गुल्मी: नयाँ भक्ति सङ्गीत ‘केही छैन संसारमा, कोही छैन संसारमा’ सार्वजनिक भएको छ। नेपाली साङ्गीतिक बजारमा पछिल्लो समय मौलिक र भक्ति सङ्गीतप्रतिको आकर्षण बढ्दै गइरहेको सन्दर्भमा दर्शक तथा स्रोताको साङ्गीतिक तिर्खा मेटाउन लोकप्रिय गायक तथा सर्जक बैकुण्ठ रायमाझी र रमेशराज भट्टराईको मर्मस्पर्शी शब्द सिर्जना तथा सुमधुर स्वर रहेको नयाँ भजन ‘केही छैन संसारमा, कोही छैन संसारमा’ निर्माण पश्चात सार्वजनिक गरिएको हो। मानव जीवनको यथार्थ र आध्यात्मिक समर्पणलाई समेटिएको यस भक्ति सङ्गीतको म्युजिक भिडियो आज अपराह्न ३:४५ बजे ‘सेरोफेरो नेपाल’ नामक युट्युब च्यानलमार्फत विश्वभर एकसाथ सार्वजनिक गरिएको हो।
यस गीतलाई साङ्गीतिक रूपमा उत्कृष्ट बनाउन अनुभवी टोलीले काम गरेको छ। सङ्गीत संयोजनको जिम्मा सर्जक बैकुण्ठ रायमाझी स्वयंले कुशलतापूर्वक सम्हालेका छन् भने कोरस गायनमा प्रतिमा बिके र ज्ञानु परियारले उत्कृष्ट साथ दिएका छन्। गीतको सङ्गीत एरेन्ज विश्वास नेपालले गरेका हुन् भने रमेश खड्काको ध्वनि मुद्रण र विनोद परियारको मिक्सिङले गीतको श्रव्य पक्षलाई स्तरीय बनाएको छ। भिडियोतर्फ पनि दर्शकले उत्कृष्ट प्रस्तुति देख्न पाउनेछन्। म्युजिक भिडियोमा आयुष्मा कार्की, कैलाश कठायत, सारिका केसी, सर्जक बैकुण्ठ रायमाझी स्वयं आदिको मुख्य अभिनय रहेको छ।
साथै, म्युजिक भिडियोमा राष्ट्रिय सभा सदस्य माननीय विष्णु कुमारी सापकोटा र समाजसेवी तथा ग्रिन सिटी हस्पिटलका सञ्चालक लोक बहादुर टण्डनको अभिनय पनि देख्न पाइनेछ। चर्चित गायक तथा कलाकार श्याम रानाको प्रस्तुति रहेको छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन कुशल निर्देशक शेर साउदले गरेका हुन्, जसले यस भजनको भावलाई पर्दामा कलात्मक ढङ्गले उतारेका छन्।
गुल्मी जिल्लाको वामीमा जन्मिएर युरोपेली राष्ट्र चेक रिपब्लिकलाई आफ्नो कर्मथलो बनाउँदै आएका सर्जक तथा गायक रायमाझी नेपाली सङ्गीत क्षेत्रका एक अथक साधक हुन्। हजारौँ माइल टाढा परदेशमा रहेर पनि उनले नेपाली कला, साहित्य र सङ्गीतप्रतिको आफ्नो मोहलाई निरन्तर मलजल गरिरहेका छन्। उनले यसअघि पनि दर्जनौं साङ्गीतिक कोसेलीहरू नेपाली सङ्गीत पारखीमाझ पस्किसकेका छन्। उनका ‘दुनियाँ जहर छ’, ‘दुधको भारा’, ‘क्षितिज’, ‘फेसबुककी नानी’, ‘गुल्मेली सोरठी’ लगायतका सिर्जनाहरूले दर्शक-स्रोताको व्यापक माया पाइसकेका छन्।
बैकुण्ठ रायमाझी केवल एक सर्जक र गायक मात्र नभई नेपाली मौलिक लोकगीत र संस्कृतिका सच्चा संरक्षक र अभियन्ता पनि हुन्। विशेषगरी लोप हुन लागेको नेपाली पञ्चेबाजा र नौमती बाजाको संरक्षणमा उनको योगदान अतुलनीय छ। उनकै विशेष अगुवाइमा गुल्मीको वामीमा भव्य ‘नौमती बाजा महोत्सव’ आयोजना गरिएको थियो।
यति मात्र नभई, युरोपमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न र विदेशी भूमिमा नेपालको पहिचान चिनाउन उनले युरोपमै नेपाली मौलिक नौमती तथा पञ्चेबाजा समूहसमेत गठन गरेका छन्। यस कार्यले प्रवासी नेपाली समुदायमा ठूलो प्रशंसा बटुलेको छ। यस नयाँ भजनले पनि दर्शक तथा स्रोताको मन जित्ने विश्वास निर्माण टोलीले लिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







