गुल्मी। नेपालका चारधाममध्ये एकधामका रूपमा मानिने पवित्र रुरुक्षेत्र धामको रिडीमा यस वर्ष माघ महिनाभर महास्नान कार्यक्रम आयोजना गरिने भएको छ।
गत कात्तिक १५ गते रिडीमा बसेको सरोकारवालाहरूको बृहत् बैठकले यस्तो निर्णय गरेको रुरुक्षेत्रगाउँपालिकाका कर्मचारी दामोदर ज्ञवालीले जानकारी दिएका छन्।
आजदेखि गुल्मीको सदरमुकाममा सुरु भएको जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयहरूको वार्षिक समीक्षा गोष्ठीमा ज्ञवालीले उक्त जानकारी गराएका हुन्।
गुल्मी जिल्लाका सबै स्थानीय तह, सरकारी निकाय तथा सरोकारवालाहरूलाई महास्नान कार्यक्रम सफल पार्न साझा दायित्वबोध गराउने उद्देश्यले गाउँपालिकाले यसबारे जानकारी गराएको उनले बताए।
उनका अनुसार गुल्मीको रुरुक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा रुरुधामसँग सम्बन्धित सरोकारवालाहरूको संयुक्त बैठकले माघ १ गतेदेखि २९ गतेसम्म महास्नान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको संयोजकत्वमा रुरुक्षेत्र महास्नान मूल आयोजक समिति गठन गरेको छ। समितिमा तीनवटै जिल्लाका सम्बन्धित पालिका प्रमुख सदस्य रहनेछन् भने जिल्ला समन्वय समितिका प्रमुखहरू संरक्षण समितिमा रहने व्यवस्था गरिएको छ।
त्यस्तै विभिन्न १६ वटा उपसमिति समेत गठन भएका छ्न ।
यसअघि रिडीमा साताव्यापी माघे सङ्क्रान्ति मेला आयोजना हुँदै आएकोमा यस वर्ष भने महिनाभर महास्नान कार्यक्रम सञ्चालन गर्न लागिएको हो। तीन जिल्लाको साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा रहेको रुरुक्षेत्रको महत्त्वलाई थप उजागर गर्दै कार्यक्रमलाई भव्य बनाउन मूल आयोजक समितिले सबै पक्षको सहभागिताका लागि आग्रह गरेको छ।
कालीगण्डकी करिडोरको जक्सन तथा गुल्मी जिल्लाको प्रवेशद्वारका रूपमा रहेको रिडीलाई केन्द्रमा राखेर रेसुङ्गा, धुर्कोट, मालिका र मदाने हुँदै प्युठानको स्वर्गद्वारीसम्मलाई एउटै धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्ने लक्ष्यसमेत समितिले लिएको छ। यसबाट रुरुधामलाई धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, लामाचौरमा निर्माणाधीन रामेश्वर मन्दिर, विष्णु मन्दिरमा नियमित पूजा सञ्चालन, पाल्पाको तानसेन नगरपालिका–१४ मा अवस्थित प्रसिद्ध ऋषिकेश मन्दिर, स्याङ्जास्थित हनुमानजी तथा मृगुतुङलगायत रुरुक्षेत्र आसपासका धार्मिक तथा पर्यटकीय स्थलहरूको समग्र विकासमा महास्नान कार्यक्रमले टेवा पुर्याउने आयोजक रुरुक्षेत्र गाउँपालिकाको अपेक्षा छ।
‘जाऔँ रुरुक्षेत्र रिडी, महास्नानले चढौँ मुक्तिको सिँढी’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महास्नान कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन गुल्मीका १२ वटै स्थानीय तह, सरकारी निकाय तथा आम सरोकारवालासँग मूल आयोजक समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले वार्षिक समीक्षा गोष्ठीमार्फत अपिल गरेका छन्।
उनले यसै गोष्ठी महास्नान कार्यक्रमलाई सफल पार्न सिङ्गो जिल्लाको दायित्वबोध हुनुपर्ने निर्णय गरिदिन आग्रह समेत गरेका छ्न ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









