Hi-Speed Computer

Awareness Campaign

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने देशकै नमुना ३ मुखे झोलुङ्गे पुल उद्घाटनको पर्खाईमा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुल उद्घाटनको प्रतीक्षामा रहेको छ। उक्त पुल तीन जिल्लाको संगमस्थल रिडीको कालीगण्डकी नदीमा निर्माण गरिएको हो।

झण्डै १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको उक्त पुल विगत केही महिनादेखि उद्घाटनको प्रतीक्षामा रहेको निर्माण व्यवसायी करनजीत बर्माले जानकारी दिए। “निर्माणको काम सुरु गरेको ८ वर्षमा हामीले तीनमुखे पुलको निर्माण सकेका छौं । अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर उद्घघाटन गर्ने दिनको प्रतीक्षामा छौं,” उनले भने । बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको उनले बताए।

तीनमुखे झोलुंगे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डीभञ्ज्याङलाई जोडेको छ । पुलको काम सकिएपछि उक्त स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्याङ्जाका स्थानीय अमरप्रसाद कोइरालाले बताए । पुल उद्घाटनपछि अझै पर्यटकको घुइँचो लाग्ने भन्दै स्थानीय कोइरालाले आफूहरु उद्घाटनको प्रतिक्षामा रहेको बताए।

Forest
Forest
Ad.

गुल्मीका स्थानीय बलबहादुर दरौजाले पनि तीनमुखे पुलका कारण आवतजावतमा सहज र पर्यटकको घुइँचो लागिरहेको बताए । उक्त नमुना पुलले गुल्मेलीलाई धेरै राहत मिल्ने भन्दै स्थानीय दरौजाले उद्घाटन गरेर व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। पाल्पाका स्थानीय सोनी गैरेले पुलका कारण तीन जिल्लाको पनि सम्बन्ध नजिकिएको बताइन् । सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल भएको भन्दै पाल्पाका स्थानीय गैरेले नमुना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न सकिने बताइन्।

तीन जिल्लामा जानको लागि कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावर, बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुंगे पुलको निर्माण भएको छ । पुलमा अन्तिम चरणमा जाली, सोलार र भर्याङको काम सकिएको निर्माण व्यवसायी करनजीत बर्माले जानकारी दिए।

नेपालका ४ धाममध्ये एक रुरुधाममा नमुना झोलुंगे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय उत्साहित बनेका छन् । पुलको शिलान्यास २०७१ मंसिर १५ गते संविधानसभा सदस्य डा.चन्द्र भण्डारी र तत्कालित मुख्य सचिव लिलामणि पौडेलले गरेका थिए । एसियाकै पहिलो तीनमुखे झोलुंगे पुल दाबी गरिएको उक्त पुल २०७१ मंसिरदेखि बन्न सुरु भएर केही महिनाअघि मात्र निर्माण सकिएको निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले जनाएको छ। तीन जिल्ला जोड्ने पुल कुल ९ करोड ८८ लागतमा निर्माण सकिएको हो।

Awareness by SKF

तीन जिल्लाका तीन स्थानीय तह गुल्मीको रुरुक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गरिने रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया