हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरकी सुनिता थापा शुक्रबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आइन्।
नागरिकता बनाउन आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र, वडाको सिफारिस लगायत आवश्यक सबै कागजपत्र र टिकट समेत टाँसेकी थिइन्। नागरिकताको आशमा प्रशासन कार्यालयका धेरै कोठा चहारिन् पनि। प्रशासनका कर्मचारी, कार्यालय सहयोगी, पत्रकार र नागरिक समाज लगायत धेरैसँग नागरिकताको लागि अनुरोध पनि गरिन्।
तर बिडम्बना उनले नयाँ नागरिकता पाउन भने सकिनन्। थापा बुटबलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा कक्षा १२ मा पढ्छिन्। दसैंमा घर आएको समयमा नागरिकता बनाउन सदरमुकाम आएकी उनी बिना नागरिकता बुटबल फर्किइन्। ‘दसैंमा घर आएको बेला नागरिकता बनाउन आएको तै पनि रित्तो हात फर्कनुपर्यो।’ उनले भनिन्, ‘अत्यधिक भिडका कारण कार्यालयले वितरण गरेको टोकन पनि प्राप्त गर्न सकिनँ।’
मालिका गाउँपालिका-५, छापहिलेका यम बहादुर परियारलाई पनि नागरिकता प्राप्त गर्न दुई दिन लाग्यो। आफ्नो नयाँ नागरिकता बनाउन बिहीबार नै तम्घास आएका उनले सोही दिन नागरिकता पाएनन्।
बिहीबार अत्यधिक भिड भयो, कर्मचारीहरुले भोलि आउनुस् भने।’ उनले भने, ‘आज टोकन लिएर नागरिकताको लागि प्रक्रियामा गएको छ, अब एकछिनमा बन्छ होला।’ शुक्रबार दिउँसो करिब १ बजे उनको नागरिकता बन्यो। नागरिकताकै लागि तम्घासमा बस्दा तीन हजार बढी खर्च भएको उनले बताए।
‘आएपछि नागरिकता बनाउनै पर्यो।’ उनले भने, ‘हिजो अत्यधिक भिड भएकोले मेरो नागरिकता बन्न सकेन।’ बिहीबार आफुजस्ता धेरैजना नागरिकता बनाउनबाट वञ्चित भएको उनले सुनाए।
सुनिता र यम बहादुर नागरिकता नबनेको वा ढिला बनेको प्रतिनिधिमुलक पात्र मात्र हुन्। दसैंको समयमा घर आएकाहरु नयाँ नागरिकता बनाउन आउनु र प्रशासनमा कर्मचारीको अभाव हुनुले नागरिकता बनाउन सेवाग्राहीले सास्ती खेप्नुपरेको हो।
प्रशासनमा दसैं र तिहारको समयमा सेवाग्राहीको प्राय भिड हुने गर्दछ। जिल्लामा दसैँअगाडीबाट नै धेरैथोरै भिड भएपनि बिहीबारबाट सेवाग्राहीको अत्याधिक भिड देखिएको हो। बिहीबार गुल्मी प्रशासनबाट १०१ जनाले नयाँ नागरिकता लिएका छन्।
४३ जनालाई नागरिकताको प्रतिलिपि, ४५ जनालाई पासपोर्ट र ६ जनालाई नाबालकका परिचय पत्र प्रदान गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए। त्यस्तै ७४ जनाको नयाँ पावपोर्ट लागि दर्ता गरिएको छ भने आएका ५० जति सेवाग्राहीलाई सेवा दिन नसकेको पन्थीले बताए।
शुक्रबार पनि कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड थियो। शुक्रबार ५२ जनलाई नयाँ नागरिकता, ४३ जनालाई नागरिकताको प्रतिलिपी, ३८ जनालाई पावपोर्ट वितरण गरिएको छ भने ५५ जनाको नयाँ पासपोर्टका लागि फारम दर्ता गरिएको छ।
अन्य समयमा एक दिनमा सरदर ५२ नयाँ नागरिकता, ३४ नागरिकताको प्रतिलिपी र ३८ पासपोर्ट वितरण हुने गरेको प्रशासन कार्यालयले जनाएको छ।
सूचना अधिकारी पन्थीका अनुसार कार्यालयमा दुईजना प्रशासकीय अधिकृत हुने व्यवस्था भएपनि एकजना मात्रै हुँदा समस्या भएको छ।
‘हस्ताक्षर गर्ने दुईजना प्रशासकीय अधिकृत हुँदा सजिलो हुन्थ्यो, भिडभाडमा पनि एकजना मात्रै हुँदा समस्या परेको हो।’ उनले भने। यसभन्दा पहिले सेवाग्राहीको भिड हुँदा कारागार कार्यालयबाट कर्मचारी ल्याइ काम गरेपनि अहिले कारागारमा पनि कर्मचारी छैनन्।
जसले गर्दा सेवाप्रवाहमा समस्या परेको छ। प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सेवामा प्रशासनका जनशक्तिको अधिकतम प्रयोग गरेको प्रतिक्रिया दिए। थप कर्मचारीको लागि केन्द्रमा आह्वान गरेकोले सोमबारबाट सेवा प्रवाह सहज हुने उनले विश्वास व्यक्त गरे। आइतबारबाट भने कार्यालय समयभन्दा अबेरसम्म बसेर भएपनि सेवा दिने सोचमा रहेको उनले बताए।