दुबई, यूएई । यूएईमा रहेका इस्माली समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले स्थापना भएको इस्माली समाज यूएई ले आफ्नो प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम आगामी २८ जुन २०२६, आइतबार दिउँसो १:०० बजे, गाउबेसी रेष्टुरेन्ट, बुर दुबई, यूएई मा आयोजना गर्ने भएको छ।
संस्थाका अध्यक्ष मान बहादुर कुँवर ले अधिवेशन केवल नेतृत्व चयनको कार्यक्रम मात्र नभई यूएईमा रहेका सम्पूर्ण इस्माली समुदायलाई एउटै साझा मञ्चमा जोड्ने ऐतिहासिक अवसर भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यूएईमा रोजगार, व्यवसाय, अध्ययन तथा विभिन्न पेशामा संलग्न इस्माली दाजुभाइ तथा दिदीबहिनीहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ। यस्तो अवस्थामा समुदायबीचको एकता, सहकार्य र आपसी सद्भावलाई अझ सुदृढ बनाउन यो अधिवेशन महत्वपूर्ण कोशेढुंगा बन्नेछ। समाजले भविष्यमा शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग, सांस्कृतिक संरक्षण तथा युवाहरूको नेतृत्व विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्नेछ।”
त्यसैगरी समाजका महासचिव मनोज ज्ञवालीले यूएईमा हाल ३५० भन्दा बढी इस्माली समुदायका सदस्यहरू विभिन्न क्षेत्रहरूमा कार्यरत तथा अध्ययनरत रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, “विदेशी भूमिमा रहेर पनि आफ्नो पहिचान, संस्कृति र सामाजिक सम्बन्धलाई जगेर्ना गर्नु हाम्रो साझा दायित्व हो। इस्माली समाज यूएई स्थापना भएदेखि नै समुदायका हरेक सदस्यको सुख-दुःखमा साथ दिने, नयाँ आउने सदस्यहरूलाई आवश्यक सहयोग गर्ने तथा सामाजिक एकतालाई मजबुत बनाउने अभियानमा सक्रिय रूपमा लागिरहेको छ। प्रथम अधिवेशनले संस्थालाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विश्वास लिएका छौं।”
अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदन, आगामी कार्ययोजना, नयाँ नेतृत्व चयन लगायत विविध विषयमा छलफल गरिने जनाइएको छ। साथै कार्यक्रममा इस्माली कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक राधिका बिष्ट र कमला कुँवर ले यूएईमा बसोबास गर्ने सम्पूर्ण इस्माली समुदाय, शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी तथा नेपाली समुदायका प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गर्नुभएको छ।
इस्माली समाज यूएईले स्थापना कालदेखि नै सामाजिक एकता, पारस्परिक सहयोग, सांस्कृतिक संरक्षण तथा समुदायको हितमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले भविष्यमा पनि समुदायका सदस्यहरूको हकहित, क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
“इस्मालीको शान, एकता, सद्भाव र सहकार्य हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रथम अधिवेशनलाई यूएईमा रहेका इस्माली समुदायको ऐतिहासिक तथा गौरवपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। आयोजकका अनुसार कार्यक्रममा उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










