Salime Malika Krishi Farm

Awareness Campaign

वामीमा नौमती महोत्सव आयोजना हुन अब एक महिना मात्र बाँकी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सम्पादक, ओझेलका खबर डटकम: तेस्रो नौमती महोत्सव भव्यरुपमा सम्पन्न गर्न तयारी शुरु भइसकेको छ। साथै वामी-विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समिति मार्फत विभिन्न जिम्मेवारीहरु बाँडफाँड गरिएको जानकारी प्राप्त भएको छ।

वामी विश्व सम्पर्क मञ्चले २०७२ मा सम्भवतः नेपाल कै पहिलो नौमती बाजा महोत्सव शुरु गरेको हो। यसले वामीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाएको मात्र छैन बल्कि हाम्रो मौलिक संस्कृति र सांस्कृतिक पहिचानलाई जीवन्त पनि बनाएको छ। युवा लोक श्रजक बैकुन्ठ रायमाझीको संयोजकत्वमा वामीमा दुईवटा नौमती महोत्सव सम्पन्न भइसकेका छन।

पहिलो महोत्सव तत्कालीन वामी विश्व सम्पर्क मञ्च मुल समितिका अध्यक्ष ज्ञानहरि सापकोटा सभापति रही राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु बम बहादुर कार्की, जीवन शर्मा, मञ्जु पौडेलको नेतृत्वमा तत्कालीन जिल्ला शिक्षा अधिकारीको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको थियो। उक्त महोत्सवमा सहभागी वाद्यवादन प्रतियोगीहरु मध्ये मुसिकोट बाजा समूह प्रथम, वामी मैदान नौमती बाजा समूह द्वितीय तथा गुर्जाङ बाजा समुह तृतिय विजेता भएका थिए। महोत्सवबाट रु. १२ लाख रकम संकलन गरी भुकम्पले क्षतविक्षत भएका वामीका चार वटा विद्यालय श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय वामीटक्सार र शारदा विद्या मन्दिर, वामी मैदान लाई रू. ४/४ लाख तथा सेरा र पल्टारका एक-एक आधारभुत विद्यालयलाई १.५/१.५ लाख सहयोग गरिएको थियो।

सिंचाई
Forest
Ad.

दोस्रो महोत्सवमा वामी-विश्व सम्पर्क मञ्च मुल समितिका अध्यक्ष ज्ञानेश्वर काफ्लेको सभापतित्वमा प्रमुख अतिथि टोपबहादुर रायमाझी, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु नारायण रायमाझी, जीवन शर्मा लगायतको उपस्थितिमा नौमती महोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो। यस महोत्सवमा चन्द्रकोट नौमती बाजा समूह प्रथम, वामीमैदान बाजा समूह द्वितीय र गल्कोट घुम्टे नौमती बाजा समूहले तृतिय स्थान हासिल गर्न सफल भएका थिए।

गत २०७६ सालमा सम्पर्क मञ्चले साँस्कृतिक समिति (WWCF-९CC) गठन गरी नौमती बाजा महोत्सवलाई थप विस्तार गर्दै नौमती बाजा महोत्सव तथा सांस्कृतिक कार्यक्रम बनाइएको हो। यस साँस्कृतिक कार्यक्रमलाई वामीमेलाको रुपमा स्थापित गर्ने गरी सांस्कृतिक समिति WWCF-९CC निरन्तर सक्रियताको अभियान सञ्चालन गरेर अघि बढिरहेको छ। गत वर्ष २०७७/७८ को नौमती महोत्सव कोरोनाको कारण दुई बर्ष टाढा सरेको थियो। यसै बर्ष २०७९ साल दशैं पछि कोजाग्रत पुर्णिमाको दुई दिन पछि यानी २०७९ आश्विन २५ र २६ गते मंगलबार र बुधबार कार्तिक कृष्णपक्षको द्वितीय तिथि र तृतिय तिथीको लागि तय गरिएको छ।

यसैरितले द्वैबार्षिक रुपमा बडादशैंको पुर्णिमाको दोस्रो र तेस्रो दिनमा वामीमेला सञ्चालन गर्ने तथा यसै मेला मार्फत यहाँका महत्वपूर्ण मौलिकताहरु संरक्षण र प्रवर्द्धन गर्दै लैजाने भन्ने जानकारी संस्थाका अध्यक्ष बैकुन्ठ रायमाझीले दिएका छन्।

‘वामी सेरोफेरोका लोपोन्मुख मौलिक संस्कृति जोगाउनको लागि एक्लै वामी-विश्व सम्पर्क मञ्चले नभई देश तथा विदेशमा छरिएर रहनुभएका वामेली साँस्कृतिक, सामाजिक एवम् मनकारी हातहरुको ऐक्यबद्धता रहँदै आएको छ।’ उहाँले भन्नुभयो, ‘सबै सबै सहयात्री प्रति उत्तिकै सम्मान व्यक्त गर्दछौँ।’

Awareness by SKF

वामी मेलाको यो तेस्रो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न यस पटक प्रमुख अतिथिमा राष्ट्रिय साँस्कृतिक प्रतिष्ठानका जनरल म्यानेजर आदरणीय अशोक राई ‘प्यासी’ ज्यूलाई निमन्त्रणा पठाई सकिएको जानकारी संस्थाका महासचिव हेमनाथ खरालले गराउनुभयो।

यो महोत्सवलाई अनन्तकाल सम्म निरन्तरता दिनका लागि साँस्कृतिक विशिष्ट संरक्षक/संरक्षक/सदस्यहरु बनाएर रकम संकलन गरी साँस्कृतिक अक्षयकोष निर्माण गर्ने र दानीहातहरुलाई सदैव सम्मान गर्ने परम्पराको थालनी गरिएको छ। यस अभियानमा होस्टेमा हैंसे गर्दै दुई दर्जन जति दानी चित्तका धनी फराकिलो हृदयहुने सम्मानित सज्जन व्यक्तित्वहरुले सहयोग गर्नुभएको छ।

कार्यक्रम भव्यताका साथ सम्पन्न होस् भनेर अन्तर्राष्ट्रिय समन्वय समितिले क्यानडाबाट महासचिव रोमकान्त सापकोटालाई वामी पठाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ। मुल समारोह समिति संयोजक मुसिकोट-८ का पुर्व वडाध्यक्ष नारायण सापकोटा, झाँकी परिचालन तथा योजना तर्जुमा संयोजक राम केसी, कलाकार परिचालन संयोजक ओबी रायमाझी, मुल समारोहका कार्यकारी प्रबन्धक ज्ञानेश्वर काफ्ले, रामचन्द्र सापकोटा र महेश्वर घिमिरेलाई जिम्मेवारी हस्तान्तरण गरिएको बताइएको छ।

एक दर्जन जति बाजा समूहलाई पत्राचार गरिसकिएको छ। आधा दर्जन मौलिकता झल्काउने झाँकी प्रदर्शन गर्ने तयारी भएको छ।

राष्ट्रिय कलाकार, जिल्लाका कलाकार तथा स्थानीय कलाकारहरुको ठुलो उपस्थितिमा महोत्सवलाई सम्पन्न गर्न यहाँहरु सबै संघसंस्था, पत्रकार, आमा समुह, युवा क्लब, विभिन्न व्यक्ति र सबै वामेली परिवारको साथ, सहयोग र सहयात्रा रहने कुरामा विश्वस्त रहेको समितिका अध्यक्ष बैकुन्ठ रायमाझीले बताउनुभयो।

महोत्सवमा साँस्कृतिक आजीवन संरक्षक तथा सदस्यहरुको सम्मानका लागि धातुपत्र निर्माण गरी उहाँहरुको उच्च सम्मान गर्ने तयारी भइरहेको पनि जानकारी गराइएको छ। मिडिया पार्टनर तथा राष्ट्रिय कलाकार को-को आउँदै हुनुहुन्छ भन्ने प्रश्नमा असोज पहिलो हप्ता सम्म पुनः प्रस्ट्याउने वचनबद्धता उहाँले व्यक्त गर्नु भएको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया