कृष्ण अन्जान, गुल्मी: गुल्मीकाे पुर्विभेगमा याढुंगकाे आलु लाेकप्रिय छ। यतिबेला याढुँगका फाँटहरुमा धान काट्ने थन्काउने काम शुरु भएकाे छ र कार्तिककाे अन्तिम तिर खेत र बारीमा डमक्कै आलु लगाउने तयारी याढुङ्गवासीले गरेका छन।
साविक ग्वादि गाउँ विकास समितिकाे वडा ५ र पछिल्लो पटक रुरुक्षेत्रकाे वडा नम्बर २ ग्वादीकाे कालिगण्डकीकाे तटिय क्षेत्रमा रहेकाे याढुँग गाउँ सताव्दियाैँ देखि आलु खेतीका लागि प्रसिद्ध छ।
पहिले स्थानीय जातकाे सेताे आलु लगाउने र अन्नसंग आलु साट्ने गरेकाे याढुँगका पुराना आलु कृषक डिल बहादुर कुँवर बताउँछन्। थाेर्गा, भट्कुवा, ग्वादि सँगै स्याङ्जाकाे कारिकाेट, किपट पाल्पाकाे कुसेनि लगायतका क्षेत्रबाट यहाँ अन्न बाेकेर आलुसँग साट्न आउने गरेकाे सम्झना गर्छन किसान डिल बहादुर।
समयकाे माग सँगै यसक्षेत्रका किसानहरु परम्परागत कृषि प्रणालीबाट व्यावसायिक आलु खेती तर्फ माेडिए। खेतबारीमा रैथाने आलुकाे बीउ प्रयाेग गर्दै आएका याढुँगका किसानहरुले उन्नत जातका आलुका बिउहरु लागाउन थालेपछि आलु उत्पादन बढेकाे याढुँगका युवा किसान रामु कुँवरले बताए।
यतिबेला याढुँग गाउँका किसानकाे बारी साेँठे र लाेर्के राताे जातकाे आलुले छपक्कै ढाकेकाे छ। करिब ८० घरधुरी रहेकाे याे गाउँमा सबैले आलुकाे खेति गर्छन र वार्षिक ७० देखि ८० लाख सम्मकाे आलु बिक्रि हुने गरेकाे किसान रामु कुँवरले जानकारी दिए। त्यसाे त गतवर्ष स्थानिय तहले किसानलाई आलु खेतिकाे प्राविधिक तालिम सहित टिपिएस जातकाे आलुकाे बीउ वितरण गरेपनि उक्त बीउ काे उत्पादन याढुँग गाउँमा न्यून भएकाे र सफल नभएकाे किसानहरुकाे भनाइ छ।
लाेर्के राताे र साेँठे जातकाे आलु एक राेपनीमा १५ देखि २० क्विन्टल फल्ने गरेकाे तर सरकारले व्यवस्थापन गरेकाे टिपिएस जातकाे आलु राेपनीमा मात्र १ देखि २ क्विन्टल फलेपछि आलुकाे बीउ परिवर्तन गर्नु परेकाे कृषक हुम बहादुर कुवँर भन्छन। मुख्यतया बीउ र मल यसक्षेत्रका आलु किसानकालागि उपलब्धताकाे समस्या रहेकाे र लकडाउनकाे समयमा मल ४ हजार रुपैया क्विन्टलसम्म किन्न किसान बाध्य भएकाे याढुँगका आलु किसानले बताए।
कालिगण्डकी करिडाेरकाे रिडी रुद्रवेणी सडक खण्डकाे नजिकै पर्ने याडुँग क्षेत्र आलु उत्पादनकाे पकेट क्षेत्रकाे रुपमा विकास हुँदैछ भने स्थानिय स्वाद पस्कने गरि याढुग बासिहरुले हाेमस्टे सन्चालनकाे तयारी समेत शुरु गरेका छन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |