प्राग, चेक रिपब्लिक: महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, वामीटक्सार, गुल्मीका पूर्व विद्यार्थीहरूद्वारा पुर्व प्रधानाध्यापक श्री भीमलाल सापकोटा गुरुलाई चेक रिपब्लिकको राजधानी प्रागको लुम्बिनी रेस्टुरेन्टमा आयोजना गरिएको सम्मान समारोह तथा भेटघाट कार्यक्रममा सम्मानित गरिएको छ।
कार्यक्रमको सभापतित्व महेन्द्र आदर्श माविका पूर्व विद्यार्थी तथा चेक रिपब्लिकका व्यवसायी तथा पूर्व अध्यक्ष श्री छत्र बहादुर अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा चेक रिपब्लिकको राजधानी प्रागका पूर्व मेयर डा. पावेल बेम उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका विशिष्ट अतिथिहरु गैरआवासीय नेपाली संघ युरोप संयोजक डिबी खड्का, डा. कृष्ण सापकोटा, गैरआवासीय नेपाली संघ, चेक रिपब्लिकका निवर्तमान अध्यक्ष डा. यदुराम पन्थी, नामदेव उपाध्याय, गंगा कुमारी सापकोटा, गैर आवासीय नेपाली संघ चेक रिपब्लिकका उपाध्यक्ष संजय अधिकारी रहनुभएको थियो।
यसैगरी गैरआवासीय नेपाली संघ, चेक रिपब्लिकका अध्यक्ष तथा इनास चेक रिपब्लिकका संस्थापक बैकुण्ठ रायमाझीले उक्त कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमको शोभा बढाइदिएकोमा आभारी रहेको बताउनुभयो। उहाँले गुरुलाई सम्मान गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भइरहेको पनि बताउनुभयो। उक्त दिन लुम्बिनी रेस्टुरेन्टको प्रथम वार्षिकोत्सव परेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाली सांस्कृतिक झाँकी प्रस्तुत गर्दै नौमती बाजामा गुरु भिमलाल सापकोटा र पूर्व मेयर पावेल बेम लगायतका अतिथिहरुलाई मज्जाले नचाउँदै उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए। बेली डान्स तथा स्वादिलो नेपाली भोजनले कार्यक्रमलाई आनन्दित बनाएको थियो।
गुरु भीमलाल सापकोटाले जीवनको ऊर्जाशील समय गुल्मी जिल्लाको वामीटक्सार लगायत यस सेरोफेरो लगायत बागलुङका विद्यार्थीहरुलाई पनि शिक्षा प्रदान गर्नुभएको थियो। जीवनका महत्वपूर्ण ३२ वर्ष त्यो क्षेत्रमा शिक्षाको ज्योति छर्नुभएको थियो। उहाँले पढाउनुभएका विद्यार्थीहरु संसारका विकसित देशहरु युरोप र अमेरिकाका देशहरु, अष्ट्रेलिया, क्यानडा, जापान, बेलायत लगायत अन्य ठाउँहरूमा रहेका छन्।
उक्त कार्यक्रममा बोल्दै भिमलाल सापकोटाले यो दिन अविस्मरणीय रहेको र पूर्व विद्यार्थीहरुलाई धन्यवाद दिन चाहेको बताउनुभयो। मन्तव्यका क्रममा आफ्नो जीवनको दुखद दुर्घटनाको बारेमा पनि चर्चा गर्नुभएको थियो। उहाँ विद्यालयको कामको सिलसिलामा बुटवलमा गई फर्कदा बाटोमा गाडी दुर्घटनामा परी गम्भिर घाइते हुनुभएको थियो। उक्त दुर्घटनामा परी १३ दिनसम्म बेहोस हुनुभएको थियो। पूर्व विद्यार्थीहरूको शुभकामना र मायाले निको भएको सल्यचिकित्सक डा. उपेन्द्र देवकोटाले आफूलाई बताएको कुरा पनि मन्तव्यका क्रममा बताउनुभएको थियो।
गुरु सापकोटालाई पूर्व विद्यार्थीद्वारा चेक रिपब्लिकको मायाको चिनो सहित खादा लगाएर सम्मान गरिएको थियो भने पूर्व मेयर पावेल बे्मलाई नेपाललाई माया गर्ने भएको हुँदा नेपाली ढाका टोपी लगाएर र गोर्खालीको शान नेपाली खुकुरी मायाको चिनो दिएर सम्मान गरिएको थियो।
डा. बेमले नेपालको पहिचान सगरमाथा आरोहण गरिसक्नुभएको छ। उहाँले नेपालप्रति आफ्नो गहिरो माया र सम्बन्ध रहेको बताउनुभएको थियो। पुर्व मेयर डा. बेमको चेक रिपब्लिकको राजधानी प्रागको विकासको चाहिँ धेरै योगदान रहेको बताइन्छ।
कार्यक्रमको अन्त्यतिर एनआरएनए, चेक रिपब्लिकका संस्थापक अध्यक्ष श्री जितेन्द्र रायमाझी पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन डा. गिरीश कँडेलले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |