काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको २४ घण्टाको सवारी दुर्घटना विवरणअनुसार लुम्बिनी प्रदेशमा ३ जना, मधेश प्रदेशमा ४ जना, कोशी प्रदेशमा २ जना र बागमती प्रदेशमा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सबैभन्दा धेरै घाइते बागमती प्रदेशमा भएका छन् । बागमतीमा ८० जना घाइते हुँदा कोशी प्रदेशमा ४२, मधेशमा ३८, लुम्बिनीमा ३२, गण्डकीमा ५ र कर्णाली प्रदेशमा ३ जना घाइते भएका छन् ।
विस्तृत विवरणअनुसार मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उदयपुरमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सुनसरीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।सर्लाहीमा ट्रकले ईभी गाडीलाई ठक्कर दिँदा ईभीमा सवार एक जनाको मृत्यु भएको छ ।
रौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ललितपुरमा मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको विवरणमा उल्लेख छ ।
बाँकेमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।एकै दिन देशका विभिन्न जिल्लामा भएका यी दुर्घटनाको तथ्यांकले सडक सुरक्षाको चुनौती फेरि देखाएको छ ।
चाडपर्वको समयमा सवारी चाप बढ्ने भएकाले तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु तथा चालकको लापरबाही नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









