ओझेलका खबर, बागलुङ।
जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै समाजमा घटेका गम्भीर अपराध र साइबर अपराधका घटनाहरूमा अनुसन्धान तीव्र पारिएको जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, बागलुङ नगरपालिका–८ मा १५ वर्षीया नाबालिग छोरीलाई ललाइफकाइ पटक-पटक जबर्जस्ती करणी गरेको अभियोगमा ‘बागलुङ ८ (ख)’ लाई जाहेरीका आधारमा पक्राउ गरी कानुनबमोजिम अनुसन्धान अघि बढाइएको छ।
त्यसैगरी, पर्वत जलजला गाउँपालिका–७ स्थायी घर भई बागलुङ नगरपालिका–३ बस्ने ३९ वर्षीय वीर बहादुर सुनारलाई साइबर अपराध र ब्ल्याकमेलिङको आरोपमा पक्राउ गरिएको छ।
आरोपीले एक महिलासँगको चिनजानका क्रममा खिचिएको किस गरेको तस्बिर देखाएर शारीरिक सम्पर्कको प्रस्ताव राखेको र नमानेमा तस्बिर सामाजिक सञ्जालमा हालेर बेइज्जत गरिदिने धम्की दिएका थिए।
पछि उक्त तस्बिर फेसबुकमा पोस्ट गरी बदनाम गराएपछि पीडितको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
भरुवा बन्दुक, लागूऔषध र फरार प्रतिवादी पक्राउ
प्रहरीले भदौ महिनामा अवैध हातहतियार नियन्त्रण अभियान अन्तर्गत १ नाले भरुवा बन्दुक ३ नाल र ३ गोला बरामद गरेको छ। यस्तै, १ केजी ५०० ग्राम गाँजा र ३८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरिएको छ। चालु मुद्दाका ८ जना र अदालतबाट कैद तथा जरिवाना तोकिएका ५ जना फरार प्रतिवादीहरूलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
१४ वटा महिला तथा बालबालिका सम्बन्धी मुद्दा दर्ता
भदौ महिनाभर जिल्लामा कुल १९ वटा मुद्दा दर्ता भएकामा १४ वटा मुद्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित रहेका छन्। यस्तै, आत्महत्यातर्फ ३ जनाले झुन्डिएर ज्यान गुमाएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार, जिल्लामा अपराध न्यूनीकरणका लागि सादा पोसाकमा प्रहरी परिचालन, क्राइम म्यापिङ र विद्यालय/समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









