Smoking Causes Cancer

देउवाको असोज १८ : २४ वर्षपछि फेरि उस्तै राजनीतिक संयोग !



ओझेलका खबर
४३ मिनेट अगाडि


Place for ads

असोज १८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि संयोग मात्रै होइन, राजनीतिक उतारचढावको एउटा विशेष मिति बनेको छ। २४ वर्षअघि यही असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए।

आज, २०८३ असोज १८ गते, नेपाली कांग्रेसको १५औँ महाधिवेशन पनि यही दिनबाट सुरु हुँदैछ। २४ वर्षको अन्तरालमा नेपालको राजनीति धेरै फेरिएको छ। सत्ता समीकरण फेरिए, राजतन्त्र समाप्त भयो, गणतन्त्र आयो र स्वयं देउवा पनि पटक–पटक प्रधानमन्त्री हुँदै नेपाली कांग्रेसको सभापतिसम्म पुगे।

 

सिंचाई
Forest
Ad.

तर, उनको राजनीतिक यात्रामा असोज १८ फेरि एकपटक अर्थपूर्ण मिति बनेर आएको छ।  २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले देउवा नेतृत्वको सरकारलाई बर्खास्त गरेका थिए। निर्धारित समयमा निर्वाचन गराउन नसकेको भन्दै उनलाई पदबाट हटाइएको थियो। त्यसपछि राजाले कार्यकारी अधिकारसमेत आफ्नो हातमा लिएका थिए।

तर, देउवाको असोज १८ मात्रै होइन, उनको राजनीतिक जीवनमा सिंगो असोज महिना नै नफापेको देखिन्छ।
ठ्याक्कै २४ वर्षअघि असोज महिनामै निर्वाचन आयोगबाट ‘आधिकारिकता’ नपाएपछि ‘रुख’ छाडेर ‘कलश’ बोक्दै राजनीतिक यात्रामा हिँडेका थिए, शेरबहादुर देउवा र उनको समूह। यतिखेर तत्कालीन ‘कल–झगडा’ नेपाली कांग्रेसमा ‘रिल’ घुमेझैँ लाग्दैछ।

२०५९ सालमा देउवा र गिरिजाप्रसाद कोइरालाबीचको विवाद पार्टी विभाजनसम्म पुगेको थियो। देउवा पक्षले छुट्टै महाधिवेशन गरी उनलाई सभापति घोषणा गरे पनि निर्वाचन आयोगले मूल कांग्रेसको आधिकारिकता देउवा पक्षलाई दिएन। त्यसपछि देउवा पक्षले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्‍यो र ‘कलश’ चुनाव चिह्न लिएर अलग राजनीतिक यात्रा अघि बढायो।

देउवाको हकमा परिस्थिति त्यस्तो बनेन। निर्वाचन आयोगले २०५९ असोज १ गते गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसलाई अन्तरिम मान्यता दिने निर्णय गर्‍यो। आयोगले सम्बन्धित प्रमाण बुझी अन्तिम निर्णयमा पुग्न समयाभाव रहेको भन्दै, महाधिवेशन प्रतिनिधिहरूको विभाजन करिब बराबर देखिएको अवस्थामा पछि निर्णय गर्दा ठहरेबमोजिम हुने गरी कोइराला नेतृत्वको कांग्रेसलाई मान्यता दिएको थियो।

Awareness by SKF

आयोगको त्यो अन्तरिम निर्णयमा भनिएको थियो—
‘सम्बद्ध प्रमाणहरू बुझी निर्णयमा पुग्न समयाभाव रहेकोले यथास्थितिमा हेर्दा महाधिवेशन प्रतिनिधिहरूको विभाजन बहुसंख्यामा र अल्पसंख्याको नभई करिब करिब बराबरकै विभाजन देखिएबाट पछि निर्णय गर्दा ठहरेबमोजिम हुनेगरी गिरिजाप्रसाद कोइरालाको नेपाली कांग्रेसलाई मान्यता दिइ कायम राख्ने।’

त्यसपछि देउवा र उनको समूहले ‘रुख’बाट अलग भएर ‘कलश’ समाते। तर त्यो ‘कलश यात्रा’ पनि लामो समय टिकेन। २०६४ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच पुनः एकता भयो र देउवा मूल कांग्रेसमै फर्किए।

यही पुरानो घटनाको राजनीतिक ‘रिल’ आज फेरि घुमेको अनुभूति हुन्छ। फरक यति हो—त्यतिबेला देउवा ‘रुख’ छाडेर ‘कलश’ बोक्दै अलग भएका थिए; अहिले फेरि कांग्रेसभित्रै विवाद, अधिकारिता र नेतृत्वको प्रश्न उठिरहेको छ।
त्यसैले प्रश्न उठ्छ—देउवा र उनको समूह फेरि ‘कलश’ नै बोक्नेतिरै हो त ?

वा, उनीहरू फेरि नेपाली कांग्रेसमै ‘फुर्को जोड्ने’ अभियानमा लागेका हुन् ? इतिहासमा फर्केर हेर्दा, २०५९ को त्यो विभाजन अन्ततः स्थायी हुन सकेन। ‘कलश’ बोकेर छुट्टिएको कांग्रेस पाँच वर्षपछि फेरि ‘रुख’मै फर्कियो। आजको राजनीतिक परिस्थिति भने फरक छ। त्यसैले इतिहास हुबहु दोहोरिन्छ कि नयाँ अध्याय लेखिन्छ भन्ने निष्कर्ष अहिले नै निकाल्नु हतार हुनेछ।

तर एउटा संयोग भने अस्वीकार गर्न सकिँदैन—२४ वर्षअघि असोजले देउवालाई सत्ताबाट बाहिर पुर्‍याएको थियो, आजको असोजले उनको लामो पार्टी नेतृत्वको एउटा अध्यायलाई फेरि निर्णायक मोडमा ल्याइदिएको छ।त्यसैले देउवाको राजनीतिक यात्रामा असोज १८ मात्रै होइन, सिंगो असोज महिना नै पटक–पटक निर्णायक बनेको देखिन्छ।

…………………………….
( स्रोत : बाह्रखरी, कान्तिपुर, अनलाइनखबर तथा निर्वाचन आयोगसम्बन्धी उपलब्ध अभिलेख। )
ओझेलका खबर – खबर भित्रको खबर
मिति : २०८३ असोज १८
पोष्ट समय : अपरान्ह १६.२५  
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगर्नुहोला।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो