गुल्मीको कुर्घामा लाग्ने मालिका मेलाको महिमा २०४० को दशकसम्म जस्तो अहिले कहाँ रह्यो र ! गुल्मीबासी मात्रै होइन, अर्घाखाँची, प्युठान र बागलुङबासीसमेत आफूलाई मेलाको आयोजकझैँ ठान्थे।
कसैले बोलाउनै पर्दैनथ्यो। न त एक हप्ता अगाडिदेखि सामाजिक सञ्जालमा प्रचार गर्नुपर्थ्यो, न त ठूला–ठूला ब्यानर टाँग्नुपर्थ्यो। अहिले जस्तो आयोजक समिति बनाएर विविध कार्यक्रमको सूची सार्वजनिक गर्नुपर्ने चलन पनि थिएन। त्यो बेलाका अनपढ भनिएका मान्छेहरू औँला भाँचेर मेला लाग्ने दिन गन्दै बस्थे। दिन पुगेपछि आफैँ उठेर हिँड्थे।
मालिका मेलामा उति बेला दुई कुराको त्रासदी हुन्थ्यो। एक, हुलदङ्गा र अर्को, झाम्रेका नाममा महिलामाथि हुने हिंसा ! तर त्यो हिंसा पनि आजको जस्तो सुरुवाती क्षणमै महिलामाथि आक्रमण गर्ने खालको हुँदैनथ्यो। प्रायः एकअर्काको चाहना र सहमतिमा हुने भेटघाट, जिस्क्याइँ र तानातानका घटना सुनिन्थे। यद्यपि त्यसबेलाको समाजमा महिलाले भोग्ने डर र असुरक्षालाई पनि बिर्सन मिल्दैन।
एक वर्ष कुर्घा जाने रातको कुरा हो। म फुपूहरूको कोखमा सुतिरहेको थिएँ। उनीहरू आपसमा गुनगुन गफ गरिरहेका थिए। म निदाएझैँ गरेर सबै सुनिरहेको थिएँ।
बिहान कुर्घा जाँदा कसैले जिस्काउन खोज्यो भने ढुङ्गैढुङ्गाले हानेर आम्ला है कान्छी ! यस्तै यस्तै गफ चलिरहेको थियो। अनि भोलिपल्टको झाम्रेको अभ्यास पनि बिस्तारै सुरु हुन थाल्यो।
शृङ्गारको तयारी सुरु भयो। आबैको हारी, मडौरी र खद्दरको गुन्यू माग्न गए। साइँदी थिइन् आबै, लगाउनु वचन लगाएर बल्लतल्ल दिइन्। ती सबै लुगा लगाएर ठाँटिए तर आफू कस्ती देखिएँ भनेर हेर्ने गतिलो ऐना भने उनीहरूसँग थिएन। अँध्यारोमै चिटिक्क परेझैँ गरेर हिँडे।
पछि भुवाचिदी पुगेपछि मात्रै उज्यालो भयो। त्यसपछि उनीहरूको रूप देखेर मान्छे हाँस्न थाले। कसैको निधारमा टिकि उल्टो, कसैको ओठमा लगाएको लाली गालासम्मै पुगेको ! जोक्करजस्तै देखिएपछि मान्छे नहाँसून् पनि कसरी ?
बिचरीहरूको साथमा पकेट खर्च पनि कति हुन्थ्यो र ! कसैसँग पाँच मोहर, कसैसँग तीन रुपैयाँ त कसैसँग पाँच रुपैयाँसम्म। अब त्यति पैसाले शृङ्गार बदल्ने कुरै भएन। त्यतिबेलाको ठूलो हाटबजार मानिने भुवाचिदीमा ब्युटी पार्लर हुने कुरै भएन। बिचरीहरू कुलोमा गएछन्, मुख धोएछन् अनि झाम्रे गाउँदै उकालो लागेछन्।
त्यसको सायद पाँच वर्षपछि होला, म पनि मालिका मेला गएँ। दसैँमा बाउबुढासँग रोइकराइ गरेर किन्न लगाएको प्याजी रङको पोलिस्टरको पाइन्ट र सेतो रङको सर्टको कपडा हात परेपछि मेरो फुर्ती पनि कम थिएन।
अमिताभ बच्चनको स्टाइलमा सिलाउन लगाउने रहर थियो। तर हाम्रा पैसे दाइलाई त्यो स्टाइलमा सिलाउन कहाँ आउनु ! तैपनि जबर्जस्ती सिलाउन लगाएको थिएँ। त्यही लुगा लगाएर पहिलोपटक मालिका मेलामा पुगेको हुँ।
तर हे आधुनिक युग ! कुर्घाको मालिका मेलाको त्यो स्वस्फूर्त रौनक कहाँ हरायो ? पहिले कसैले बोलाउनै नपरी मान्छे ओइरिन्थे। अहिले ठूलो ब्यानर, आयोजक समिति र सामाजिक सञ्जालमा हप्तौँको प्रचार गर्दा पनि त्यो पुरानो आत्मीयता र मौलिकता किन फर्किन सकेन ?
म त कामना गर्छु, चिच्याएर वर माग्ने देशकै प्रसिद्ध कुर्घा मालिकामा फेरि त्यही स्वस्फूर्त, मौलिक र जीवन्त मेला फर्कियोस्। किन खेल खेलाउनैपर्यो ? किन बाहिरबाट कलाकार बोलाउनैपर्यो ? आफ्नै गाउँठाउँमा मौलिक कला र गलाका धनी कति छन् ! तिनका गीत, भाका, झाम्रे र प्रतिभालाई किन मञ्च दिन नसक्ने ?
किन तिनै मौलिक प्रतिभालाई कतिन्जेल ओझेलमा पारिरहने ? मेला भनेको ब्यानर, मञ्च र माइक मात्रै होइन। मेला भनेको मान्छेको मन हो, गाउँको आत्मीयता हो, पुस्तौँदेखि सर्दै आएको संस्कृति हो। त्यो पुरानो कुर्घा मालिका मेला फेरि फर्किएला ? चिन्ता यसैमा छ !
चिन्तक : प्रेम सुनार
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









