Clean Water Campaign

Awareness Campaign

‘स्वर्ग जाने बाटो’: धुर्कोटको विचित्र गुफा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: हिन्दु धर्मअनुसार जीवनमा राम्रो काम गर्ने व्यक्ति मृत्युपश्चात स्वर्गमा जान्छ। जीवनमा नराम्रो काम गर्ने व्यक्तिको लागि मृत्युपछि पछि स्वर्गको ढोका बन्द हुन्छ। स्वर्ग जाने बाटो भने गुल्मीको धुर्कोट गाउँपालिका-५, वस्तुमा रहेको छ।

स्वर्ग जाने बाटोमा प्राकृतिक रुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ। करिब २३ वटाजति प्राकृतिक रुपमा उत्पत्ति भएका शिवलिङ्ग छन्। धार्मिक हिसाबमा शिवलिङ्गको अत्यन्तै महत्व रहेको छ। हात्तीको उक्त शरीर र शिवलिङ्ग हुँदै पुगिने ठाउँलाई ‘स्वर्ग’ नामाकरण गरिएको छ।

त्यसैले उक्त स्वर्ग जाने बाटोबाट धर्मात्माहरु मात्र छिर्न सक्ने र पापी मानिसहरु छिर्न नसक्ने धार्मिक मान्यता रहेको छ। स्वर्गमा पुगिसकेपछि सेतो रङ्गको शिवलिङ्ग, विभिन्न भगवानहरुको तस्विर र गोही लगायतको प्राकृतिक रुपमै उत्पत्ति भएको तस्विर देख्न सकिन्छ।

सिंचाई
Forest
Ad.

वस्तुको कमलावनमा १८५ मिटर लामो विचित्र गुफा छ । सोही गुफाभित्र रहेको ‘स्वर्ग जाने बाटो’ निकै आकर्षक र धार्मिक हिसाबले महत्वपूर्ण छ । स्वर्ग जाने बाटो पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । अर्थात त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकोले पनि उक्त स्थललाई विचित्रताको अन्तिम दृश्यको रुपमा लिने गरिएको गुफासम्बन्धि जानकार एवम् हिमालय माविका प्रध्यानाध्यापक कृष्णप्रसाद भण्डारीले बताए ।

ढेंडुबाँदर लखेट्दा फेला परेको थियो गुफा

ढेंडुबाँदर लखेट्दा ०४५ साल असार ५ गते गुफा पत्ता लागेको थियो । गाउँको बारीमा मकै खान गएको ढेंडुँबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले बाँदर एकाएक पहराको बीचमा रहेको सानो प्लाबाट भित्र पसेको देखे । पछि के को प्वाल रहेछ भनि हेर्न जाँदा गुफा पत्ता लागेको हो । गुफा पत्ता लागेपछि सुरुमा साविकको वस्तु गाविसकै १०÷१२ जना व्यक्तिहरु हातमा राँका (आगोको मुस्लो) र लाइट बालेर गुफाभित्र सामूहिक रुपमा छिरेका थिए । गुफा पत्ता लाग्दा मोटा र लामा रुखका जरा एवम् अन्य लहरामा करिब १० मिटर माथिसम्म झण्डिएर जानुपथ्र्यो । बस्तीदेखि केही तल ख¥यानमा रहेको गुफामा त्यहाँका बुढापाका जाने बिषय त्यत्ति सहज थिएन । अनकन्टार ठाउँ, त्यो पनि ओढारभित्र, हिंस्रक जनावरहरुको प्रवाह नगरी पुरै लम्बाई चाहारेर फर्केका व्यक्तिहरुले गुफाभित्र अनेक विचित्र वस्तुहरु देखेको आधारमा गुफाको नाम नै ‘बिचित्र गुफा’ रहन गएको हो ।

Awareness by SKF

पाँच सय जना अटाउने सभाहल

विचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ । सभाहलको माथि पट्टिको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुको बिचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । शिवलिङ्ग सहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायु, श्रीपेच लगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ । गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्ग लगायत नामाकरण गरिएको संरक्षक भानुभक्त भण्डारीले बताए । गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु रहेका छन् । गुफामा ११ कक्ष रहेका छन् भने गुफाभित्रको चौडाई फरक–फरक ठाउँमा तीनदेखि ६० फिटसम्म रहेको छ।

गुफाको तल्लो सतह लेसाइलो माटोले बनेको छ । गुफाभित्र रहेका मार्गमध्ये पहिलो मार्गमा दुवैतर्फ कडा चट्टान, छतमा दरार एवम् चुनढुङ्गा, दोस्रो कक्षमा छतमा मण्डपाकार आकृति, तेस्रो कक्षमा नरसिंह अवतारको आकृति, चौथो कक्षमा शेष नागको आकृति, पाँचौ कक्षमा कृष्णले दही पोखेको आकृति रहेको छ । त्यस्तै सातौ कक्षमा अयोध्यापुरीबाट परिचित कक्ष पूजा मण्डप, नवैं कक्षमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदाको रथ र जटायुले माथिबाट आक्रमण गरेको मूर्ति, दशौं कक्षमा पारदर्शक पत्थर एवम् एघारौ कक्षमा गणेशको मूर्ति, रामचन्द्रको धनुषवाण राख्ने शोली लगायतको आकृति रहेको संरक्षक भानुभक्त भण्डारीले राजधानीलाई जानकारी दिए । गुफामा मुख्य ढोकाबाट भित्र पसेपछि पाँचवटा द्वारहरुको प्राकृतिक आकार देख्न पाइन्छ ।

अध्ययन नै हुन बाँकी छ

पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ । तर आवश्यक प्रचार–प्रसार एवम् पर्यटनका अन्य पूर्वाधारहरुको ब्यवस्थापन नहुँदा गुफाको पहिचान ओझेलमा परेको छ । गुफाभित्र सजिलै तोडफोड गर्न सकिने तस्विरहरुको संरक्षणमा ध्यान दिने र गुफाको थप लम्बाईबारे अध्ययन गरेमा पर्यटन विकासमा गुफा कोसेढुङ्गा सावित हुने विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले बताए । ‘अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो हुन सक्ने यस गुफाका अझै धेरै कुरा लुकेरै बसेका छन्। अहिलेसम्म गुफाको दुई तलासम्म मात्रै अध्ययन गरिएको छ ।’ भण्डारीले भने, ‘ अन्य तलाहरु र त्यस भित्र भएका छुट्टै सुरुङ्गहरुको उत्खनन् र अनुसन्धान हुन सकेको छैन।’

केही सुधारका प्रयास

छल्दी खोलादेखि गुफासम्म पुग्नको लागि ४५० मिटर लामो सोलिङ्ग र सिढीँ निर्माण गरिएको छ । सिँढीबाट गुफासम्म पुग्नको लागि करिब १० मिटरको पुल र गुफाभित्र पनि सिँढी निर्माण गरिएको छ । गुफाको नजिकै पिकनिक स्थल र सूचना केन्द्रको नाममा पर्यटकको आवासको लागि भवन समेत निर्माण गरिएको छ । केही दिनअगाडी मात्रै गुफानजिकैबाट राङ्गदलचौरको फेदीसम्म जोड्ने ३७० मिटरको झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । धुर्कोट गाउँपालिकाले २०८१ लाई पर्यटन बर्षको रुपमा बनाउँदैछ । जसमा गुफा र धुर्कोट कोतलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष भुपाल पोखरेलले बताए । ‘गुफा गाउँपालिकाको भाग्य र भविष्य हो ।’ अध्यक्ष पोखरेलले भने, ‘गुफाको पूर्वाधार र प्रचार–प्रसारमा जोड दिएका छौँ।’

यसरी पुग्न सकिन्छ गुफासम्म

सदरमुकाम तम्घासबाट सेउघा–छल्दी–पनाहा–हुलाके हुदैँ धनार्जेसम्म १८ किलोमिटर पक्की सडकमा पुगिन्छ । त्यसपछि तीन किलोमिटर कच्ची सडक पार गर्दे करिब २५ मिनेटको पैदल यात्रापछि गुफासम्म पुगिन्छ भने धनार्जीबाटै १० मिनेको सवारी यात्रामा गुफासम्म पुग्न सकिन्छ । त्यस्तै बाग्लुङ, प्युठान, मालिका गाउँपालिका लगायतका ठाउँबाट धनार्जीमा पुगेर सवारी वा पैदल यात्राबाट गुफासम्म पुग्न सकिन्छ । सदरमुकाम तम्घासबाट सेउघा–सिमाघाट–जैसिथोक हुँदै वस्तुको शिवालय मन्दिरमा पुग्ने र त्यहाँबाट करिब १० मिनेको सवारी यात्रा एवम् २० मिनेटको पैदल यात्रापछि पनि गुफासम्म पुग्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया