमाल अभियान-२०२२’ अन्तरगत गत बैशाखमा सगरमाथा आरोहण गरेका हुन्।

Get Vaccinated

सुपरिवेक्षकसंगको त्यो भेट
आम नेपालीहरुलाई सगरमाथा आफ्नै देशमा भएतापनि निकै टाढाको विषय बनिरहेको छ । कठिन भौगोलिक अवस्था, प्रतिकुल मौसम, उच्च शारीरिक तन्दुरुस्ती र निकै महङ्गो खर्चले गर्दा नेपाली सगरमाथाबाट टाढा छन् । कार्कीले पनि नेपाली सेना प्रवेश गर्नुअघि हिमालसँग कहिलेपनी साक्षात्कार गर्ने मौका पाएका थिएनन् । जब स्नातक चौथो सेमेस्टर पढदा होस्टेलका सुपरिवेक्षक नेपाली सेनाका भूपू हुद्दा वसन्त बहादुर थापासङ्गसंगको भेटले नेपाली सेनादेखि सगरमाथासम्म पुरायो।

थापाका छोरा प्रेम थापाले नेपाली सेनाको अधिकृतका लागि तयारी गरिरहेका थिए । त्यसैले नेपाली सेनाका सेवा सुविधाबारे अवगत गराउँदै कार्कीलाई प्रेरित गरे । त्यसपछि कार्कीले पनि प्रेमसंगै नेपाली सेनामा नाम निकाले । सेनामा प्रवेशसंगै माउन्टेन वारफेर बेसिक तथा एड्भान्स तालिम गर्ने मौका पाए । त्यसपछि कार्कीलाई हिमालप्रतिको मोह यसै बढेर गयो । विस्तृत योजाना तथा कठिन तालिम बिना कुनैपनी हिमाल आरोहण गर्न निकै मुस्किल हुन्छ । चाहे त्यो टाकुरा होचो होस् वा त्यो हिमाल अग्लो होस।

यो पनि: गुल्मेली सगरमाथा आरोही क्याप्टेन कार्कीलाई नगरपालिकामा सम्मान

Awareness by SKF

नेपाली सेनामा भर्ती भएपछि कठिन तालिमहरु मध्येको एक माउन्टेन वारफेर तालिम लगायत अरु शारीरिक तालिमहरु गरेपछि हिमाली फौज हुने अवसरसंगै शारीरिक तथा मानसिक तवरमा जस्तोसुकै विषम परिस्थितिको सामना गर्ने हिम्मत पलाएको कार्की बताउँछन् ।

खुशी, डर र कौतुहल्ताको हिमाल यात्रा
नेपाली सेनाको तर्फबाट गणेश कार्की र अमल्दार देवी न्यौपाने तथा अन्तराष्ट्रिय माउन्टेन गाइड अविरल राई र दुई जना शेर्पा गाइड (टुक्ते शेर्पा र निमा शेर्पा) गरेर कुल पाँच जनाले सगरमाथा आरोहण गर्दै थिए । कार्कीको मनमा विश्वकै अग्लो शिखर आरोहण गर्ने विशाल सपना थियो । जसका लागि टोलीले २४ चैत ०७८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरबाट विश्वकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्गबोचे विमानस्थलमा अवतरण गरेर नाम्चे बजारतर्फ प्रस्थान गरे।

कार्कीका अनुसार टोली नाम्चे बजारबाट खुन्डे, खुम्जुङ्ग र थामेमा दुईवटा एक्लिमटाइजेशन हाइक गरि कुल तीन दिन बिताइ बेसक्याम्प तर्फ लागे । उनीहरु टेङ्गबोचे, डिङ्गबोचे र लोबुचेमा रात बिताउदै नवौं दिनमा बेस क्याम्प आइपुगे । बेश क्याम्पमा केहि दिन आराम गरेपछि हिमाल भगवानको पुजा, ग्लेसियर तालिम, बैठक जस्ता तयारीका कामहरु भए ।

त्यो ठाउँको वातावरणसँग शरिरलाई ढाल्नको लागि पुमरी हाइक्याम्प जादाँ अजङ्ग, अट्ल र अदम्भ उभिएको सगरमाथालाई पहिलोपटक सामिप्यबाट प्रष्टसँग चिहाउँदा मनमा अनेकन तरंगहरु कुदेको कार्की बताउँछन् । ‘बिशाल र भिमकाय सगरमाथा देखेर आङ्गनै सिरिङ्ग बन्यो । मनले कल्पना गरेकोभन्दा सयौ गुणा फरक सगरमाथा पाएँ,’उनले भने,‘सवै व्यावस्थापनपछि मनमा खुशी, डर र कौतुहल्ता बोकेर हिमाल उक्लियौ ।’ कार्कीले टन्टलापुर घामले आगो ओकलिरहेको समयमा खुम्बु आइसफलको बाटो उकालोमा पाइलानै सार्न नसकेको र घामले अनुहार जलेर छियाछिया भएको अनुभव सुनाउँछन्।

COVID-19

जे नहोस् भन्ने प्रार्थना थियो, त्यहि भयो
आरोहणकै क्रममा २६ बैशाख ०७८ बिहान ६ बजे नै क्याम्प .. लागि मुभ हुने किशोर सरको आदेश थियो । तर, एक्कासी तेज वेगले हावा चल्न शुरु गर्यो । बिस्तारै हावा कम भएन बरु झनझन बढन थाल्यो । सवैको मनमा डरले जरा गाड्न थाल्यो । बेशक्याम्पसँगको सम्वादपछि जुनकुरा नहोस् भन्ने सवैको प्रथाना थियो त्यही भयो ।

मौसममा आएको अचानक बदलावको अनुमान अनुसार क्याम्प ३ माथी आधी तुफानको संकेत देखियो । टोली त्यहाँबाट तुरुन्तै क्याम्प २ फर्कने आदेश आयो । जिन्दगीमै त्यो जस्तो अमिलो र नमिठो पल सायदै कहिले नभोगेको कार्कीले बताए । त्यो ल्होत्से फेसको उकालो दुई पटक चढनु आफैमा सगरमाथा बराबर थियो । पिठ्युको भारी भन्दा मनको भारीले थिचेको टोली बिहानको करिब ६ ः ३० बजे तिर क्याम्प २ तिर झर्न शुरु गर्यो । थाकेर चुर भएता पनि सवैमा दृढ़ र बलियो मानसिकता थियो । २७ बैशाख ०७८ मा पुनः आरोहणको लागि दुवै टिम क्याम्प ३ तर्फ प्रस्थान गरे।

जब झोला खस्यो, थर्मस खुलेन
क्याम्प तीनको रातपछी २८ बैशाख ०७८ को बिहान ६ बजे टोली क्याम्प चार को लागि प्रस्थान गरे । क्याम्प तीनबाट उपल्लो क्याम्प तीन, ऐल्लो ब्यान्ड (पँहेलो ढुङ्गाको पाखो) हुँदै ल्होत्से हिमालको क्याम्प चार नजिकै विश्रामको लागी बसिरहेको बेला टोली सदस्य गेलु शेर्पाको झोला अचानक तल खस्यो।

जसमा अक्सिजन, रेडियो सेट तथा अत्यावश्यक खानेकुराहरु थिए । दुर्भाग्यवश जिन्दगीकै पहिलो पटक सगरमाथा आरोहण गर्न जान लागेका शेर्पा सम्मिटको केही दुरी टाढाबाट अमिलो मन बनाएर क्याम्प दुई फर्किनुपर्यो। बाँकी विश्वकै शिखर चुम्ने अभिलाषाको साथ कदम चाल्न शुरु गरे । घामले क्षितिज नाघिसकेको थियो । रात हावी बन्न थाल्यो हिउँ । चिसोले मुटु एक रफ्तारले कामीरहेको थियो।

अक्सिजन बदल्ने र केही खाने अन्तिम सजिलो ठाउँ थिएनन् । पानी पिउन खोज्दा थर्मसको बिर्को जमेको हुनाले खुलेन । त्यहाँबाट बेश क्याम्पमा सम्पर्क गर्ने हेतुले लगेको रेडियो सेट र स्याटफोन खोल्ने चेष्टा गर्दा अत्याधिक चिसोको कारण कुनै उपकरण खुलेनन । मन पीडा, भोक र प्यास भएपनि विश्वकै अग्लो शिखर चुम्ने अभिलाशाले डोराईरह्यो।

चुचुरोमै दोस्रो जीवन पाएँ
हिलारी स्टेप जुन चुचुरो भन्दा केही तलको अन्तिम कठिन खुड्किलो हो । कार्कीले उक्त स्टेपको मुनि एउटा शव जिउँदो मान्छे आढेस लागे जस्तो गरेर पल्टेको देखे । मन निकै अताल्लियो । उनीहरु सफलताबाट केही कदम दुर थिए । उदेश्य अनुसार जसोतसो आफुलाई नसम्हाल्नुको बिकल्प थिएन् । कार्कीसहितको टोली अगाडि बढ्यो । अचानक तीन/चार फीट दाहिनेबाट हिम पहिरो खस्यो । थरथराहटसहित खस्दा मुटुले ठाँउ छोड्यो । सवैमा बेचैनी बढ्यो । सोहि क्रममा निमा शेर्पा सम्मिट गरेर फर्किदै थिए ।

उनीहरुले त्यस बेलासम्म अक्सिजन १.५ लि प्रति मिनेटको दरले खाइरहेको थिए । कार्कीले सोचे निमा दाईसँग एक्स्ट्रा बोट्ल छ सम्मिटसम्म दुई लिटर प्रति मिनेट अक्सिजन खान्छु अनि तल झर्दा नयाँ अक्सिजनको बोटल लैजान्छु । त्यतिकैमा कार्कीले निमा दाईलाई अक्सिजन दुईमा लगाइदिन आग्रह गरे । संगै हिमाल आरोहडमा निस्किएका देवि र दाई अगाडि हिडे । सम्मिट करिब १० मिनेट बाँकी थियो । उनलाई एक्कासी रिंगटा शुरु भयो । ज्यान अनियन्त्रित हुन थाल्यो । केही सोच्न र सोचेको ठाउँमा पाईला टेक्न सक्ने उपाय भएन । अक्सिजन शुन्य लेभलमा देखे । सहयोग याचनाको लागि अगाडि पछाडि कोहि थिएनन्।

जिन्दगीको विश्रामस्थल सगरमाथा सम्झिए । आँखामा लाशका दृश्यहरु नाच्न थाले । घरपरिवार, बुबा–आमा, साथी–भाईहरुलाई अन्तिम पट्क सम्झिए । करिब २० मिटर कुदेर घुडाले टेकेर देवि र निमा दाईलाई चिच्याई चिच्याई बोलाउन खोजे । तर, आवाजनै निकाल्न निस्किएन । हात हल्लाउन थाले । तर सम्मिटमा फोटो खिच्न व्यस्त अरुले कप्तान साब आइपुग्यो भन्ने ठाने । उनलाई हात हल्लाएरै अभिवादन गरे । निकै बेरसम्म हात हल्लाइरहेको देखेपछि देवि ओस्ताज दौडेर आएर अक्सिजन रेगुलेटर मर्मत गरेपछि तीन लिटर प्रतिमिनेटमा अक्सिजन खाए । कार्कीले ज्यान ठिक हालतमा आएपछि केहि बेरमै विश्वकै अग्लो चुचुरोमा पाइला टेके।

‘चुचुरोमा पुगेपछि न हाँस्न सकियो न रुननै’
सगरमाथाको चुचुरोमा पाइला टेकेपछि भावनामा हराएको गणेश कार्कीले अनुभव सुनाए । ‘चुचुरोमा पुगेपछि नितान्तै भिन्न, शुन्य अनि फरक किसिमको आभास हुँदो रहेछ । त्यस्ता भावनाहरु अरुबेला आएको मलाई हेक्का छैन,’उनले भने,‘ त्यो समय न हाँस्न सकियो न रुननै, केबल हराइयो मात्र ।’

टाकुरामा बिताएका ती २०–२५ मिनेट जिन्दगीका सबै दुख कष्ट भुलाएर स्वच्छ हावाको स्पन्दन, घामको उदाउँदो लाली, भर्खरै उम्रिएका च्याउ जस्ता देखिने हिमालहरु, अक्सिजनको चिसो सप्को र उत्तरमा अट्ल तिब्बतको मनोरम दृश्यमा निकै आनन्द प्रदान गरेको कार्कीले सुनाए । उनले लगातार १४ घण्टा हिडाईको थकान तथा प्यास हावामा फुङ्ग उडेन मात्रै सारा संसारलाई आफुले चिहाएको महसुस भएको बताए।

सगरमाथा यात्राका कष्ट मनको कुनामा लुकाएर विश्वकै अग्लो शिखरसँग पुनः भेट्ने बाचाका साथ बिदाई भएर भोलिपल्ट बेस क्याम्पमा भब्य पार्टी र करिब आठ÷दश दिनमा सगरमाथा तथा ल्होत्से टिमले १२.७ टन फोहोर संकलन गरेर काठमाण्डौ फर्किएको कार्कीले सुनाए ।

‘नेपाली हिमालझैँ उच्च, स्वच्छ र अटल बनौँ’
सगरमाथाको शिखर चुमेर फकिएका गणेश कार्कीले हिमालबाट संङघर्ष सिकेर फर्किएको बताए । उनले हिमालको देशका नागरिक हिमालझै उच्च, स्वच्छ र अटल बन्नुपर्नेमा जोड दिए । जिन्दगीमा कैयौं आरोह–अवरोहहरु आएपनि सहर्ष स्विकार्दै दृढ संकल्प, निस्वार्थ र आत्मनिर्भरताका साथ कर्म गरेमा जरुर सफलताको शिखर चुम्न सकिने कार्कीले बताए।

उनले सगरमाथाको सोचाइ र वास्तविकतामा आकाश पातालको भिन्नता पाएको बताए । ‘आजकाल सगरमाथा आरोहण फेसन जस्तै भएको छ । तर, जब हामी वास्तविक जमिनमा पुग्छौ यो काम फत्ते गर्न त्यति सजिलो,’उनले भने,‘सोचेभन्दा निकै कठिन रहेछ सगरमाथा यात्रा ।’ यदि शरिर र स्वास्थ्यले साथ दिएको खण्डमा अवसर पाउने हिम्मत, ढृढ सकल्प र जोश हुने सबै युवाहरु सर्वोच्च शिखरमा पाइला टेक्न सकिने कार्कीको भनाई छ । कार्की आरोहणबाट सिकेका अनुभवहरु बाढ्दै र अरु युवालार्ए प्रेरित गर्दै देश सेवाको सैनिक यात्रालाई थप जोश र उत्साहका साथ अघि बढाउने योजनामा छन्।

जब गाउँकै एक जनाले ज्यान गुमाए
गणेश कार्कीको हिमाल यात्राभन्दा केहि दिन पहिले उनकै गाउँका दिपक महतको सगरमाथा आरोहणकै क्रममा ज्यान गुम्यो । त्यो खबरले आफुहरु पनि त्रसित भएर केही डगमगाएको गणेशले बताए। उनले त्यो घटनाले सगरमाथा चानचुने हिमाल होइन भन्ने कुरा दोहोर्याईएको प्रतिक्रिया दिए ।

यसको अतिरिक्त क्याम्प चारदेखि माथि पुग्दा जिवित मान्छे सुतेझै पल्टिरहेका शवहरु देख्दा मुटुमा चिसो पस्नुको साथै मनस्थितिमै बदलाव आएको कार्कीले बताए । ‘दिपक दाईको मृत्यु, आफैले देखेका शब र त्यो उचाईमा र मौसममा सानो भन्दा सानो गल्ती गरेमा भोग्न पर्ने प्रतिफलका बारेमा स्पष्ट थियौ,’उनले भने,‘नजिकैबाट अचानक खस्ने हिमपहिरोले एकछिन त मुटुको धड्कननै रोकिदिन्थ्यो ।’ यी घटना एवं परिघटनाका बाबजुद बोकेको जिन्दगीकै सर्वश्रेष्ठ उदेश्यलाई आत्मसात गर्दै थकित पाइलाहरुले शिखर चुम्न सकिएको कार्कीले प्रतिक्रिया दिए।

नेपाली सेनाको सफा हिमाल अभियान
हिमाल आरोहणको प्रयास निकै समय अगाडिदेखि भएको पाइन्छ । त्यो आफैमा ठूलो, जटिल र कष्टकर अभियान हो । जसका लागि थुप्रै बन्दोबस्तीका सामानहरु आवश्यक हुन्छ्न । थुप्रै आरोहण अभियानहरु विभिन्न कारणले विफल हुँदा आरोहणको निम्ति लगेका सामानहरु हिमालमानै फोहोरको रुपमा छाड्ने प्रचलन रहि आएको छ।

समयसङ्गै यस्ता हिमाल आरोहण अभियानको संख्या बढ्न थाल्यो । जसले हाम्रा हिमाल फोहोर फ्याक्ने डम्पिङ्ग साइट जस्तै भए । करिब १.२ बिलियन इन्डियन सब कन्टिनेन्टका मानिसहरुलाई पानीको स्रोत भनेकै हाम्रा हिमाल हुन । ती पानीका मुहानहरु निकै दूषित बनेका छ्न । हिमाल फोहोर हुनाले जैविक प्रणालीमै असर पुग्नुको साथै सफा कन्चन हिमालको सौन्दर्यता समेत लोपोन्मुख हुन थालेको छन्।

यिनै समस्या समाधानको निम्ति नेपाली सेनाको पहल तथा अगुवाइमा नेपाल सरकारद्वारा संचालित बृहत्तर अभियान हो सफा हिमाल अभियान २०२२ । यस अभियानमा हिमालमा थुप्रेका फोहोर तथा शवहरुलाई संकलन गरि प्राकृतिक रुपमा कुहिने र नकुहिने गरि वर्गीकरण, प्रमाणीकरणको साथै ढुवानी गरेको आरोही गणेश काकीले बताए। चुच्चोसम्मै सफाइ गर्ने लक्ष्य अनुरुप नेपाली सेनाका सदस्यहरु प्रमाणीकरण गर्दै तीनवटा आठ हजार मिटरभन्दा माथीका हिमाल आरोहण गर्न सफल भएको कार्कीले बताए। कार्कीका अनुसार उक्त अभियानमा सगरमाथामा, कन्चनजङ्गघा, ल्होत्से र मनास्लु गरि चार वटा हिमालको सफाइ गरि ३३ टन फोहोर संकलन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *