Hi-Speed Computer

Awareness Campaign

नौमती सांस्कृतिक महोत्सवको पहिलो दिन: एउटै मञ्चमा झल्कियो अनेकौँ संस्कृति



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: नेपाली मौलिक बाजाको संरक्षण संगै स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सार बजारमा आयोजित तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला आजदेखि सुरु भएको छ।

नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला नौमती सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो।

Forest
Forest
Ad.

मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न स्थानीय संस्कृति तथा झाँकी सहित नौमती बाजाका साथमा बजार परिक्रममा गरि सुरु भएको महोत्सवको उद्घाटन प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले संस्कृति र कलाले सबै समुदाय वर्ग र जातजातिलाई जोड्ने भन्दै मौलिक संस्कृति र सांस्कृतिक परम्परा जोगाउन यस महोत्सवले मुख्य भूमिका खेलेको बताउनुभयो।

उहाँले लोपोन्मुख संस्कृति, परम्परा र मौलिक कलाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमले सिगों मुसिकोट प्रतिनिधित्व गर्ने गरी अझै ९ वटै वडालाई नै समेटेर अगाडी लैजान सुझाव दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्व विद्यालयका अग्रेंजी केन्द्रीय विभाग प्रमुख प्रा.डा.जिवलाल सापकोटाले विश्व संस्कृतिमा सबैभन्दा प्राचीन र उत्कृष्ट संस्कृति बनेको नेपाली संस्कृति विस्तारै लोपोन्मुख अवस्थामा रहेकाले त्यसको जगेर्नासगैं मौलिक प्राचिन संस्कृतिसगं नयाँ पुस्तालाई साक्षात्कार गराउन र पुस्तान्तरण गर्न महोत्सव नेपालकै नमुना महोत्सव सावित भएको बताउनुभयो । उहाँले यस्ता संस्कृतिहरु पाठ्यक्रममा नै समावेश गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

Awareness by SKF

महोत्सवमा मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न झाँकी तथा स्थानीय विभिन्न जातजातिका आ-आफ्नै मौलिक संस्कृति समेत प्रस्तुत गरिएको थियो । यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्ने उद्धेश्य सहित प्रस्तुत गरिएको स्थानीय विभिन्न झाँकीहरुले समग्र स्थानीय संस्कृतिलाई एउटै मञ्चमा प्रतिनिधित्व गरेको थियो ।

उक्त अवसरमा मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको सयुंक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, वामीबजारको लाखे नाच प्रस्तुत गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण मानिएको नौमती बाजा प्रतियोगीता पनि सम्पन्न भएको छ । बागलुङको गल्कोट, तमानखोला, ढोरपाटन तथा बुटबल र गुल्मीका विभिन्न ठाउँका गरी १७ वटा समुहले प्रतियोगीतामा सहभागी भाग लिएका थिए । पञ्चेबाजामा कलाकारहरुबीच दोहोरीका साथमा नृत्य समेत सञ्चालन भएको थियो।

नौमती बाजा प्रतियोगीतामा प्रथम हुँदै ताराखोला बाजा समुहले नगद रु ५५ हजार ५ सय ५५ र ट्रफी हात पारेको छ । त्यस्तै भिरखानी बाजा समुहले द्धितिय हुँदै नगद रु ४४ हजार ४ सय ४४ र बुटबल बाजा समुहले तृतीय हुँदै नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेका छन्।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गरेको हो । समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ४ वर्षपछि गरिएको छ।

वामी विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समिति अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रम संयोजक नारायण सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। महोत्सवमा विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो।

महोत्सवको दोश्रो दिन भोलि स्थानीय तथा राष्ट्रिय कलाकारहरु खेम सेन्चुरी, रामचन्द्र चन्द, अस्मिता डल्लाकोटी, तिलक बस्नेत, बालचन्द्र बराल, विष्णु श्रीपाली, सिमा थापा, मोडल ओबी रायमाझी नृत्यागांना अस्मिता रणपाल लगायतको प्रस्तुती रहनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया