Smoking Causes Cancer

देउडा गायक प्रेम कोलीको संयोग : ‘फूलमाला’बाट सुरु भएको गायन यात्रा, फूलमाला लगाउने दिन तिहारमै अन्त्य !



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

बैतडी । सुदूरपश्चिमको मौलिक लोकसंस्कृति देउडा गीतमार्फत आफ्नो पहिचान बनाएका बैतडीका गायक प्रेम कोलीको उपचारका क्रममा निधन भएको छ। भारतमा रोजगारी गर्दै आएका ४३ वर्षीय कोलीको शुक्रबार राति उपचारकै क्रममा निधन भएको हो।

बैतडीको पाटन नगरपालिका–३, गुजर घर भएका कोली रोजगारीका सिलसिलामा परिवारसहित भारतको गोविन्दगढमा बस्दै आएका थिए। त्यहाँ उनले फलफूल पसल सञ्चालन गर्दै आएका थिए।

गत कात्तिक २२ गते लक्ष्मीपूजाको दिन पसलको काम सकेर स्कुटरमा कोठातर्फ फर्किने क्रममा उनलाई अज्ञात गाडीले ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी फरार भएको र स्थानीयले बेहोस अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको परिवारको भनाइ छ।

सिंचाई
Forest
Ad.

सुरुमा स्थानीय अस्पताल पुर्‍याइएका उनलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि गोविन्दगढस्थित राजेन्द्र अस्पतालमा लगिएको थियो। टाउको र छातीमा गम्भीर चोट लागेका कोलीको उपचारकै क्रममा शुक्रबार राति निधन भएको विभिन्न  संचारमाश्यमलाई  उनका दाजु रमेश कोलीले बताएका छन्।

‘फूलमाला’बाट सुरु भएको देउडा यात्रा

प्रेम कोलीको सांगीतिक यात्रा केवल मनोरञ्जनका लागि गीत गाउने प्रयास थिएन। रोजगारीका लागि परिवारसहित भारतमा बस्नुपरे पनि आफ्नो जन्मभूमि, भाषा र सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिप्रतिको मोहले उनलाई गीत–संगीतसँग जोडिरह्यो।

सुदूरपश्चिम अनलाइनमा २०७४ साल असार ७ गते प्रकाशित उनको परिचयात्मक सामग्रीअनुसार कोलीले रिमा रेकर्डिङमार्फत गायिका बसन्ती भट्टराईसँग स्वर दिएर तयार पारेको पहिलो क्यासेट एल्बम ‘फूलमाला’बाट सांगीतिक यात्रा सुरु गरेका थिए।

Awareness by SKF

उक्त सामग्रीमा उनले सातवटा क्यासेट र तीनवटा अडियोमार्फत १० गीतमा स्वर दिएको उल्लेख छ। उनका गीतका रूपमा ‘धासकाटे सुर्नया छाल’, ‘जनगया मधेस तिर’, ‘ओ मेरा पहाड’, ‘जान्छु इजु परदेश’, ‘मेरी सुवा’, ‘खोलीका बग्ने पानी’, ‘चकमक रिवन’, ‘फूल गुराँस’, ‘लरके जोवन’ र ‘छमछम नाचिदे’ उल्लेख गरिएका छन्।

सांगीतिक क्षेत्रमा पर्याप्त आम्दानी नभए पनि नाम र संस्कृति जोगाउन आफू गायनमा लागिरहेको उनको भनाइ उक्त परिचयात्मक सामग्रीमा समेटिएको थियो। पहिले क्यासेट बिक्रीबाट लगानी उठ्ने गरे पनि पछिल्लो समय लगानीसमेत फिर्ता नआउने अवस्था रहेको उनले बताएका थिए।

आर्थिक लाभभन्दा आफ्नो कला र संस्कृतिको निरन्तरताका लागि गीत–संगीतमा लागेका कोलीको यात्रा सहज थिएन। परदेशमा पसिना बगाएर परिवार पाल्नुपर्ने बाध्यताबीच पनि उनी देउडा गीतमार्फत आफ्नो क्षेत्रको भाषा र मौलिकता चिनाउने प्रयासमा थिए।

परदेशको रोजगारी, परिवारको जिम्मेवारी

भारतको गोविन्दगढमा फलफूल पसल सञ्चालन गरेर परिवारको खर्च धान्दै आएका कोलीको निधनले परिवारलाई ठूलो संकटमा पारेको छ। उनका श्रीमती र चार छोराछोरी छन्। परिवारको मुख्य आर्थिक आधार रहेका उनको निधनपछि आश्रित परिवारको भविष्य थप कठिन बनेको छ।

दुर्घटनामा गम्भीर घाइते भएपछि उपचार खर्च जुटाउन कठिनाइ भएको भन्दै आफन्तले सहयोग अभियान सञ्चालन गरेका थिए। निधनपछि पनि परिवारको सहयोगका लागि उक्त अभियानलाई निरन्तरता दिइएको समाजसेवी प्रेमसिंह भाटले बताएका छन्।

एउटा कलाकारले जीवनयापनका लागि परदेशमा पसिना बगाउँदै आफ्नो मौलिक कला र संस्कृतिका लागि स्वर दिइरह्यो। तर उपचारकै क्रममा उनको जीवनयात्रा टुङ्गियो।

प्रेम कोलीको निधनले परिवारलाई मात्रै होइन, देउडा गीत–संगीतमार्फत सुदूरपश्चिमको लोकसंस्कृति जोगाउन प्रयासरत सांगीतिक क्षेत्रलाई पनि क्षति पुगेको छ। उनले स्वर दिएका गीत र सांगीतिक योगदानले उनलाई सम्झाइरहनेछन्।
लोक देउडा गायक प्रेम कोलीप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

 

…..

पोस्ट मिति : २०८३ कात्तिक २८ गते
समय : दिउँसो ३ बजे  

…….

समाचार श्रोत : सगुन  खबर 

प्रस्तुति ; प्रेम सुनार  

……..
ओझेलका खबर — खबर भित्रको खबर
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो