टोपलाल अर्याल, गुल्मी: गुल्मीको रेसुंगा नगरपालिका-८, थुम्काकी १२ बर्षीया रचना विक जलेर सख्त घाइते भएको डेढ महिना भए। रचनाले गत २९ जेठको बिहानै नास्ता खाने क्रममा अगेनोबाट एक्कासी कुर्तामा आगो सल्कियो। बिहानै बुबा दुर्गा बहादुर विक काममा निस्किएका थिए । आमा राधिका विक जंगल गएकी थिइन्।
कुर्तामा आगो दुन्किएपछि रचनाले चिच्याउँदै गुहार मागिन । त्यो समय पानीको अभावले घरमा खानेपानी समेत थिएन । धाराहरु बन्द थिए । उनले जिउमा पोख्न पानी समेत पाइनन् । केहिबेर त छिमेकीले दिदिभाईको झगडा सम्झिए । तर, रचना आगोले जलेर बिक्षिप्त थिइन् । केहिबेरमा रचनाको शरिरमा लागेको आगो फुपु र हजुर आमाले निभाए । रचनालाई लगत्तै गुल्मी अस्पताल पुराइयो । तर, अवस्था जटिल भएकाले अस्पतालले पाल्पा मिसन अस्पतालमा रेफर गर्यो।
दुर्गा बहादुरले क्रृणधन गरेर छोरीलाई पाल्पा पुराए । मिसनमै नौ दिन उपचार भयो । तर, सानो बच्चा र भोलीको भविस्यका कारण अस्पतालले काठमाण्डौको राम्रो ठाउँमा पठाउन सुझाव दियो । दुर्गा बहादुरका दम्पतीले छोरीलाई काठमाण्डौको सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगेर उपचार गरिरहेका छन् । अस्पताल बसाईको टुङ्गो छैन् । आमा राधिका विकले अस्पतालमा उपचार गराइरहेकी छन् । पाल्पाको उपचारमा ५० हजार भ्याइयो । पाल्पा र काठमाण्डौ गर्दा एम्बुलेन्समै ३५/३६ हजार सकियो।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा अप्रेशन गरेको डेढ लाख थियो । बालिका र परिवारको अवस्था देखेर रुटिन अफ गुल्मी बन्दका उज्जलबिक्रम थापाले एक लाख सहयोग गरे । अझै विक परिवारको थाप्लोमा ४० हजार बढि अप्रेशनकै खर्च छ । त्यो बाहेक खानपान, औषधीउपचार र बसाईको जोहो गर्न निकै मुस्किल परिरहेको आमा राधिका विकले गुनासो गरिन्।
दुर्गा बहादुर विकले मजदुरी गर्छन् । परिवारको खुसीको लागि ०७१ सालमा मलेसिया पनि गए । मलेसिया पुगेको ११ महिनामै कम्पनी बन्द भएकाले फर्किएर घर आए । काम र दाम भने अनुसार नपाएका विकको गाउँमा खोजेको क्रृण समेत तिर्ने उपाय भएन । सम्पतीको नाममा खग्रेटाले बारेको छाप्रो हो । गत बर्ष जनता आवासबाट घर पर्यो।
राम्रो ओतको आशमा विक परिवार खुसी भए । पहिलो किस्ता ३५ हजार पाए । थप किस्ता पाउने आशमा विकले लालपुर्जा धितो राखेर पाँच लाख क्रृण निकाले । घर छाउने अवस्थामा रहेको छ । तर, सरकारले कवुल अनुसारको किस्ता दिएको छैन् । अहिलेनै छोरी जलेर अस्पतालको बेडमा छन् । ‘क्रृण माग्न लालपुर्जा बुझाँए सरकारले किस्ता नदिदाँ घरका भित्ता र झ्यालढोकामा लेउ उम्रियो । छोरी जलेर अस्पतालमा छटपटाइरहेकी छे,’उनले भने,‘,काम गरेको किस्ता नदिने सरकार र गरिव देख्ने दैव निर्दयी रहेछन् ।’
जलेर घाइते बनेकी रचना विक परिवारकी जेठी छोरी हुन् । उनले सिद्धबाबा माविको कक्षा ६ मा पढ्छिन् । सानो भाई दिप्सन विक छन् । उनको उपचारको लागि अहिले बिद्यालय र समुदाय स्तरमा चन्दा संकलन भइरहेको छ । लामो समय उपचार हुने भएकाले परिवारसंग आर्थिक संकट देखिएको छ । काम गरेर खाने परिवारमा छोरी जलेर सख्त घाइते भएपछि अवस्था बिजोग बन्दै गएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |