Smoking Causes Cancer

Awareness Campaign

कृष्ण सेन ‘इच्छुक’: राज्यको बुटले भाँच्न खोजेको कलम, जसले हजारौँ कलम जन्मायो



प्रेम सुनार
१८ मिनेट अगाडि


Awareness

Place for ads

नेपाली इतिहासमा केही हत्या केवल व्यक्तिको हत्या हुँदैनन्, ती विचारमाथिको आक्रमण हुन्छन् । वाणीमाथिको दमन हुन्छन् । चेतनामाथिको युद्ध हुन्छन् । २३ वर्षअघि राज्यले एउटा यस्तै युद्ध लडेको थियो— एउटा कवि, पत्रकार, सांस्कृतिक योद्धा र भुइँमान्छेको आवाजविरुद्ध । त्यो नाम थियो कृष्ण सेन ‘इच्छुक’ ।

उनलाई राज्यले गिरफ्तार गर्‍यो, हिरासतमा अमानवीय यातना दियो, हत्या गर्‍यो, शवसमेत गायब बनायो । तर राज्यले सायद एउटा कुरा बुझेन- शरीर मार्न सकिन्छ, विचार मार्न सकिँदैन । कलम भाँच्न सकिन्छ, शब्द सकिँदैनन् ।

कृष्ण सेनको हत्या केवल एउटा व्यक्तिको अन्त्य थिएन, त्यो नेपाली प्रगतिशील पत्रकारिता र जनपक्षीय साहित्यलाई डर देखाउने प्रयास थियो । महेन्द्र पुलिस क्लबको अँध्यारो हिरासतमा एउटा कविको शरीरमाथि बुट बजारियो, तर त्यही बुटको चोटबाट हजारौँ नयाँ कलम जन्मिए । आज पनि देशका गाउँ, बस्ती, सडक, आन्दोलन र वैकल्पिक सञ्चारमाध्यममा बोलिरहेका अनेकौँ आवाजहरूमा इच्छुकको प्रतिध्वनि सुनिन्छ ।

सिंचाई
Forest
Ad.

उनी केवल साहित्यकार थिएनन् । उनी जनताको पक्षमा उभिने साहस थिए । वर्गीय विभेदविरुद्ध बोल्ने चेतना थिए । उत्पीडितहरूको भाषा थिए । उनले लेखेका कवितामा आँसु थियो, विद्रोह थियो, प्रेम थियो र क्रान्तिको आगो थियो । उनका शब्दहरू सजिला थिए, तर ती शब्दभित्र सिंगो युगको पीडा बोल्थ्यो ।

पत्रकारितामा उनले सत्ता होइन, जनताको पक्ष रोजे । उनले कलमलाई पेशा होइन, संघर्षको औजार बनाए । त्यसैले उनको लेखाइ दरबारलाई प्रिय भएन । शासकलाई सधैं बन्दुकभन्दा विचारको डर बढी हुन्छ । किनभने बन्दुकले शरीर ढाल्छ, विचारले व्यवस्था ढाल्न सक्छ ।

आजको समयमा कृष्ण सेनलाई सम्झनु भनेको केवल श्रद्धाञ्जली दिनु मात्र होइन । यो समयको पत्रकारिता कता जाँदैछ भन्ने प्रश्न गर्नु पनि हो । जब मिडिया बजारको सेवक बन्दैछ, जब पत्रकारिता सत्ता र पैसाको वरिपरि घुम्न थालेको छ, त्यतिबेला इच्छुकको जीवनले एउटा कठोर प्रश्न सोधिरहेको छ— “पत्रकारिता जनताको पक्षमा छ कि शक्तिको ?”

उनले कहिल्यै ठूलो पद खोजेनन् । उनले नामभन्दा जिम्मेवारी रोजे । उनले सुविधाभन्दा संघर्ष रोजे । त्यसैले उनी मृत्यु पछि पनि जीवित छन् । किनकि केही मानिस शरीरले होइन, विचारले बाँच्छन् ।

Awareness by SKF

राज्यले उनको शव लुकाउन सक्यो, तर इतिहासबाट उनको नाम मेटाउन सकेन । बरु उनको रगतले नेपाली समाजमा प्रतिरोधको नयाँ अध्याय लेखिदियो । आज हजारौँ युवाका हातमा रहेका कलमहरू, क्यामराहरू र जनपक्षीय आवाजहरू कृष्ण सेनकै अधुरो यात्राका निरन्तरता हुन् ।

भुइँमान्छेको आवाज दबाउन खोजिएको त्यो दिन नेपाली इतिहासको कालो दिन थियो । तर त्यही दिनले एउटा सत्य पनि स्थापित गर्‍यो- कलमलाई हत्या गरेर विचारलाई समाप्त गर्न सकिँदैन ।

आज २४ औँ स्मृति दिवसमा महान सहिद कृष्ण सेन ‘इच्छुक’प्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →