गुल्मी: गुल्मी जिल्लाको एसईई २०८२ को नतिजाले एकातिर उत्साह थपेको छ भने अर्कोतिर शिक्षाको गुणस्तर र पहुँचबारे गम्भीर प्रश्न पनि उठाएको छ । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष जिल्लाबाट सामान्य तथा प्राविधिक धारतर्फ गरी कुल २४७५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीका शाखा अधिकृत इश्वरी प्रसाद पान्डेल्ले उपलब्ध गराएको तथ्यांक अनुसार सामान्य धारतर्फ २२९३ जना तथा प्राविधिक धारतर्फ १८२ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । जिल्लाको समग्र नतिजा हेर्दा सामान्य धारतर्फ ६८ दशमलव ६७नप्रतिशत र प्राविधिक धारतर्फ ७० दशमलव २७ प्रतिशत विद्यार्थीले सफलतापूर्वक अध्ययन पूरा गरेका छन् ।
तर, नतिजाको अर्को पाटो अझै चिन्ताजनक देखिन्छ । सामान्य धारतर्फ मात्रै १०४६ जना र प्राविधिक धारतर्फ ७६ जना विद्यार्थी “Incomplete” अर्थात् अपूर्ण नतिजामा परेका छन् । यो संख्या जोड्दा कुल ११२२ जना विद्यार्थी अझै पूर्ण शैक्षिक उपलब्धिबाट बाहिर रहेको देखिन्छ ।
४ जिपिए ल्याउने ६ विद्यार्थी
यस वर्ष गुल्मीबाट ६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । उनीहरूमा महेन्द्र माध्यमिक विद्यालय तम्घासकी अस्मिता पाण्डे, रिडी माध्यमिक विद्यालय रिडीकी मर्यादा पौडेल, शारदा माध्यमिक विद्यालय दिगाम–चन्द्रकोटका रीतिका गौतम, रेसुङ्गा ईङ्ग्लिस बोर्डिङ स्कूलका आरुषा श्रेष्ठ र खोमराज पन्थ तथा रेसुङ्गा माध्यमिक विद्यालय तम्घासकी दिक्ष्या पोखरेल रहेका छन् ।
यी विद्यार्थीको सफलताले जिल्लाको शैक्षिक क्षमतालाई उजागर गरे पनि समग्र तथ्यांकले भने अझै धेरै विद्यार्थी गुणस्तरीय उपलब्धिबाट टाढा रहेको संकेत गरेको छ ।
संख्या बढ्यो, गुणस्तरको प्रश्न कायमै
गुल्मीमा पछिल्ला वर्षहरूमा निजी विद्यालयको विस्तार, प्राविधिक शिक्षाप्रतिको आकर्षण र अभिभावकको बढ्दो सचेतनाका कारण एसईई उत्तीर्ण हुने संख्या बढ्दै गएको देखिन्छ । तर “Incomplete” को ठूलो संख्या, ग्रामीण क्षेत्रका विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव, प्रविधिमा असमान पहुँच तथा आर्थिक समस्याले धेरै विद्यार्थीलाई पछाडि पारिरहेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।
विशेषगरी दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अझै विषयगत शिक्षक अभाव, प्रयोगशाला तथा पुस्तकालयको कमजोरी र विद्यार्थी पलायनको समस्या कायमै रहेको गुनासो छ ।
अबको चुनौती : नतिजा मात्र होइन, दक्ष जनशक्ति
एसईई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई भविष्यको दक्ष जनशक्ति उत्पादन गर्ने आधार पनि हो । गुल्मीले यस वर्ष २४७५ जना जनशक्ति उत्पादन गरे पनि ती विद्यार्थीलाई उच्च शिक्षा, सीप र रोजगारीसँग जोड्न नसकिए यो उपलब्धि केवल तथ्यांकमा सीमित हुने खतरा छ ।
स्थानीय तह, विद्यालय, अभिभावक र राज्यले अब “पास प्रतिशत” भन्दा पनि “गुणस्तरीय शिक्षा” र “दक्ष जनशक्ति निर्माण” लाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता यो नतिजाले स्पष्ट देखाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










