Smoking Causes Cancer

बागलुङको बडिगाडका विद्यार्थीकाे स्कुल आउजाउमै बित्छ दैनिक ४ घण्टा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: बडीगाड गाउँपालिका-८, रणसिंकिटेनीको भृकुटी माविमा कक्षा ७ मा पढ्ने भीमकुमारी घर्ती २ घण्टा हिँडेर विद्यालय पुग्छिन् । कक्षा भेट्टाउन पनि बिहान ८ बजेभित्रैमा हिँडिसक्नुपर्ने बाध्यता छ । भीमकुमारीका बाबु डिलप्रसाद गलकोटको हटिया बजारमा मजदुरी गर्छन् ।

घरमा आमा र भाइबैनी मात्रै छन् । गोठमा गाईभैंसी र बाख्रा पनि भएकाले बिहानबेलुकी आमालाई सघाउनेसमेत उनको जिम्मा छ । ४ बज्दा नबज्दै उनलाई घर फर्कन हतारो हुन्छ । जाडो मौसममा उनको झोलामा टर्च लाइट र वर्षात्मा ओड्ने छुट्दैन ।

कक्षा ५ सम्म सिद्धबारी प्राविमा पढेकी उनलाई कक्षा ६ देखि दैनिक ४ देखि ५ घण्टा हिँड्ने सास्ती थपिएको हो । उनीसँगै कक्षा ९ की मीना पाइजा, कक्षा ८ का पिपला पाइजा र कक्षा ७ का अर्जुन घर्ती पनि दैनिक दुई घण्टा हिँडेर विद्यालय आइपुग्छन् । नजिकमा विद्यालय छैनन् ।

सिंचाई
Forest
Ad.

यहाँको पुरानो गाउँ, होरहोरेका विद्यार्थी पनि २ घण्टा हिँडेर जलजला पुग्छन् । आफ्नै वडाको भृकुटी माविभन्दा जलजलाको वनस्पति मावि नजिक भएकाले उनीहरू उता गएका हुन् । नजिक पर्नेलाई पनि सास्ती भने छ । दैनिक आउजाउमा ४ घण्टा बिताउने विद्यार्थी ५० भन्दा धेरै रहेको प्रधानाध्यापक टेकप्रसाद श्रीषले बताए ।

‘छरिएको गाउँ छ, आउनजान दुई/दुई घण्टा हिँड्नुपर्ने धेरै विद्यार्थी छन्,’ श्रीषले भने, ‘विद्यालयमा विद्यार्थी टिकाउनै समस्या छ, गुणस्तर कसरी बढाउने थप चुनौती झेलेका छौं ।’ २ सय ७ विद्यार्थी पढ्ने यो विद्यालयमा शिक्षक दरबन्दीसमेत अभाव छ । निजी स्रोत र राहतका शिक्षक राखेर पढाउनुपर्दा अभिभावकलाई मार परेको उनले बताए ।

निरन्तर विद्यार्थी मूल्यांकन गर्दा गुणस्तर बढाउनेभन्दा बालबालिका टिकाउने समस्या बढी खेपेको उनको भनाइ छ । ‘अधिकांश मदजुरका बालबालिका पढ्ने, घरमा पनि काम सघाउनुपर्नेहरू छन्,’ उनले भने, ‘आवासीय विद्यालय नबनेसम्म गुणस्तर बढाउन सकिँदैन ।’

पैदलमा नै समय खर्च हुने विद्यार्थीबाट गृहकार्य गरे/नगरेको वा पढाइको क्षमता विकास भए/नभएको मूल्यांकन गर्न नसकेको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले गुणस्तर बढाउन टाढाटाढा विद्यालय बनाउनुभन्दा वडामा एकएक वटामा आवासीय विद्यालय बनाउन सकियो भने न्याय हुने बताए ।

Awareness by SKF

‘विद्यार्थीले पढ्यो कि पढेन भन्नु भन्दा कुन अवस्थाबाट आएको हो ? घरको जिम्मेवारी के छ भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रका विद्यार्थी र सदरमुकामको सुखमा बसेकालाई एउटै डालोमा मूल्यांकन गर्दा अन्याय भएको छ ।’

भृकुटी माविमा पढ्न आउने कतिपय विद्यार्थीलाई खोलाको पनि डर छ । भीमखोलासहित नजिकका खोलामा पुल नहुँदा वर्षात्मा कतिपय बालबालिका पढ्न आउनै नसकेको श्रीषले बताए ।

विद्यालय भर्ना अभियानमा केही बालबालिका छुट्ने र छिट्टै विद्यालय छाड्ने दर बढ्नुमा भौगोलिक कठिनाइ मुख्य कारण भएको वडाध्यक्ष जंगबहादुर बलालले बताए ।

‘हामी ठूलालाई त वडा र विद्यालयमा जान सास्ती छ, बालबालिकाले कसरी गएर पढ्ने ?’ बलालले भने, ‘सिंगो गाउँपालिका बनाउने जत्रो वडामा एउटा मात्र मावि हुँदा दुःख भएको छ ।’ कतिपय अभिभावकले भने सदरमुकाम र गलकोटको हटियामा पनि लगेर पढाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया