बागलुङ । नेकपा (एमाले) ले बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसी र क्षेत्र नं. २ बाट पार्टीकी केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उम्मेदवार चयन गरेको छ।
शनिबार सम्पन्न पार्टीको सचिवालय बैठकले क्षेत्र नं. १ बाट केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यसअघि निर्वाचन क्षेत्रीय समन्वय समितिले केसीसहित मनकुमारी केसी जिसी र इन्द्रलाल सापकोटालाई उम्मेदवारका रूपमा सिफारिस गरेको थियो।
त्यसैगरी, बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य चालिसेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। उक्त क्षेत्रबाट निर्वाचन क्षेत्रीय समन्वय समितिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो।
क्षेत्र नं. १ का उम्मेदवार केसी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन तथा २०७९ सालको प्रदेशसभा निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनेका थिए। दोस्रो संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार हरि बहादुर खड्कासँग पराजित भएका थिए भने २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापासँग पराजित भएका थिए।
त्यस्तै, क्षेत्र नं. २ की उम्मेदवार चालिसे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्दै पराजित भएकी थिइन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







