११ फागुन, काठमाडौं । धादिङमा मध्यरातमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
राति करिब साढे १ बजेको समयमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौँडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो । त्यस्तै, नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।
मृत्यु भएका १७ जनाको शव घटनास्थलमै छ । राति भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ ।
घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।
घाइतेमध्ये ११ जना पुरुष, ११ जना महिला र दुई जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








