एउटा सेतो कार। मूल्य जम्मा डेढ लाख रुपैयाँ ! न महँगो गाडी किन्ने रहर, न चालक राख्ने खर्च। तर यही कारको नम्बरमा लुकेको छ एउटा यस्तो संयोग, जसले रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीलाई समेत आश्चर्यमा पार्यो।
स्थानीय तह निर्वाचनमा उम्मेदवारले कति मतले जिते भन्ने कुरा निर्वाचनको परिणाम सार्वजनिक भएपछि सबैलाई थाहा हुन्छ। तर आफूले चुनाव जितेको मतान्तरसँग आफ्नो सरकारी गाडीको नम्बरसमेत मिल्छ भन्ने कुरा कसैले पहिले नै अनुमान गर्न सक्छ र ? सायद सक्दैन।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको जीवनमा यस्तै अनौठो संयोग परेको छ। उनले तत्कालीन नेकपा एमालेका उम्मेदवार हिमाल श्रेष्ठलाई १ हजार २ सय ७७ मतले पछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। श्रेष्ठले ४ हजार ५ सय ४० मत प्राप्त गर्दा ज्ञवालीले ५ हजार ८ सय १७ मत ल्याएका थिए।
निर्वाचनको त्यो परिणाम त सार्वजनिक भइसकेको थियो। तर उनको चुनावी जितसँग जोडिएको अर्को संयोग भने लामो समयसम्म ओझेलमै रह्यो। महँगो गाडी होइन, डेढ लाखको सेतो कार!
निर्वाचित भएपछि अध्यक्ष ज्ञवालीले आफू चढ्नका लागि महँगो गाडी खरिद गर्ने चाहना राखेनन्। बरु पालिकाको आर्थिक भार कम गर्ने सोच बनाए। त्यसका लागि उनले अर्थ मन्त्रालयमा पत्राचार गर्दै भन्सार कार्यालयबाट सहुलियत मूल्यमा उपलब्ध हुन सक्ने गाडी रुरुक्षेत्र गाउँपालिकाका लागि मिलाइदिन अनुरोध गरे।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनको पहलमा पालिकालाई सहुलियतमा गाडी उपलब्ध हुने व्यवस्था मिल्यो। त्यसपछि पालिकाका प्रशासन शाखा प्रमुख रामप्रसाद ज्ञवाली गाडी खरिदका लागि वीरगञ्ज भन्सार कार्यालय पुगे।
सामान्यतया ४०–५० लाख रुपैयाँ पर्ने गाडी डेढ लाख रुपैयाँमा प्राप्त हुने भएपछि पालिकाको सम्पत्तिमा गाडी थपिने र आर्थिक भारसमेत कम हुने भयो। अध्यक्ष ज्ञवालीका लागि यो केवल गाडी प्राप्त हुनु मात्रै थिएन, सार्वजनिक सम्पत्तिको सदुपयोग गर्ने एउटा अवसर पनि थियो।
गाडी पालिकामा आयो। तर त्यसपछि अर्को रोचक पक्ष सुरु भयो। चालक पनि राखेनन्, आफैँ चलाए गाडी!
गाडी आएपछि चालक नियुक्त गर्नुपर्ने सामान्य अभ्यासलाई समेत अध्यक्ष ज्ञवालीले पछ्याएनन्। उनले आफैँ गाडी चलाउन थाले। यसरी पछिल्ला तीन वर्षदेखि उनी त्यही सेतो कार चढ्दै आएका छन्।
चालकको तलबमा लाग्ने खर्च पनि पालिकाले व्यहोर्नुपरेन। गाडी खरिदमा सहुलियतखो, चालकको तलबमा बचत र अन्य खर्चमा समेत मितव्ययिता अपनाउने उनको प्रयासले पालिकालाई आर्थिक भार कम गर्न सहयोग पुगेको छ। तर यो कारको वास्तविक रोचक कथा त अझै बाँकी नै थियो।
जब गाडीको नम्बर हेर्दा आफैँ छक्क परे अध्यक्ष!
गाडी चढ्न थालेको डेढ–दुई वर्षसम्म अध्यक्ष ज्ञवालीलाई आफ्नो गाडीको नम्बर र निर्वाचनको मतान्तरबीच कुनै सम्बन्ध छ भन्ने ख्यालै भएन। केही महिनाअघि एकपटक गाडीको नम्बर हेर्दा उनको ध्यान १२७७ मा पुग्यो। त्यसपछि उनलाई आफ्नो चुनावी नतिजा सम्झना भयो।
चुनावमा आफूले प्रतिस्पर्धीलाई पछि पारेको मतान्तर पनि १ हजार २ सय ७७ नै थियो। अनि गाडीको नम्बर पनि १२७७ ! उनलाई यो संयोगले आश्चर्यचकित बनायो।उनको भनाइमा गाडी खरिद गर्न आफू वीरगञ्ज गएका थिएनन्।
प्रशासन शाखा प्रमुख रामप्रसाद ज्ञवाली गएका थिए। न आफूले गाडीको नम्बर रोज्न लगाएका थिए, न प्रशासन प्रमुखले नै त्यस्तो कुनै नम्बर छनोट गरेका थिए।
नम्बर कसैले रोजेको थिएन, तर संयोगले चुनावी जितको मतान्तरसँग ठ्याक्कै मेल खायो।
त्यसपछि अध्यक्ष ज्ञवालीले १२७७ लाई आफ्नो भाग्यशाली अंकका रूपमा लिन थालेका छन्। यो संयोगबारे धेरैलाई जानकारीसमेत छैन। थाहा पाउनेहरू भने अचम्म मान्ने गरेका छन्। संयोगले चर्चा पायो, मितव्ययिताले दिन्छ वास्तविक परिचय!
जनप्रतिनिधि भएपछि महँगा गाडी, सुविधा र सवारीसाधनको प्रयोगलाई प्रतिष्ठासँग जोड्ने प्रवृत्ति पनि देखिन्छ। तर अध्यक्ष ज्ञवालीको यो प्रसंगले सार्वजनिक पदमा बसेका व्यक्तिले व्यक्तिगत सुविधाभन्दा संस्थाको आर्थिक भारलाई प्राथमिकता दिन सक्ने एउटा उदाहरण प्रस्तुत गर्छ।
अवश्य पनि, एउटा सस्तो गाडी चढ्नु वा आफैँ गाडी चलाउनु मात्रै विकासको मापन होइन। पालिकाको विकास बजेटको सदुपयोग, सेवा प्रवाह, पारदर्शिता र नागरिकले पाएको सुविधाले नेतृत्वको वास्तविक मूल्याङ्कन गर्छ।
अध्यक्ष ज्ञवालीलाई चिनाउने १२७७ को संयोग एउटा रोचक कथा हुन सक्छ। तर सार्वजनिक पदमा बसेको व्यक्तिका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको जनताको विश्वास र सार्वजनिक स्रोतको जिम्मेवार प्रयोग नै हो।
चुनावमा १,२७७ मतको अग्रता, गाडीमा पनि १२७७ नम्बर। संयोगले उनलाई एउटा रोचक परिचय दिएको छ। अब त्यो परिचयले एउटा कुशल विकास प्रेमी युवा नेताको परिचय पनि दिएको छ । उनी जिल्लाका १२ पालिका मध्ये दुई कार्यकाल कै सबै भन्दा कम उमेरका पालिका अध्यक्ष हुन । उमेर कम विकास प्रगतिमा अब्बल पालिका अध्यक्ष रहेको उनी समर्थकहरुको भनाई छ ।
…….
पोस्ट मिति : ०८३ कार्तिक ३० गते
समय : १६.५० बजे
….
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









