Smoking Causes Cancer

गुल्मी कांग्रेस अधिवेशन : पुस्तान्तरणको संकेत, अब परीक्षाको पालो



ओझेलका खबर
११ मिनेट अगाडि


Place for ads

केही वर्षअघिका अधिवेशनहरू नियालेका यी आँखाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि असोज १४ गतेदेखि भएका गुल्मीका दुवै क्षेत्रका अधिवेशन पनि नियाल्यो। विगतका अधिवेशनमा सेतै फुलेका कपाल र पाका अनुहारहरू उम्मेदवार र मतदाताका रूपमा बढी देखिन्थे। यसपटक दृश्य केही फरक थियो—युवाहरूको उपस्थिति उल्लेख्य रूपमा बढेको देखियो।

यो केवल अनुहार परिवर्तनको कुरा होइन। यो कांग्रेसभित्र पुस्तान्तरणको एउटा संकेत हो।  क्षेत्र नम्बर १ मा सुस्मा पाण्डेजस्ता करिब २५ वर्ष आसपासका युवा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेर विजयी भए। क्षेत्र नम्बर २ मा पनि समिपा सुनारजस्ता युवा पुस्ताको उपस्थिति देखियो।

क्षेत्र नम्बर १ बाट युवा, प्राविधिक, व्यवसायी, पत्रकार, दलित, आदिवासी जनजाति, अपाङ्गता, श्रमिक तथा विभिन्न पेशागत क्षेत्रबाट प्रतिनिधित्व भएको देखिन्छ। क्षेत्र नम्बर २ मा पनि झविन्द्र पाण्डे, शिव भट्टराईजस्ता युवा व्यवसायी तथा पेशागत क्षेत्रका प्रतिनिधि महाधिवेशन प्रतिनिधिका रूपमा आएका छन्।

सिंचाई
Forest
Ad.

सार्वजनिक  परिणामअनुसार क्षेत्र नं. १ बाट ४१ र क्षेत्र नं. २ बाट ४३ गरी ८४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। तर यहाँबाट एउटा गम्भीर प्रश्न उठ्छ—युवाहरू निर्वाचित हुनु मात्रै पुस्तान्तरण हो कि उनीहरूलाई निर्णय गर्ने ठाउँ पनि दिइनु पुस्तान्तरण हो?

मेरो विचारमा गुल्मी कांग्रेसको आगामी चुनौती यही हो।
झविन्द्र पाण्डेको विद्यार्थी राजनीतिदेखिको यात्रा होस् वा शिव भट्टराईको इन्जिनियरिङ पृष्ठभूमि, धर्मराज पाण्डेजस्ता युवा नेताको संगठनात्मक सक्रियता होस् वा इन्जिनियर अमृत ज्ञवाली, सिजन राना, तोमलाल पन्थीलगायत विभिन्न पेशा र क्षेत्रमा रहेका युवाको प्रतिनिधित्व—यी नामहरूले कांग्रेसको राजनीतिमा अब केवल परम्परागत राजनीतिक परिचय पर्याप्त नहुने संकेत गर्छन्।

पेशा, ज्ञान, प्रविधि, व्यवसाय र सामाजिक अनुभव बोकेका मानिस राजनीतिमा आउन थालेका छन्।  अझ महत्वपूर्ण कुरा, पुरानो पुस्ता विस्थापित भएको छैन। क्षेत्र नम्बर १ मा डा. चन्द्रकान्त भण्डारी, द्रोणबहादुर खत्री, अनन्तराम पौडेल, धनेन्द्र कार्की, डा. तुल्सीराम पाण्डे, श्रीप्रसाद भलामीलगायत अनुभवी नेताहरू पुनः महाधिवेशन प्रतिनिधि बनेका छन्।

क्षेत्र नम्बर २ मा खिलध्वज पन्थी, भुवनप्रसाद श्रेष्ठ, भगतसिंह खड्का, छन्दबहादुर पहराई, प्रेमनारायण भण्डारी, महेन्द्रप्रसाद भण्डारी, त्रैलोक्यप्रताप सेनलगायत अनुभवी नेताहरू निर्वाचित भएका छन्। यसलाई पुरानो पुस्ताको हार र नयाँ पुस्ताको जितका रूपमा मात्र बुझ्नु गलत हुनेछ। बरु यो अनुभव र ऊर्जाबीच सहकार्य गर्ने अवसर हो।

Awareness by SKF

पुरानो पुस्तासँग संगठन निर्माणको अनुभव छ। आन्दोलनको इतिहास छ। कठिन समय पार गरेको स्मृति छ। नयाँ पुस्तासँग प्रविधि छ, नयाँ सोच छ, बदलिएको समाज बुझ्ने क्षमता छ र राजनीतिको शैली बदल्ने चाहना छ। कांग्रेसले यी दुई शक्तिलाई आमनेसामने राखेर प्रतिस्पर्धा गराउनेभन्दा एउटै यात्रामा हिँडाउन सक्यो भने यसको परिणाम संगठनभित्र मात्रै होइन, समाजमा पनि देखिन सक्छ।

यसपटक क्षेत्र नम्बर २ को खुलातर्फ धर्मराज पाण्डेजस्ता ३३ वर्ष आसपासका युवा निर्वाचित हुनु पनि यही परिवर्तनको अर्को संकेत हो। विद्यार्थी राजनीतिबाट अघि बढेका युवा नेताहरू अब प्रतिनिधि बन्ने तहमा पुगेका छन्।तर युवाको काँधमा अब एउटा ठूलो जिम्मेवारी पनि थपिएको छ।

उमेरले युवा हुँदैमा राजनीति नयाँ हुँदैन। व्यवहार, विचार, काम गर्ने शैली र जनतासँगको सम्बन्ध पनि नयाँ हुनुपर्छ। युवाले पुराना नेताको आलोचना गरेर मात्र आफूलाई स्थापित गर्न सक्दैनन्। उनीहरूले आफूले के नयाँ दिन सक्छु भन्ने प्रमाणित गर्नुपर्छ। सामाजिक सञ्जालमा देखिने सक्रियता र जनताको दुःखमा देखिने सक्रियता एउटै कुरा होइन। निर्वाचन जित्नु एउटा उपलब्धि हो, तर जनताको विश्वास टिकाइराख्नु त्यसपछिको परीक्षा हो।

त्यसैगरी, पुराना नेताहरूका लागि पनि यसपटकको अधिवेशन एउटा सन्देश हो। कार्यकर्ताले अनुभवलाई अस्वीकार गरेका छैनन्, तर अनुभवसँगै नयाँ अनुहार र नयाँ क्षमताको माग पनि गरेका छन्। त्यसैले अब अनुभवी नेताहरूले युवालाई आफूभन्दा तलको पुस्ता भनेर हेर्ने होइन, आफूले तयार पार्नुपर्ने आगामी नेतृत्वका रूपमा हेर्नुपर्ने समय आएको छ।

क्षेत्र नम्बर २ मा भुवनप्रसाद श्रेष्ठ र खिलध्वज पन्थीजस्ता स्थापित नेताहरूको राजनीतिक प्रभाव, क्षेत्रीय राजनीतिमा देखिएको प्रतिस्पर्धा र नयाँ पुस्ताको प्रवेशलाई अलग–अलग घटनाका रूपमा मात्र हेर्नुभन्दा एउटै राजनीतिक चित्रभित्र हेर्न आवश्यक छ।

निर्वाचन परिणामले कसैको व्यक्तिगत लोकप्रियता वा भविष्यको अन्तिम फैसला गर्दैन; तर कार्यकर्ताले कसलाई विश्वास गरे भन्ने एउटा महत्वपूर्ण संकेत भने दिन्छ ।परिणामलाई त्यही दृष्टिले पढिनुपर्छ।

क्षेत्र नम्बर १ मा डा. चन्द्रकान्त भण्डारीले पुनः उल्लेख्य समर्थनसहित प्रतिनिधित्व पाउनु, उहाँसँगै अनन्तराम पौडेल, श्रीप्रसाद भलामी, धनेन्द्र कार्की, डा. तुल्सीराम पाण्डे, पारिश्वर ढकाल, जगदीश भट्टराई, मोतीलाल भण्डारीलगायत अनुभवी तथा युवा पुस्ताका नेताहरू आउनुले पनि गुल्मी कांग्रेसभित्र एउटै पुस्ताको एकाधिकारभन्दा मिश्रित नेतृत्वको अवस्था देखाएको छ।अब प्रश्न यो होइन कि को ठूलो नेता?
अबको प्रश्न हो—यी सबै नेताले गुल्मी कांग्रेसलाई कति ठूलो बनाउन सक्छन्?

अधिवेशनमा कसले कति मत ल्यायो भन्ने हिसाब केही समयपछि इतिहासको तथ्य बन्छ। तर अधिवेशनपछि कसले संगठन जोड्यो, कसले असन्तुष्ट कार्यकर्तालाई समेट्यो, कसले नयाँ पुस्तालाई अवसर दियो, कसले जनताको समस्या बोकेर हिँड्यो र कसले पार्टीलाई गुटभन्दा माथि उठाउन योगदान गर्‍यो—त्योचाहिँ इतिहासको मूल्याङ्कन बन्नेछ।
यसपटकको अधिवेशनले गुल्मी कांग्रेसलाई एउटा सुन्दर अवसर दिएको छ—अनुभव भएका नेताहरू र ऊर्जा भएका युवाहरूलाई एउटै टिममा उभ्याउने अवसर। युवा अगाडि आउनुपर्छ, तर अनुभवीलाई विस्थापित गरेर होइन।

अनुभवी नेताले नेतृत्व गर्नुपर्छ, तर युवालाई छेकेर होइन।
प्रतिस्पर्धा हुनुपर्छ, तर प्रतिस्पर्धापछि मन पनि मिल्नुपर्छ।
किनकि अधिवेशनको वास्तविक विजय निर्वाचनको दिन होइन, निर्वाचन सकिएपछि सुरु हुन्छ।

गुल्मी कांग्रेसले अब आफ्नो शक्तिको हिसाब मतपेटिकाबाट होइन, संगठनको एकता, जनतासँगको सम्बन्ध, कार्यकर्ताको सम्मान र आगामी पुस्ता तयार पार्ने क्षमताबाट गर्नुपर्ने समय आएको छ।

जिल्ला सभापति खिलध्वज पन्थीले यसपटकको अधिवेशन उत्साहजनक रहेको र ४० वर्षमुनिका करिब ४० प्रतिशत युवा नेतृत्वमा आएको बताउनुभएको छ। यो तथ्य सही हो भने त्यसलाई केवल गर्व गर्ने तथ्य बनाएर राख्ने होइन, अब जिम्मेवारीमा रूपान्तरण गर्ने चुनौती पनि त्यत्तिकै ठूलो छ।

गुल्मी कांग्रेसका लागि यो अधिवेशन एउटा चुनाव मात्र होइन—पुरानो अनुभव र नयाँ ऊर्जाबीच पुल बनाउने अवसर हो।
त्यो पुल बलियो बनाउन सके अधिवेशनको परिणाम कागजमा सीमित रहने छैन।

त्यसको प्रभाव गाउँका टोलसम्म पुग्नेछ  र अन्ततः, कांग्रेसको शक्ति अरूलाई कमजोर देखाएर होइन—आफूलाई निरन्तर सुधारेर बलियो बन्ने क्षमताबाट प्रमाणित हुनेछ।
-✍️ समीक्षक : प्रेम सुनार
ओझेलका खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो