Smoking Causes Cancer

बचत घरदेखि राष्ट्रिय पहिचानसम्म : सिद्धबाबाको शैक्षिक यात्रा



ओझेलका खबर
१० घण्टा अगाडि


Place for ads

तम्घास । गुल्मीको तम्घास -खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालय अहिले लुम्बिनी प्रदेशकै उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ।

प्रधानाध्यापक सङ्घ नेपाल (प्यान), केन्द्रीय समितिले तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ को अवसरमा प्रदान गर्न लागेको राष्ट्रिय पुरस्कार तथा सम्मानका लागि सिद्धबाबा माध्यमिक विद्यालयलाई छनोट गरेको हो। छनोटमा परेको विद्यालयले आगामी मङ्सिर ४ गते पुरस्कार तथा सम्मानपत्र प्राप्त गर्नेछ।

तर, यो विद्यालयको सफलता प्रदेशस्तरीय छनोटमा मात्रै सीमित छैन। २०६० सालमै देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भएको सिद्धबाबा सन् २०२२ मा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (आईएसए) प्राप्त गर्नसमेत सफल भएको थियो।

सिंचाई
Forest
Ad.

आज भव्य भवन, बस सेवा, विभिन्न शैक्षिक कार्यक्रम र सुविधासहित हजारौँ विद्यार्थीको भविष्य निर्माण गरिरहेको सिद्धबाबाको यात्रा भने एउटा सानो बचत घरबाट सुरु भएको थियो।
    विद्यालयका संस्थापक प्रधानाध्यापक तिलबहादुर थापाका अनुसार उनले २०२२ सालमा तत्कालीन रेसुङ्गा प्राथमिक विद्यालयको कक्षा १ र २ को सेक्सन मागेर टुनिखोलास्थित बचत घरमा स्वयंसेवी शिक्षकका रूपमा पढाउन सुरु गरेका थिए। त्यतिबेला करिब ५०–६० जना विद्यार्थी थिए। रेसुङ्गा माध्यमिक विद्यालयका शिक्षक उत्तमराज मरासिनी पनि त्यहाँ आबद्ध थिए।

थापाले आफ्नै पहलमा सुरु गरेको पठनपाठनलाई स्थानीय समुदायले विस्तारै अपनत्व लिँदै गयो। २०४३ सालमा रेसुङ्गा माध्यमिक विद्यालयको शाखाका रूपमा मात्र नराखी आफ्नै छुट्टै विद्यालय स्थापना गर्न समुदायले जोड गरेपछि पुस १ गते सिद्धबाबा प्राथमिक विद्यालय स्थापना गरिएको थियो। यसरी लामो समयदेखि समुदायमा चल्दै आएको पठनपाठनले छुट्टै विद्यालयको स्वरूप पायो।
    विद्यालय स्थापनाको पृष्ठभूमिमा भारतीय सेनाबाट अवकाश प्राप्त स्थानीय लाहुरेहरूको पहल र समुदायको सहयोग महत्त्वपूर्ण थियो। मगर तथा दलित समुदायका बालबालिकालाई शिक्षाको अवसर दिलाउने उद्देश्यले सुरु भएको यो अभियानमा स्थानीयको श्रम, सहयोग र चन्दा जोडिँदै गयो। संस्थापक प्रधानाध्यापक थापाले २७ वर्ष विद्यालयमा अध्यापन गरे। तीमध्ये २२ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाले।

थापाका अनुसार उनले २०६७ सालमा प्रधानाध्यापकको जिम्मेवारी डोरविक्रम श्रीसलाई हस्तान्तरण गरे। २०६९ सालमा अनिवार्य अवकाश लिए पनि विद्यालयको श्रीवृद्धिमा अहिले पनि हातेमालो गर्दै आएका छन्।

एउटा सामान्य बचत घरबाट सुरु भएको विद्यालयले आजको अवस्था हासिल गर्नुमा आफू मात्रै नभई समुदाय र विद्यालय परिवारका धेरै व्यक्तिको योगदान रहेको उनको भनाइ छ।
विद्यालयको शैक्षिक विस्तारसँगै कक्षा थपिँदै गए।

Awareness by SKF

२०५५ सालदेखि विद्यालयले तत्कालीन एसएलसी परीक्षामा सहभागी हुन थालेको थियो। त्यसयता परीक्षाको नतिजामा विद्यालयले निरन्तर राम्रो उपलब्धि हासिल गर्दै आएको छ। २०६० सालमा सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत हुनु सिद्धबाबाको इतिहासमा महत्त्वपूर्ण उपलब्धि बन्यो।

विद्यालयले सन् २०२२ मा बेलायती काउन्सिलबाट प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कारसमेत प्राप्त गरेको थियो। यसले सिद्धबाबाको पहिचान स्थानीय र राष्ट्रिय तहमा मात्रै सीमित नराखी अन्तर्राष्ट्रिय शैक्षिक अभ्याससँग पनि जोड्न मद्दत गर्‍यो।

२०६७ सालदेखि विद्यालयको नेतृत्व सम्हाल्दै आएका प्रधानाध्यापक डोरविक्रम श्रीस विद्यालयको अहिलेको सफलतालाई कुनै एक व्यक्तिको योगदानका रूपमा मात्र हेर्न नहुने बताउँछन्। उनका अनुसार विद्यालय यहाँसम्म आइपुग्नु शिक्षक, कर्मचारी, अभिभावक र समुदायसहितको सामूहिक मेहनत तथा टिमवर्कको प्रतिफल हो।

विद्यालयले अहिले कानुन सङ्काय र होटल व्यवस्थापन विषयसमेत अध्यापन गराउँदै आएको छ। विद्यार्थी सङ्ख्याका हिसाबले गुल्मी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमध्ये सबैभन्दा अगाडि रहेको विद्यालयको दाबी छ। हाल यहाँ एक हजार पाँच सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यालयले शिक्षक तथा कर्मचारी गरी ७६ जनालाई रोजगारी दिएको विवरण पनि विद्यालयले उपलब्ध गराएको छ। पहाडी जिल्ला गुल्मीका धेरै सामुदायिक विद्यालय विद्यार्थी सङ्ख्या घट्ने चुनौतीसँग जुधिरहेका बेला सिद्धबाबामा भने विद्यार्थीको आकर्षण बढ्दो छ।

विज्ञान प्रयोगशाला, शैक्षिक सामग्री, पुस्तकालय, यातायातलगायतका सुविधाले विद्यालयलाई थप आकर्षक बनाएको छ। ठूला सहरका महँगा निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक वातावरण निर्माण गर्नु पनि सिद्धबाबाको विशेषता बनेको छ।

यति धेरै उपलब्धि हासिल गरे पनि आफूहरू अझै सन्तुष्ट नरहेको प्रधानाध्यापक श्रीस बताउँछन्। विद्यालयलाई अझ राम्रो बनाउन थप मेहनत गर्नुपर्ने उनको भनाइ छ। उनको यो अभिव्यक्तिले विद्यालयको आगामी यात्राप्रतिको अपेक्षा र प्रतिबद्धता झल्काउँछ।

हिजो टुनिखोलाको सानो बचत घरमा करिब ५०–६० जना बालबालिकालाई पढाउन सुरु गरिएको अभियान आज एक हजार पाँच सय ५० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा रूपान्तरण भएको छ। समुदायको पहलबाट सुरु भएको यो यात्रा संस्थापकको समर्पण, शिक्षकको मेहनत, नेतृत्वको निरन्तरता, कर्मचारीको भूमिका र अभिभावकको विश्वाससँग जोडिएको छ।

बचत घरबाट सुरु भएको सिद्धबाबाको यात्रा आज राष्ट्रिय पुरस्कार, अन्तर्राष्ट्रिय सम्मान र प्रदेशस्तरीय उत्कृष्ट छनोटसम्म आइपुगेको छ। यो केवल एउटा विद्यालयको सफलता होइन, सामुदायिक एकता र सामूहिक प्रयासले शिक्षाको क्षेत्रमा ल्याउन सक्ने परिवर्तनको उदाहरण पनि हो।
…………
प्रकाशित मिति / समय : मङ्गलबार १७ कार्तिक ०८३, दिउँसो १२.१५
…………..
ओझेलका खबर — खबर भित्रको खबर
……………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो